सुन तस्करी छानविनमा ‘माछोमाछो भ्यागुतो’

राजनीति समाचार

काठमाडौं । विगत लामो समयदेखि सरकार फेरिएसँगै माफियाहरु पनि फेरिने क्रम जारी नै छ । बिचौलियाहरुले सरकारलाई बद्नाम गराउने काम माफियाहरुले नै गर्दै आएका छन् । हुन त राजनीतिक दलका नेताहरुले पार्टी चलाउनुपर्ने, कार्यकर्ता पाल्नुपर्ने र आफ्नो आय आर्जन पनि बढानुपर्ने भएकाले माफियाहरुसँग संगत गर्ने गरेका थुप्रै उदाहरणहरु देख्न पाइन्छ । अहिले सबैभन्दा चर्चाको विषय बनेको छ एक क्वीन्टल सुनको । विगत लामो समयदेखि एयरपोर्ट भन्सारबाट सुन तस्करी नभएका होइनन् ।

सुन तस्करी भइरहँदा राज्यका जिम्मेवार व्यक्तिले थाहा पाए पनि थाहा नभएजस्तो गर्दै आएका थिए । सुन तस्करीमा उच्च घरानाका व्यापारी, भन्सार एन्ट, भन्सारका मुख्य कर्मचारी, राजश्व अनुसन्धानका केही जिम्मेवार व्यक्ति, अध्यागमनका केही कर्मचारी, नेपाल प्रहरीका उच्च अधिकृतहरु, गुप्तचर विभागका कर्मचारी र केही विदेशी एजेन्टहरुको मिलेमतोमा एयरपोर्ट भन्सारदेखि विभिन्न माध्यमहरु संलग्न रहेको स्रोतको भनाइ छ ।

तर, यसरी सुन तस्करी गर्दा एकातिर भागबन्डा नमिलेपछि यस्ता घटनाहरु बाहिर आउने र अर्कोतिर विभिन्न नाकाबाट व्यापारीहरुले भन्सार छली ल्याएको सामानको सुराकी दिएबापत भागबन्डामा आउने कमिसनभन्दा बढी कमिसन आउने भएपछि तस्करीमा संलग्न व्यक्तिहरुबाटै कुनै व्यक्तिको नाम दिएर सुराकी गर्न लागउने गरिन्छ । त्यसकारण पनि सुनलगायत विभिन्न बहुमल्य सामान तस्करी गरिएको सूचना पाएपछि राजश्व अनुसन्धान र सीआईबीले पक्राउ गर्ने गरेको पाइन्छ ।

करिव १०, १२ वर्षको अवधिमा झन्डै ४२ क्वीन्टलभन्दा बढी सुन एयरपोर्टबाट बरामत हुँदा पनि अहिलेसम्म त्यसका मुख्य व्यक्ति पक्राउ गर्न सकेको अवस्था छैन । यसरी सुन ओसारपसारमा पक्रउ पर्ने भनेको अहिलेसम्म ट्याक्सी ड्राइभर, भरिया, केही कार्गो व्यवसायी र भन्सारका तल्लो तहका कर्मचारीहरु रहेका छन् । सुन तस्करीको घटना बाहिर आएपछि सरकारले बारम्बार छानविन समिति गठन गर्छ तर त्यसले वास्तविक दोषी अहिलेसम्म पत्तालगाउन सकेको छैन ।

छानविन समिति गठन गरेर अहिलेसम्म खाली झारा टार्ने र सर्वसाधारणको आँखामा छारो हाल्ने काम बाहेक अन्य गरेको पाइँदैन । तत्कालीन अवस्था वामदेव गौतम गृहमन्त्री भएको बेलादेखि सुरु भएको सुन तस्करी नेपाली कांग्रेसको सरकार, नेकपाहुँदै अहिलेको गठबन्धन सरकारको पालासम्म आइपुग्दा रोकिनुको सट्टा उल्टै मौलाउँदै गएको छ । किन भने गत साउन ३ गते बरामद गरिएको सुन अहिलेसम्मकै बसैभन्दा धेरै छ । तत्कालीन सरकारको पालामा ३३ किसो सुन पक्राउ गर्दा ‘गोरे’ नाम गरेका व्यक्तिलाई दोषी ठह¥याइएको थियो भने त्यसमा संलग्न भनेर केही व्यक्तिको हत्यासमेत भएको समाचार आएका थिए ।

अहिले एक क्वीन्टलभन्दा बढी सुन बरामद गरिएपछि भन्सारका केही कर्मचारी निलम्वित भएका छन् भने अन्यमा ट्याक्सी चालक, कार्गो व्यवसायी, एक चिनियाँ र एक भारतीय नागरिक पक्राउ परेका छन् । उता विगत लामो समयदेखि सुन तस्करीलगायत भन्सार छलीमा नाम मुछिँदै आएका व्यापारी दीपक मलहोत्राको नाम यस घटनामा जोडिएको समाचार सञ्चारमाध्यममा आएपछि उनले हतारहतार पत्रकार सम्मेलन गरेर आफ्नो संलग्नता नभएको खुलासा गरेका छन् ।

सो पत्रकार सम्मेलनमा उनले ‘मेरो नाम भँजाएर खास सुन तस्करीमा संलग्न व्यक्ति उम्काउन खोजिएको’ भन्दै आपत्ति जनाएका थिए । तर, सुन तस्करीको घटनाको सत्यतथ्य बाहिर ल्याउन छानविन समिति गठन गरिएको छ । त्यसले सार्थकता पाउँछ कि पाउँदैन त्यो भने प्रतिक्षाकै विषय बनेको छ । अहिलेसम्म यस्ता सुन तस्करीका घटनामा सत्यतथ्य पत्ता लगाउन बनेका छानविन समितिको प्रतिवेदन भने सधैं ‘माछोमाछो भ्यागुतो’ भन्ने भनाइ चरितार्थ हुन पुगेको छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *