गृहमन्त्री श्रेष्ठको कदमले शीर्ष नेताहरु तरङ्गित

राजनीति समाचार

सुन छानविनमा गृहसचिव र उच्च प्रहरी मुकदर्शक
काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री बनेपछि गृहमन्त्रालय भित्र सुधारको थालनी भएको यो पहिलो उदाहरणको रुपमा लिन सकिन्छ । किन भने श्रेष्ठ गृहमन्त्री बनेपछि उनले पहिलो काम सुराकी खर्च कटौती गरेर देखाएका थिए । त्यसपछि नक्कली भुटानी शरणार्थी काण्डको पर्दाफास गरे । त्योसँगै सामसुम जस्तै भएको बालुवाटार जग्गा काण्ड पनि पर्दाफास गरे ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा पनि सुरुवा, बढुवाको लागि कुनै पनि शक्तिकेन्द्र, नेता र मन्त्रीको चाकडी गर्ने प्रहरीलाई सो नगर्न आग्रह पनि गरे । तर, मन्त्री श्रेष्ठका यी कामबाट अत्तालिएर सत्ता गठबन्धन दलभित्रैबाट असन्तुष्टि पैदा हुन थालेको छ । उता गृहसचिव दिनेश भट्टराईले गृहमन्त्रीलाई गर्नुपर्ने सहयोग पनि गर्न सकेका छैनन् । अहिले गृहमन्त्री र गृहसचिवबीच विवाद सुरु भएको छ । गृहसचिव भट्टराई भने यतिबेला गृहमन्त्रीलाई खुलेर सहयोग गर्ने पक्षमा देखिँदैनन् ।

त्यस कारणले पनि गृहमन्त्रीले भनेजस्तो काम गर्न सकेका छैनन् । प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र सत्तागठबन्धन साझेदार दल नेपाली कांग्रेसका सपभापति शेरबहादुर देउवाले गृहमन्त्री श्रेष्ठलाई हटाउने खेल भित्रभित्रै लेखिरहेका छन् । त्यस्तै पछिल्लो समय राजश्व अनुसन्धान विभागले झन्डै एक क्वीन्टलभन्दा माथि सुन एयरपोर्ट छेउबाट बरामद गर्दा पनि गृहसचिवले सहयोग गरेका छैनन् । त्यसैगरी नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीहरुले पनि गृहमन्त्रीलाई भित्री रुपमा सहयोग गरेका छैनन् । त्यसकारणले अहिले गृहमन्त्रीले नयाँ गृहसचिवको खोजी गरिराखेका छन् ।

तर, गृहमन्त्रीले नयाँ सचिवको खोजी गरिरहँदा बाटुवाटार जग्गा काण्ड र नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका व्यक्तिहरुलाई पक्राउ गर्ने डरले पनि कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली गृहमन्त्री श्रेष्ठलाई हटाउने खेलमा लागिपरेको देखिन्छ । योभन्दा अगाडि पनि गृहमन्त्रीलाई हटाउने विषयमा भित्री चलखेल भइरहेको थियो । प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएपछि सो चलखेल सामसुम जस्तै भएको थियो । अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रसंघीय खाद्य प्रणालीसम्बन्धी सम्मेलनमा भाग लिन इटालीको रोममा पुगेका छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’ स्वदेश फर्किएपछि गृहमन्त्री श्रेष्ठलाई हेरफेर गर्ने विषयमा छलफल हुन्छ कि उनैलाई यथावत राखिन्छ त्यो भने एकिन भइसकेको छैन । गृहमन्त्रीमा नारायणकाजी नै रहिरहे भने शेरबहादुर पत्नी डा. आरजु राणा देउवा र बालकृष्ण खाँड पत्नी मञ्जु खाँड मुछिने डर कांग्रेस सभापति देउवालाई छ भने उता एमाले अध्यक्ष केपी ओलीलाई ओम्नी र यती काण्डको फाइल खुल्ने हो कि भन्ने डर छ ।

त्यसकारणले पनि गृहमन्त्री श्रेष्ठलाई हाइसन्चो भने छैन । एकातिर सत्तागठबन्धनबाटै असहयोग अर्कोतिर गृहसचिवबाट पनि असहयोग भएपछि गृहमन्त्री श्रेष्ठ अप्ठ्यारोमा पर्ने भएका छन् । तर, सत्तागठबन्धनमध्येका मन्त्रीहरुमा अहिलेसम्म काम गरेपनि नगरेपनि चर्चामा आएका पर्यटन मन्त्री सुदन किराँती, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी रहेका छन् ।

अन्य मन्त्रीहरु भने गुमनाम जस्तै बनेर सेवासुविधा खाइरहेका छन् । गृहमन्त्री श्रेष्ठले राजश्व अनुसन्धान विभागले बरामद गरेको सुन जसरी पनि छानविन गरेर छाड्ने । त्यसमा कुनै राजनीतिक दलका नेताहरु मुछिएपनि कारबाहीको दायरामा ल्याएर छाड्ने बताइरहँदा आफ्नो पद भने धराममा पार्दै गइराखेका छन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *