सुन तस्करीमा भरियालाई तर्साउँदै, मालिक उम्काउँदै

राजनीति समाचार

काठमाडौं । यही साउन २ गते भन्सार छली ल्याइएको झन्डै सय क्वीन्टलभन्दा माथि सुन राजस्व अनुसन्धान विभागले बरामद गरेपछि अधिकांश सञ्चारमाध्यमहरु त्यसकै समाचारले भरिने गरेका छन् । सुन बरामद हुनुभन्दा अगाडि एयरपोर्ट नजिक बम राखिएको भनेर आतंक फैलाइएको थियो । यिनै सुन तस्करहरुले एयरपोर्टका सुरक्षा निकायको ध्यान अन्यत्र मोड्न त्यो गरिएको हुनुपर्छ भन्ने चर्चा छ । एयरपोर्टमा बम राखिएको हल्ला भएपछि डिस्पोजेल टोली पुग्दा त्यो बम नभएर अन्य कुनै वस्तु रहेको फोला परेको थियो । त्यसदिन प्रधानमन्त्री र गृहमन्त्री पनि उपत्यका बाहिर गएका थिए ।

त्यही मौका छोपेर तस्करी गर्नेहरुले सुन एयरपोर्ट भन्सारबाट बाहिर ल्याउन लागेको थियो । त्यस क्रममा सुन तस्करीमा संलग्न व्यक्तिहरुबीच भागबन्डा नमिलेकै कारण राजश्व अनुसन्धान विभागलाई सुराकी गरिएको थियो । राजश्व अनुसन्धानले सुराकी पाउनासाथ सुन तस्करहरु त्यहाँबाट बेपत्ता भएका थिए । यो परम्परा विगतदेखि चल्दै आएको थियो । सुन तस्करहरु भरियाको रुपमा एयरपोर्ट आसपासमा बस्ने र अन्य व्यक्तिहरुलाई प्रयोग गर्ने गर्दछन् ।

सुन बाहिर ल्याइसकेपछि भरियाहरुलाई त्यहींबाट विदाइ गर्ने गरिन्छ । यदि सामान बरामद भइहाल्यो भने तस्करहरु त्यहींबाट फरार हुन्छन् । अहिले सरकार एक क्वीन्टल सुनमा केन्द्रित भइरहेको अवस्थामा सुन तस्करहरुले भने त्यसको मौका छोपेर अरु सुन नल्याउलान् भन्न सकिँदैन । विगत लामो समयदेखि पटक–पटक सुन तस्करी भइरहँदा जुनसुकै पार्टीको सरकार बनेपनि वास्तविक सुन मालिकलाई पक्राउ गर्न सकेको छैन ।

एयरपोर्टबाट सयौं पटक सुन तस्करीका घटना बाहिर आउँदा पनि अहिलेसम्म सरकारले सुन मालिकलाई पक्राउ गर्न सकेको छैन । किन कि त्यसमा एयरपोर्ट भन्सारका कर्मचारी, अध्यागमनका कर्मचारी, उच्च पदस्थ प्रहरी, भन्सारका अधिकृत, भन्सार एजेन्ट र सामान जाँचपास गर्ने एक्रे मेसिन चलाउने कर्मचारीको मिलेमतो रहने गरेको देखिन्छ ।

यिनै व्यक्तिहरुको मिलेमतोमा अहिलेसम्म हजारौं क्वीन्टल सुन तस्करी हुँदा पनि वास्तविक सुन धनीलाई पक्राउ गर्न सकेको छैन । यसरी पटक–पटक सुन तस्करीको समाचार आइरहँदा एक पटक पनि वास्तविक व्यक्ति पक्राउ नपर्नु भनेको ती तस्करहरुलाई राजनीतिक दलको संरक्षण हुनु हो । अहिले सय क्वीन्टल सुन प्रकरणमा सरकार पक्ष र प्रतिपक्षी दलबीच एकले अर्कालाई हिलो छ्यापाछ्याप गरिरहेका छन् ।

प्रतिपक्षी दलले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा समेत माग्न थालेका छन् । तर, सय क्वीन्टल सुन तस्करीमा भन्सार विभागकै कर्मचारीहरुको मिलेमतो रहेको आशंका गर्न थालिएको छ । अहिलेसम्म एयरपोर्ट भन्सार कार्यालयमा जागिर खाने कर्मचारीको सम्पत्ति छानविन गर्ने हो भने यथार्थ कुरा बाहिर आउन सक्छ कि ! (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *