नेपाली सेनाबाट विश्वले पाठ सिक्नुपर्छ

अन्तरवार्ता

शिवराज थापा, पूर्व मेजर, नेपाली सेना
नेपाली सेनाको संख्या घटाउने वा नघटाउने बहस चर्किएको छ । केही नेताले नेपाली सेनाको संख्या ठुलो भएको भन्दै मुलुकको अर्थतन्त्रले धान्नै नसकिने भएकाले घटाउनुपर्ने तर्क अघि सारेका छन् । तर, केही नेताले नेपाली सेनाको संख्या घटाउन हुन्न भन्ने पक्षमा उभिएका छन् । सांसदद्वय डा. स्वर्णिम वाग्ले र विमला राई पौड्यालले ‘सेनाको आकार घटाउनुपर्छ’ भनेर दिएको अभिव्यक्ति यतिबेला विवादमा तानिएको छ । विसं २०१७ सालमा नेपाली सेनाको सिपाहीबाट सेवामा प्रवेश गरेर २०५२ सालमा अवकास लिएका ८४ बर्षिय पूर्व मेजर शिवराज थापाले आक्रोश पोखे । उनै पूर्वमेजर थापासँग तामाकोशी साप्ताहिकको प्रतिनिधिले गरेको कुराकानीको अंशः
० २०६३ सालदेखि नै सेनाको संख्या कटौतीको कुरा उठिरहेको हो अहिले जोडतोडका साथ सेनाको संख्या कटौतीको कुरा जोडतोडका साथ उठिरहेको छ । कसरी हेरिरहनुभएको छ ?
नेपाली सेनाको संख्या कुनै पनि हालतमा घटाउन हुदैँन् । राष्ट्र र जनतालाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको नेपाली सेनाको संख्यालाई घटाउने कुरा सेनाको अपमान हो । नेपाली सेनाको संख्या कायम राख्दै औद्योगिक क्षेत्र र कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि १ लाख सेना थप गर्नुपर्छ । त्यसो गरियो भने नेपाली सेनाले आगामी ५ वर्षभित्र नेपाललाई आत्मनिर्भर मात्रै बनाउने छ । गौरवगाथाले भरिएको, देश र जनताको रक्षक नेपाली सेनाको संख्या घटाएर त्यसको बजेट देशको विकासमा लगाउने कुरा । बरु प्रतिनिधिसभाका सांसदको संख्या घटाउन र प्रदेश सभा हटाउनु उपयुक्त होला । हालको प्रतिनिधिसभाले राष्ट्रको कार्यकारी चुन्ने प्रणाली रहँदासम्म मुलुकको विकास पनि हुनै सक्दैन् । नेपाली सेनालाई यसरी अपमान गर्न हुँदैन । नेपाली सेनाले धेरैधेरै अप्ठयारोमा नेपाल राष्ट्रको रक्षा गरेको छ । नेपाली जनताको रक्षा गरेको छ । नेपाली सेनाको संख्या राष्ट्रको सुरक्षासँग मात्र होइन अन्तर्राष्ट्रिय शान्ति मिसनसँग पनि जोडिएको विषय हो । नेपाली राजनीति अस्थिरताको शिकार भएको, सामाजिक अराजकताका कारणले राज्य कमजोर बनेको अवस्थामा नेपाली सेनाको भूमिका र संख्या कटौतिका बारेमा बहस हुनु दुःखद पक्ष हो।


० आजको आवश्यकता सेनाको रूपान्तरण हो कि संख्या कटौती ?
सेनाको बारेमा बोल्नुपर्छ । तर, सस्तो लोकप्रियताको लागि होइन, सही कुरा बोल्दा हुन्छ । सेनाको संख्या कटौतीका कुरा बेतुकको हो । समय समयमा कसको ईशारामा हो, बाहिरी व्यक्तिहरुबाट नेपाली सेनाको संख्या यति हुनुपर्छ, उति हुनुपर्छ र यस्तो साइजको हुनुपर्छ, राइट साइजिङ हुनुपर्छ र अन्य किसिमको भन्ने नचाहिँदो किसिमका कुराहरु पनि हुने गर्छ । र, त्यसलाई प्रकाशित पनि गर्ने गरेको पाइएको छ । शान्ति स्थापनामा नेपाली सेना दोस्रो स्थानमा छ। मुलुकको आवश्यकता, तत्कालीन परिस्थिति, मुलुक र अन्तर्राष्ट्रिय परिवेशका आधारमा नेपाली सेनाको संख्या निर्धारण भएको हो । भविष्यमा पनि सोही सिद्धान्तका आधारमा संख्या निर्धारण हुनेछ । कुनै पनि देशको सेनाको संख्या उक्त देशको भौगोलिक अवस्था, राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय परिवेश र समय–समयमा मुलुकको आवश्यकताअनुसार निर्धारण हुने गर्छ । सेनालाई राज्यले क्रमिक रूपमा कमजोर बनाउने काम गरिरहेको छ । नेपाली सेना आफ्नो अनुशासनसहित देश र नेपाली जनताको रक्षामा तल्लीन रहेको छ । सेनाको संख्या घटाउने कुरामा स्वार्थ लुकेको छ । नेपालमा द्वन्द्व व्यवस्थापनमा आएका विज्ञले सेनाको संख्या पाँच लाख हुनुपर्ने बताएको छ । देश र जनता विपत्तिमा पर्दा पहिलो उद्धारकर्ता सेना हो । देशमा भूकम्प, बाढी, पहिरो र सुरक्षामा जोखिम आएको बेला सेना नै अगाडि बढेको छ । केही मान्छेहरूले फिरङ्गीको हण्डी खाएर नेपाली सेनाविरूद्ध बोलिरहेका छ । नेता, सांसद, न्यायाधीश सबैले फिरङ्गीको हण्डी खाने गरेको छन् ।
० खर्च घटाउने उपाय सेनाको संख्या कटौती मात्रै हो कि अरु पनि छन् ?
सरकारले चाहने हो भने फजुल खर्च रोक्ने र चुस्त प्रशासन बनाउन सक्छ । यसका लागि सेनाको संख्या नै घटाउनु पर्छ भन्ने छैन । बरु खर्च घटाउनको लागि संघमा १६ वटा मन्त्रालय बनाउन, मन्त्रालय, विभाग र महाशाखमा कर्मचारी कटौती गर्न, संघमा रहेका अनावश्यक संरचना कटाउन, बोझिला संरचना खारेज गर्न सकिन्छ । जस्तो कि संघ अन्तर्गतका विभागहरुलाई ३५ वटामा झार्न, एक भन्दा बढी सचिव नराख्न, संघमा बढीमा ३५ हजार, प्रदेशमा २० हजार र स्थानीय तहमा ४० हजार मात्रै कर्मचारी राख्न सकिन्छ । संघ, प्रदेश र स्थानीय तहगरी तीन तहका सरकार छन् । संघमा ३३४ र सात वटा प्रदेशमा ५५० जना सांसद रहेका छन् । यसकारण नेपालमा संघीयता खर्चिलो र बोझिलो भएकाले संरचना नै बदल्नुपर्नेे छ । यति सानो मुलुकमा यत्रो सांसद किन चाहियो? समानुपातिकलाई राष्ट्रियसभामा गाभे भइहाल्यो नि किन चाहियो समानुपातिक सांसद? त्यसकारण रोग एकातिर छ उपचार अर्कोतर्फ गरेर हुन्छ ? रोग नेपाली सेनामा होइन, सिस्टममा छ । संवैधानिक मूल्य मान्यताका आधारमा सेना परिचालन रहेकाले सेनालाई घटाउनेतर्फ जान हुदैन् । शासकीय संरचनाको विषयमा विहंगम अध्ययन गरेर निष्कर्षमा पुग्नुपर्छ । राष्ट्रियसभाका ५९ सांसद, उप (उपराष्ट्रपति, उपसभामुख, उपाध्यक्ष) को कामै छैन । त्यस्तै प्रदेश जिल्ला समन्वयन समितिको के काम? नयाँ नेपालको नाममा तीन तहको सरकारले विकृति बढाएको छ । त्यसकारण समस्या एकातिर छ । जनताको ध्यान तान्न केटाकेटीजस्तो अभिव्यक्ति दिएको छ । देशमा राजनीतिक हिसाबले अझै पनि अस्थीरता छ । त्यसले सुरक्षा चुनौती पनि बढाउनेछ । नेपाली सेनाको दरबन्दी ९६ हजार चार सय ७७ भए पनि हाल ८१ हजार दुई सय ७७ संख्या कायम छ । तीमध्ये ७४ हजार पाँच सय पाँच पुरूष र छ हजार सात सय ७२ महिला रहेका छन् । हाल कायम रहेको नेपाली सेनालाई दुईवटा प्रमुख काममा जिम्मेवारी दिइएको छ । ४० हजार दुई सय सात जनालाई शान्ति सेना, विभिन्न तालिम प्रदान, विपद् व्यवस्थापन तथा र विकास निर्माणका क्षेत्रमा खटाइएको छ भने बाँकी ४१ हजार ७० जनालाई सञ्चालन र ड्युटीलगायतमा खटाइएको छ ।


० सेनाको छवि विगार्ने मनसायले अभिव्यक्ति आएको पनि भन्छन्,पूर्व रथिहरु,तपाईको बुझाई के हो ?
सहि कुरा हो । उनीहरूले अमेरिका र भारतको इसारामा त्यस्तो बोलेको हुन् । ती सांसदले आफ्नो आफंै नभई अमेरिका र भारतको इसारा नेपाली सेनाको संख्या घटाउनुपर्ने कुरा उठाएका छन् । सुनियोजित तरिकाले योजनाबद्ध तरिकाले सेनाको संख्या घटाएर नेपालको एक मात्र संगठित संस्था नेपाली सेनालाई कमजोर बनाउने उद्देश्यले यस्तो कुरा आइरहेको छ । नेपाली नेताका कारण नेपाललाई कमजोर बनाएर यसलाई कब्जा गरेर तिब्बत हुँदै चीनलाई घेर्ने रणनीतिअनुसार नेताले विदेशीको दलाल बनेर सेनाको संख्या घटाउने कुरा उठाएका हुन् । शान्ति मिसनमा प्रभावकारी प्रदर्शन गर्दै आएको नेपाली सेनालाई ध्वस्त नबनाएसम्म नेपाललाई कब्जा गर्न नसकिने विश्लेषणका आधारमा उनीहरूले नेपाली सेनाको संख्या घटाउनुपर्ने तर्क गरिरहेका छन् । नेपाललाई युक्रेन बनाएर कमजोर बनाई युक्रेनभन्दा नि खतरनाक अवस्थामा पु¥याउने काम भइरहेको छ ।
० विश्वशान्तिका लागि नेपाली सेनाको भूमिका कस्तो छ ?
नेपाली सेनाले द्वन्दरत मुलुकमा शान्ति स्थापनाका लागि खेलेको भूमिकाको विश्वभरमै प्रशंसा र उच्च मूल्यांकन हुने गरेको छ । सन् १९९५ मा पहिलो पटक संयुक्त राष्ट्र संघ (युएन) को पहलमा नेपाली सेनाबाट लेवनानमा पाँच जना सैनिक पर्यवेक्षकहरु संलग्न भएका थिए । त्यसयता लेवनान, इराक, कंगो, लाइबेरिया, हाइटी, साउथ सुडान, सुडान, आइभोरी कोष्ट, इजरायल, मालीलगायतका मुलुकमा नेपाली सेनाका अधिकारीहरु शान्ति स्थापनाका लागि खटिइसकेका छन् ।
० विकास निर्माणमा नेपाली सेनाको योगदान कस्तो छ ? यो उचित हो या हैन् ?
पछिल्लो समय नेपाली सेना विकास निर्माणका काममा बढी नै सक्रिय हुने गरेको छ । नेपाली सेनाले कठिन र दुर्गम सडकहरुको निर्माण कार्य सम्पन्न गरिसकेको छ । विभिन्न आयोजना सम्पन्न गरेको छ । अहिलेसम्म सेनाले जिम्मेवारी पाएका सडकखण्डहरु अधिकांश अन्य ठेकेदारले छाडेका, कठिन र विकट क्षेत्रमा रहेको छ । त्यस्तै सेनाले वन्यजन्तु तथा निकुञ्ज संरक्षणको जिम्मा समेत पाएको छ । नेपाली सेना हालसम्म विभिन्न ठाउँमा निकुञ्ज सुरक्षाका लागि खटिएको छ । सेनाले जलविद्युत उत्पादनमा पनि लाग्ने निर्णय गरेको छ । यो उचित हो किनभने सेनाले गरेको काम राम्रो हुन्छ, उनीहरुलाई दिएको काम समयमै पुरा हुन्छ, ठेकेदारहरु जस्तो भागेर जाने भन्ने हुदैँन त्यसैले विकास निर्माणको काम सबै सेनालाई दिदाँ हुन्छ ।
० वर्तमान प्रधानसेनापतिको काम गराइलाई कसरी हेरिरहनुभएको छ ?
वर्तमान प्रधानसेनापति राम्रो हुनुहुन्छ । उहाँको कार्यशैली धेरै राम्रो छ । कुनै पनि काम गर्दा सल्लाहा लिएर गर्नु हुन्छ । पहिलेका प्रधान सेनापतिहरु जस्तो हुकुमी शासन उहाँमा छैन् ।
० सेनामाथि नै किन बारम्बार प्रहार उसो भए ?
नेपाली सेना हरेक संविधानको आज्ञाकारी पहरेदार हो । यसले हरेक संविधान र सत्तालाई इमान्दारसाथ रक्षा कल्याण सम्मान गर्दै आएको छ । स्थायी शान्ति, समृद्धि सुनौलो भविष्य र सार्बभौमिकता रक्षाको खातिर । नेपाली सेना संयुक्त राष्ट्र संघ र विश्व शान्तिको अति भरपर्दो र बिश्वासिलो पहरेदार हो । विश्व शान्तिमा अपूर्व योगदान मात्र होइन सेनाको अद्भूत त्याग र बलिदानी छ । विश्व मञ्चमा नेपाल र नेपालीलाई चिनाउने पहिलो र ठूलो ऐना भएको छ शान्तिसेना । राष्ट्रिय अर्थतन्त्रमा पु¥याएको योगदान झन् धेरै उल्लेखनीय छ । अहिले विश्व शान्तिमा खटिएको नेपाली सेनाको संख्याले हाम्रा पार्टीका नेता र केही पावरफुल परियोजना संचालकहरु मर्माहत हुनु र सेनाको काम र यसको साइजमाथि निरन्तर प्रहार गर्नुको उद्देश्य नेपाली जनताले तिनीहरुसँगै खोज्नु पर्छ । आजको सडक यातायात विकास होस् वा संचार, जलश्रोत, शिक्षा, खेलकूद र स्वास्थ्य क्षेत्रमा नेपाली सेनाको उल्लेखनीय योगदान रहेकै छ । द्वन्द्व ब्यवस्थापन र सेना समायोजनमा नेपाली सेनाले देखाएको उदारता, सदासयता र त्यागको आज बिश्व समुदायले प्रशंसा गरेको छ । र, त्यो समायोजन र शान्तिको मोडल आज विश्वलाई सिक्नैपर्ने पाठ भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *