बजार अनुगमन खै सरकार ?

राजनीति समाचार

माओवादी नेतृत्वको गठबन्धन सरकार गठन भएको आठ महिना नाघिसकेको छ । निर्वाचन सम्पन्न भएर राजनीतिक दलहरु सरकारमा आएपछि जनताले आर्थिक रुपमा सुधारको आशा गरेका थिए । तर जनताको आशा आशामै सीमित भएको छ भने सरकारले जनताको भावनालाई कुल्चिने काम गरेको छ । माओवादी नेतृत्वको गठबन्धन सरकार बनेपनि जनतालाई प्रतिफल दिने कुनै काम भएको छैन ।

भ्रष्टाचार र बेथितिको छानबिन गरेजस्तो गरेपनि आफ्ना निकटका कार्यकर्तालाई पोस्ने र भर्ती गर्ने काम चलिरहेको छ । वास्तवमा भन्नुपर्दा नेपालमा राजनीतिलाई सेवा भन्दा पनि व्यवसाय बनाइएको छ । राजनीतिक दलहरु सरकारमा आएपछि आफ्ना निकटका बिचौलियाहरुलाई सहजीकरण गरिदिने र आम्दानी गर्ने बाटो बनाइरहेका हुन्छन् । जनताका भावना र जनतासँग जोडिएका विषयमा अलिकति पनि चासो दिइएको पाइँदैन । अर्काेतर्फ, भ्रष्टाचार र बेथितिका काण्डमा जोडिएकालाई कसरी बचाउन सकिन्छ भनेर अनेक दाउपेच चल्ने गरेको छ ।

अहिले बजारमा यति बेथिति छ, त्यसको आंकलन पनि गर्न सकिँदैन । जताततै गुणस्तरहीन उपभोग्य वस्तुहरु विक्री भइरहेको छ । नेपालमा आफ्नो उत्पादन छैन । विदेशी मुलुकबाट आयातित म्याद सकिएका वस्तुहरु नेपालीहरुले उपभोग गर्न बाध्य छन् । महंगीले आकाश छोएको छ । महंगीको नियन्त्रण र आर्थिक सुधारका लागि सरकारले केही कदम चालेको छैन । जनता महंगीले थिचिएका छन्, घर खर्च धान्न नसकेपछि परिवारका सदस्यहरु बाहिर जान बाध्य भएका छन् ।

अस्थिर राजनीतिकै कारण विद्यार्थीहरु भविष्यको खोजी गर्दै विदेश जान बाध्य छन् । विदेशमा भएका पनि नेपालको राजनीतिक अवस्था देखेर फर्किन चाहँदैनन् । मुलुकमा राजनीतिलाई व्यवसाय बनाउने र सत्तामा पुग्नुलाई व्यावसायिक सफलता मान्ने प्रवृत्ति बन्दै गएको छ ।सरकार बनेको आठ महिना भइसक्दा पनि जनसवालका विषयहरु जस्तै महंगी नियन्त्तण, बजार अनुगमन, गुणस्तरीय वस्तु, कालोबजारी नियन्त्रण, सामाजिक सुरक्षाजस्ता विषयमा काम गर्न सकेको छैन ।

नेपाल अहिले राजनीति गर्ने थलो र राजनीति कमाउने भाँडो मात्रै बन्दै गएको छ । बिचौलियाहरुकै कारण नेपालको बजार अस्तव्यस्त बनेको छ । कसैलाई कसैप्रति सरोकार छैन । सर्वसाधारण जनताको गुणस्तरीय वस्तु उपभोगलगायतका विभिनन अधिकारहरको हनन् भइरहेको छ । जनतालाई मारमा पार्ने बिचौलियाहरु नै पार्टीका निकट छन् । पैसा र शक्तिका आडमा जनतालाई अघोषित रुपमा शोषित गर्ने काम सरकारले नै गर्दै आइरहेको छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *