बिजोग माथि पनि बिजोग थपियो भने त्यसलाई कन्तबिजोग भनिन्छ । नेपालको अवस्था यस्तै भईरहेको छ । नेपालको यस्तो बिजोग कसले बनायो भन्ने गम्भिर प्रश्न नेपाली जनताको मनमा उव्जिएको छ । दलहरुले नेपाल राष्ट्रको स्थापना गर्ने इतिहासिक राजतन्त्रलाई हटाएका छन । त्यसैगरी हिन्दूराष्ट्रको ठाउँमा धर्मनिरपेक्ष राष्ट्र घोषित गरेका छन । हिन्दूधर्मको उद्गमस्थल नेपालाई संसारले भगवान पशुपति नाथको निवास भएको मुलुक भनेर चिन्ने गरेका छन् । नेपालको पहिचान नै बनेको हिन्दूराष्ट्र र मियोको रुपमा रहेको राजतन्त्रलाई हटाउँदा राष्ट्रको सन्तुलन नै बिग्रिएको छ । मुलुकको स्थिति यस्तो अवस्थामा पुगेको छ कि दलहरुले पुरानो राज्य संचालनका संरचनाहरु भत्काईसकेका छन् भने त्यसको ठाउँमा दलहरुले ल्याएका नयाँ संरचनाहरु आर्थिक संकट ल्याउने भएकाले अनुपयुक्त देखिएका छन । परिणाम स्वरुप मुलुकको हालत बिजोग अवस्थामा पुगेको छ र त्यसलाई सम्हाल्न दलका नेताहरु बिदेशीलाई गुहार्दै हिडेका छन । बिदेशीको हस्तक्षेपले गर्दा नेपालको बिकास लक्ष्यहिन र गनतव्यहिन अवस्थामा पुगेको छ । नेपाल राष्ट्रले आफ्नो मौलिक बिकास गर्ने अवसर गुमाएर दलका नेताहरु र विदेशी स्वार्थको चेपुवामा नराम्रो सित जाकिएको छ । बिदेशीले नेपालको ईशाईकरण गर्न चाहेका छन भने धर्महिन दलका नेताहरुले बिदेशीको उक्त उद्देश्य पुरा गर्नको लागि सघाएका छन । परिणाम स्वरुप नेपालको बिजोग भएको छ । धार्मिक, साँस्कृतिक, सामाजिक र आर्थिक सबै प्रकारले नेपाल राष्ट्रको बिजोग नै भएको छ । बिग्रेको नेपालको सन्तुलनलाई दलका नेताहरुले स्थिरीकरण गर्न सकेको छैन किनकि दलहरुको आपसी द्वन्द्व र त्यस माथि टेकेर लगातार हुँदै आएको बिदेशीको राजनीतिक हस्तक्षेपले गर्दा नेपाल राष्ट्रको पहिचान र अस्तित्व नै समाप्त हुन सक्ने खतरा बढेको बढेकै छ । राजतन्त्रकालमा नेपाल राष्ट्रलाई चार जात छत्तिस वर्णको फुलवारीको शिद्धान्तले हेरिने गरिएको थियो भने दलहरुले आफ्नो राजनीतिक स्वार्थ पुरा गर्ने उद्देश्यले नेपालमा भएका सम्पूर्ण जातजातीहरु र जनजातीहरुलाई पहिचान सहितको राज्य दिन्छौ भन्दै उल्काएर अन्तिममा माछा माछा भ्यागुता तुल्याई दिएका छन् ।
दलहरुको यस्तो स्वार्थपूर्ण राजनीतिले गर्दा नेपालमा बिगत देखि कायम रहेको आपसी सदभाव खलबलिएको छ र मुलुक धार्मिक संघर्ष तर्फ उन्मुख भईसकेको छ । नेपाल राष्ट्रलाई बिघटन गर्ने राजनीतिको निव दलहरुले राखिसकेका छन भने त्यसलाई चर्काउने र बलेको आगोमा घीउ थप्ने काम बिदेशीले गर्दै आएकाछन । नेपालमा पृथकतावादीहरुको गतिविधिहरु बढेको छ भने नेपालीलाई युगौ देखि आपसमा रसायनले झै जोडी राखेको हिन्दूधर्म र राजतन्त्रलाई रसायनको भूमिका निर्बाह गर्नबाट हटाई सकेका छन । पुरानो राज्य शक्ति निःस्क्रिय र नयाँ राज्यशक्ति प्रभावकारी नभएको अवस्थाको लाभ उठाएर नेपाल राष्ट्रको बिघटनकारी शक्तिहरुको राजनैतीक चलखेल नेपालमा बढेको छ । बिदेशी शक्तिले त्यसैको लाभ उठाएर नेपालको राजनीति र धर्ममा हस्तक्षेप बढाएर बिजोग तुल्याएका छन । नेपलाको बिकासमा सहयोग गर्छौ भन्दै नेपाल छिरेका बिदेशीहरुले नेपाली जनताको मनमष्तिकलाई कव्जागरी त्यसमा धार्मिक र राजनीतिक बिष भरीदिएका छन । दलका नेताहरुले त्यसैको भरणपोषण गर्दै नेपाल राष्ट्रको बिजोग मात्र होइन कन्तबिजोग नै बनाईसकेका छन् ।
दलहरुले नेपालको शासन व्यवस्था चलाउन थालेको ३४ बर्ष पार भईसकेको हुँदा अब पनि नेपालको बिजोग बनाउनुमा पुरानो सत्ताको हातभएको भन्दै उम्किन सक्ने सुबिधा दलहरुलाई छैन । नेपालमा दलहरुले मचाएका अनेक भ्रष्टाचार काण्डहरुको खुलासा भटाभट भईरहेका छन । दलका नेताहरुले वेरोकटोक नेपालमा विगत देखि गर्दै आएको भ्रष्टाचार र आर्थिक अपराधका अनेक काण्डहरुले गर्दा नै महान राष्ट्र नेपाल आर्थिक संकटको चपेटामा पर्दै गएको छ । नेपालको अर्थतन्त्र त्यसरी बिग्रिएर जाँदा काम गरी खाने नेपाली जनता नराम्रो सित प्रभावित भएकाछन । धनी र गरिबका बिचको आर्थिक हैषियतको खाडल भर्नै नसकिने गरी बढेको छ भने नेपालको सम्पूर्ण आर्थिक संसाधन जस्तो बैंकहरु केही बिदेशी मुलका स्वार्थी व्यापारीहरु र व्यवसायीहरुको मुठीमा पुगेकाछन । दलहरुको लापरबाहीले नेपालमा यस्तो अराजकताको हालत उत्पन्न भएको हो जसको समाधान दलका नेताहरुसँग छैन । भ्रष्टाचार र आर्थिक अपराधले थिलथिलो भइसकेको मुलुक नेपालमा बसोबास गर्ने मुलवासी नेपाली जनताको यतिबेला कन्तबिजोग नै भएको छ । नेपाली जनताको यस्तो कन्तबिजोग बनाउने दलका नेताहरु नै हुन जसले सत्तामा बसेर मनपरी ढंगले राज्यको आर्थिक साधन स्रोतहरुको दुरुपयोग गरेकाले काम गरी खाने मेहनतकस नेपाली जनताको भागमा आर्थिक संकटलाई पारेका छन । प्रचण्ड सरकार बनेपछि सुशासनका मुद्दाहरुले केही महत्व पाएको देखिन्छ । अहिले पुराना केही ठुला भ्रष्टाचार र आर्थिक अपराध काण्डहरुको कानुनी कार्यबाही अगाडि बढेको छ ।
आर्थिक संकटले गर्दा बिजोग भएको नेपाली जनताको मनमा झिनो आशा पलाएको छ । अब केही राम्रो हुन्छ कि भन्दै प्रचण्ड सरकारको सुशासन अभियानलाई नियाली रहेकाछन । नेपाली जनताले संघियाता र गणतंत्रलाई नै नेपालमा बढ्दै गएको आर्थिक संकटको मुलकारण ठानेकाछन । दलहरुले बनाएको राज्यको शासकिय स्वरुप नेपालको आर्थिक स्रोत साधनले धान्न नसेको हुँदा नेपाल माथि सालना ३ खरब बिदेशी ऋण बढने गरेको छ । लगभग तीन करोडको हाराहारी जनसंख्या भएको सानो मुलुक नेपालमा साँसदहरुको फौज नै खडा गर्न जरुरी छैन । त्यसमा पनि समानुपातिक साँसदको व्यवस्थाले नेपालमा ठुलो बिकृति ल्याएको छ । घुष लिएर व्यापारी र व्यवसायीलाई समानुपातिक साँसद बनेउने देखि लिएर नेताको परिवारजनलाई सांसद बनाएको घोटलाहरु लगातार प्रकाशित भएकाछन । यस्ता अनियमितताका घटनाहरुले दलका नेताहरुलाई बदनाम तुल्याएका छन भने नेपाली जनताको नजरमा उहाँहरुको प्रभाव र हैसियत दुबै खस्किएका छन् ।
नेपाली जनताको त यसै बिजोग उसै बिजोग भएको नै छ तर दलका नेताहरुले पनि यस्तो महंगो संघियता र गणतन्त्रलाई लामो टिकाउन अवश्य सफल हुनेछैनन् । नेपाली जनतालाई रसायनले झै जोडी राख्न नसक्ने राजनीतिक व्यवस्थाको पतन निश्चित नै हुन्छ । नेपाली जनताले एकताको प्रतिक मानेको राजतन्त्र अहिले राज्य सत्ताको कुनै पनि भूमिकामा छैन । त्यसैगरी नेपाली जनतालाई आपसमा रसायनले झै जोडी राखेको हिन्दूधर्मलाई पनि दलहरुले धर्मनिरपेक्षाको आडमा कमजोर तुल्याईसकेका छन । यस्तो अवस्थामा नेपाल र नेपाली जनताको बिजोग हुनु स्वभाविक नै हो । दलका नेताहरुले नेपाली जनताको लागि वैकल्पिक राष्ट्रिय एकताको प्रतिक दिन सकेको छैन । साथै नेपाली जनतालाई एक ढिक्का बनाएर हिन्दूधर्मले जोडेको झै जोडेर पनि राख्न सकेको छैन । राष्ट्रिय गौरव र आत्मसम्मान भन्ने कुराहरु अब दलहरुले नेपालबाट मसीसकेका छन । पेट भरी खान र आङ ढाक्ने गरी कपडा लाउनकै निमिक्त नेपाली जनता वैदेशिक रोजगारीमा जान बाध्य भएकाछन । नेपालमा रोजगारी नभएको हुँदा इमान्दारी पूर्वक आत्मसम्मानको साथ नेपालमा नै बसेर मेहनतगरी कमाएर परिवार पाल्छु भन्नेहरुको लागि दलहरुले नेपाल राष्ट्र अभिसाप नै तुल्याईदिएका छन । प्रचण्ड सरकारले नेपालमा आर्थिक संकट ल्याउने भ्रष्टाचार नै मुलकारण मानी त्यसको बिरुद्ध सुशासनको अभियान चलाएका छन् ।
भ्रष्टाचारले गर्दा दलहरुले ल्याएको संघियता र गणतन्त्रलाई नै खतरा बढेपछि त्यसको प्रतिकार स्वरुप सुशासनको अभियान नेपालमा दलहरुले चलाएको कुरा नेपाली जनताले राम्रै सित बुझेकाछन । नेपाली जनताको मनमा दलहरु प्रति बिलकुलै भरोषा छैन । अहिले प्रचण्ड सरकारले चलाएको सुशानको अभियानपनि नाटक मात्रै हो की भन्ने ठुलो संका नेपाली जनताको मानमा जागेको छ । सत्य कुरा के हो भने भ्रष्टाचार नै दलहरुको मुख्य आर्थिक स्रोत हुन । त्यसैलाई नै माध्यम तुल्याएर नेपालको राजनीतिलाई दलाल व्यापारी, व्यवसायी, ठेकेदारहरुले नराम्रो सित प्रभावित पार्दै आएकाछन । गाईले घाँस नखाए पछि अरु के खाने विकल्प छन भन्ने कुरा भ्रष्टाचार गरी मोटाएका दलका नेताहरुको मनमा उत्पन्न भईसेकेको हुनुपर्छ । त्यही भएको हुनाले नै प्रचण्ड सरकारको सुशान अभियानबाट जनपक्षिय परिणाम आउन सक्ने कुनै निश्चितता छैन । कुनै पनि बेला प्रचण्ड सरकारले चलाएको सुशासन अभियान ठोश नतिजा बिना नै दुःखान्त हुने सक्ने संभावना टड्कारो रुपमा देखिन्छ । यसै बिचमा सर्बोच्च अदालतबाट एक राम्रो फैसला आएको छ । ओली सरकारको पाला ठुला नेता भनी भ्रष्टाचार गरेकोमा हुन सक्ने कानुनी कार्यबाहीबाट उनमूक्ति दिईएका पूर्व प्रधानमंत्री द्वय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि कानुनी कार्यबाहीको दायरा भित्र ल्याएका छन । अब सुशासन अभियान चलाएर लोकप्रिय बन्दै गएका माओवादी शीर्ष नेता प्रधानमंत्री प्रचण्डले पूर्व प्रधानमंत्री ओलीले जस्तै मोलैजामा लागेर खुट्टा कमाउने हुन कि राजधर्म निभाउने हुन ठुलो परिक्षाको घडी आएको छ । प्रधानमंत्री प्रचण्ड खरो उत्रिने हुन कि अन्य शीर्ष नेताहरु जस्तै भ्रष्टाचारी ठुला नेताहरुलाई बचाउन तिर लाग्ने हुन भनी नेपाली जनताले हेर्ने र प्रचण्ड सरकारको नापतौल गर्ने बेला आएको छ ।
माओवादीहरुले बिरोधीलाई यतना दिएर मार्दा, बैंक लुट्दा, सडक आन्दोल गर्दा ताली ठोकेर स्वागत गर्ने अन्य दलका नेताहरु अहिले माओवादी सुध्रिएर खुँखार भ्रष्टाचारीहरुलाई कानुनी कारबाही चलाउँदै जेल हाल्न थाले पछि आत्तिएर सुशासन अभियानको विरोध गर्न थालेका छन । तसर्थ प्रतिपक्ष दलहरुले सरकारलको बिरोध गरे भन्दैमा कानुनी कारबाहीलाई स्थगित गर्नु हुँदैन । नेपाली जनताको बिजोग बनाउने भ्रष्टाचार र भ्रष्टाचारीहरुलाई सखाप बनाउन जरुरी भएको हुँदा जनयुद्ध कै जस्तो जोखिम उठाएर प्रचण्ड सरकारले कुशल नेतृत्वदायी भूमिका निर्वाह गर्दै भ्रष्टाचारी बिरुद्ध चलेको कानुनी कारबाहीलाई बिना संकोच अगाडि बढाउने र परिणामूखि बनाउनेमा सबै नेपाली जनता विस्वस्त छन ।