सरकार कृषि क्रान्तिको कुरा गर्ने, किसान पलायन हुने ?

राजनीति समाचार

काठमाडौं । नेपाललाई कृषि प्रधान देश भनेर चिनिन्छ । तर, कृषकहरु भने खेतीको सिजनमा मल, बीउ नपाउने, बल्लतल्ल पाइहाले तापनि उचित मूल्य र सर्वसुलब नपाउने कारणले पीडित बनिरहेका छन् । त्यसले कृषि उत्पादनप्रति किसानहरुको आकर्षण घट्दै गएको छ । यसरी कृषिमा आकर्षण घटेपछि नेपाली युवायुवती रोजीरोटीको लागि वैदेशिक रोजगारीमा जान भीड लाग्ने गरेका छन् ।

त्यसले गर्दा नेपालीहरुले कृषिउत्पादन गर्न छाडेका छन् । यदि कृषि उत्पादन गरिहाले पनि त्यसको उचित बजार मूल्य नपाउने कारणले पेशाबाटै पलायन हुने स्थितितिर सिर्जना भएको छ । खासगरी किसानहरु उन्नत बीउवीजन र कृषि औजार अभावका कारण कृषि उत्पादनमा लगानी नउठ्ने भएपछि किसानहरु पेशाबाट पलायन हुन वाध्य भएका छन् । उता तिनै नेपाली किसानले उत्पादन गरेको कृषिजन्य तरकारी, फलफूल तथा खाद्यान्नमा चलखेल गरेर विचौलियाहरु मालालम भएका छन् ।

विचौलियाहरुले किसानको घरदैलोमै पुगेर कौडिको दाममा तारकारीहरु उठाउने र नेपाली उपभोक्तालाई आवश्यक पर्ने आलु र टमाटर भारततिर सप्लाई गर्ने गरेका छन् । यसले गर्दा नेपाली बजारमा तरकारीको अभाव सिर्जना गर्ने र कालाबजारीलाई उकास्ने काम भइराखेको छ । त्यसको असर नेपालमा अहिले आलु, गोलभेडालगायत तरकारीको मूल्य आकासिएको छ । वर्षा याममा आलु र गोलभेडाको सिजन भए तापनि अधिकांश नेपाली उपभोक्ता भने महंगो मूल्य तिर्न वाध्य छन् ।

गोलभेडाको मूल्य प्रतिकेजी न्यूनतम १ सय ५० देखि १ सय ७० सम्म पुगेको छ । त्यस्तै आलु प्रतिकेजी ५० देखि ८० रुपैयाँसम्म तिर्न वाध्य भएका छन् । अन्य तरकारीहरुको त कुरै छाडौं । यतिबेला गोलभेडा र आलु नेपाली बजारमा अभाव भइरहेको अवस्थामा विचौलियामार्फत भारततिर सप्लाई हुने गरेको छ । तर, आफ्नो देशमा उत्पादित खाद्यान्न सामग्री नेपाली उपभोक्तालाई आवश्यक हुँदाहुँदै अवैध रुपमा अन्य मुलुकतिर सप्लाई भइरहँदा कृषि तथा पशुपन्छि मन्त्रालय र सम्बन्धित निकाय भने मुकदर्शक जस्तै बनेर बसेको छ ।

उता, कृषि मन्त्रीले नेपाली किसानले खेतीको सिजनमा मल, बीऊको चिन्ता लिनुपर्दै भनिरहँदा यता किसान भने धानमा हाल्ने मल नपाएर छटपटाइरहेका छन् । बल्लतल्ल पाइहाले पनि दोब्बर, तेब्बर मूल्य तिर्न वाध्य छन् । जुनसुकै पार्टीका नेता कृषिमन्त्री भए तापनि नेपाली किसानलाई खेतीको सिजनमा मल, बीउविजन उपलब्ध गराउन सकेका छैनन् ।

२०४८ यता जुनसुकै पार्टीका नेताहरु पनि सरकारबाहिर हुँदा यो गर्छु र त्यो गर्छु भनेर फूर्ति लगाउने अनि सत्तामा पुगेपछि त्यही समस्यामा खेलेर कमाउ धन्दातिर लिप्त हुने गर्दै आएका छन् । सरकारको यस्तै रवैयाका कारण अहिले अधिकांश नेपाली किसानका छोराछोरीहरु रोजगारीको लागि विदेसिन वाध्य भएका छन् । उता राजनीतिक दलका नेताहरु भने भाषण गर्ने मौका पाउनासाथ ‘अब नेपालमा कृषिक्रान्तिको विकल्प छैन, कृषिमा क्रान्ति ल्याएरै छाड्छौं’ भन्दै कुर्लिने गरेका छन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *