सुरक्षा निकाय फितलो हुँदा आपराधिक गतिविधि बढ्दै

राजनीति समाचार

काठमाडौं । राजनीतिक दलहरुको कारण जुनसुकै क्षेत्र तहसनहस हुँदै गएको छ । भष्टाचार व्यापक रुपमा मौलाउँदै गएको छ । राजनीतिक हस्तक्षेपका कारण सुरक्षा निकाय पनि निकम्मा बन्दै गएको छ । त्यसकै परिणाम स्वरुप अधिकांश क्षेत्रमा ठूला–ठूला व्यापारीहरुले राजश्व छल्नेदेखि विभिन्न देशका नागरिकहरु नेपालमा आएर आपराधिक गतिविधिमा संलग्न हुने गरेका छन । त्यसको ज्वलन्त उदाहरण भरखरै राजश्व अनुसन्धान विभाग बरामद गरेको एक क्वीन्टल सुनलाई लिन सकिन्छ ।

उक्त सुन तक्करीमा चिनियाँ र एक भारतीय नागरिकसहिति नेपालका केही व्यक्तिहरु संलग्न रहेको पाइन्छ । नेपालमा अहिले यस्ता गतिविधिमा लाग्ने विदेशी नागरिकहरु व्यापक रुपमा सल्बलाएका छन् । त्योसँगै उनीहरुलाई सघाउनको लागि केही नेपालीहरु पनि संलग्न रहेको देखिन्छ । यी गिरोहहरुले कहिले कल वाइपास गर्दछन् भने कहिले सुन तस्करीदेखि मानव तस्करीसमेत गर्दछन् । त्यसैगरी ती गिरोहहरुले अनलाइन ठगी गरेर करोडौं विदेशी मुद्रासमेत कारोबार गर्नेदेखि हुन्डी तस्करी गर्ने गर्दछन् ।

त्यस्ता व्यक्तिहरुले बैंकको एटिएम ‘ह्याक’ गरेको समाचार पनि नआएको होइन । हुँदाहुँदा केही विदेशी र नेपालीहरु मिलेर नक्कली नोट कारोबार गर्ने गरेका समाचारसमेत सञ्चारमाध्यममा आइहेका छन् । तर, यस्ता सम्वेदनशील विषयमा नेपाल प्रहरीले राम्रोसँग अनुसन्धान गर्ने काम गर्न सकेको छैन । प्रहरीकै नेतृत्व असफल भएपछि देश र नागरिकको सुरक्षा हुने कुरै भएन । सुरक्षा निकायको फितलोपन देखेर नै विदेशी नागरिकहरुले नेपालमा बसेर अवैध धन्दा सञ्चालन गर्दै आएको देखिन्छ ।

यस्तो गतिविधिलाई सुरक्षा निकायले गम्भीर भएर सोचेन भने भोलिका दिनमा योभन्दा नाजुक अवस्थामा मुलुक पुग्ने देखिन्छ । राजनीतिक दलका नेताहरुले पनि राष्ट्रिय सुरक्षा जस्तो सम्वेदनशील विषयमा राजनीतिक स्वार्थभन्दा माथि उठेर आवाज उठाउनुपर्नेमा उल्टै राजनीतिक भागबन्डाको खेलमा संसद् अवरुद्ध गर्ने काम गर्दै आएका छन् ।

उता नेपालमा खुला सीमाना भएको कारणले पनि आपराधिक गतिविधिमा संलग्न विदेशीहरुको चलखेल बढेको देखिन्छ । सशस्त्र प्रहरी बलले सीमा सुरक्षा गरिरहँदा खुला सीमाना भएको कारण वास्तविक सुरक्षा दिन सकेको छैन । त्यसकारण पनि चोरी निकासी र आपराधिक गतिविधिमा संलग्न व्यक्तिको बिगविगी बढेर गएको छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *