सावित्री खत्री
काठमाडौं । सरकारले विवाह गर्न २० वर्ष उमेर पुगेको हुनुपर्ने कानुनी मान्यता ल्याए तापनि अधिकांश किशोरकिशोरीहरुले त्योभन्दा कम उमेरमा आफूखुसी तथा घरपरिवारको करकापमा विवाह गर्ने चलन हटेको छैन ।
अहिले अधिकांश १६, १७ वर्षका किशोरकिशोरीहरु पढाइ र रोजगारीको सिलसिलामा काठमाडौं उपत्यकादेखि देशका विभिन्न शहरबजारमा बसोवास गर्ने गरेका छन् । त्यसरी शहरबजारमा बस्ने किशोरकिशोरीहरु कतिपय आफ्ना अभिभावको निगरानीमा बसेका हुन्छन् भने अधिकांश आफूखसी डेरा लिएर बस्ने गर्दछन् । गाउँबाट शहर छिरेर एक्लै बस्ने किशोरकिशोरीहरु विस्तारै महत्वकांक्षी बन्दै जाने गर्दछन् । त्यसपछि उनीहरु पढाइभन्दा पनि आफ्नो महत्वकांक्षा पुरा गर्न विभिन्न प्रलोभवनमा फस्ने गर्दछन् ।
एकातिर बेरोजगारीले बिहान बेलुका छाक टार्न मुस्किल पर्ने अर्कोतिर साथीभाइको देखासेखीमा लाग्ने र विभिन्न फेशनदेखि महंगा मोबाइल बोक्ने रहर जाग्छ । त्यसपछि जस्तोसुकै काम गरेर भएपनि महंगो मोबाइल किन्ने र सामाजिक सञ्जालमा रमाउने गर्न थाल्छन् । त्यसपछि सामाजिक सञ्जालको माध्यमबाट विभिन्न मनसायका व्यक्तिहरुसँग संगत बढ्दै जान्छ ।
त्यस सिलसिलामा कतिपय केटाकेटीबीच प्रेम आदानप्रदान हुन थाल्छ । केटीले धनी केटा र केटाले राम्री केटीको खोजी सामाजिक सञ्जालबाटै गर्ने गरेको पाइन्छ । त्यसपछि राम्री केटी र धनी केटाको लोभमा अनमेल विवाहदेखि अन्तरजातीय विवाहसम्म हुने गरेका छन् । विवाह पछि केटीले केटाको घरपरिवार खोजी गर्ने गर्दछन् । यसरी हुने विवाहहरु घरपरिवारमा व्यवहारिक देखिँदैन । कतिपयको घरपरिवारले अन्तरजातीय विवाहलाई मान्यता दिए तापनि अधिकांशको घरपरिवारले त्यस्तो विवाहलाई स्वीकार गरेको पाइँदैन । कतिपय केटा–केटीबीच भएको विवाह गरीव र धनीबीचको खाडलको कारण घरपरिवारले स्वीकार गरेको पाइँदैन ।
त्यसपछि श्रीमान् श्रीमतीबीच मनमुटाव सुरु हुन थाल्छ । यसरी श्रीमान् श्रीमतीबीच मनमुटाव झागिँदै जाँदा पारपाचुके (डिभोर्स) सम्म हुन पुग्छ । कतिपयले विवाह असफल भएपछि आत्माहत्याको बाटो रोज्ने गरेका छन् भने कतिपय श्रीमती छोडेर भाग्ने गरेका छन् । कतिपय केटीहरु सानो उमेरमै विवाह भएर बच्चा जन्मिने अनि केटाले छोड्ने कारणले अलपत्र पर्ने गरेका छन् । यसरी अलपत्र परेका केटीहरु रोजीरोटी र बच्चाको पालनपोषणको लागि अनैतिक धन्दातिर फस्ने गरेका छन् । कतिपय उमेरै नपुगी आफूखुसी विवाह गरेका केटाकेटीहरु कानुनी फन्दामा पर्ने गरेका छन् । त्यसपछि उनीहरुबाट जन्मिएका बालबच्चाहरुको विचल्ली हुने गरेको पाइन्छ ।
उता नेपालको कानुनअनुसार बहुविवाह गर्न पाइँदैन भनिए तापनि कतिपय युवायुवतीले लुकीछिपी बहुविवाह गरिरहेका छन् । महिलाहरुकै कारण अधिकांश घरबारविहीन हुने गरेको छ । अहिले संसद्देखि विभिन्न संघसंस्थाहरुमा कार्यरत महिलाहरुकै कारण पुरुषहरु यौनज्यन्य हिंसाको शिकार बनिरहेका छन् । महिलाहरु पनि पुरुषद्वारा यौनजन्य हिसांमा नपरेका भने होइनन् । तर, सामाजिक सञ्जालको माध्यमबाट पछिल्लो समय भाइरल हुने नाममा महिलाहरुले पनि धेरै अस्लिल हर्कतहरु गर्दै आएका छन् ।
त्यसले पनि यौनजन्य हिंसाको साथै अन्य आपराधिक तिविधिका घटनाहरु बढिरहेका छन् । कतिपय श्रीमान विदेशमा हुने महिलाहरु सामाजिक सञ्जालमा भाइरल भइने लोभले परपुरुषसँग रमाउने र त्यसको निहुँमा घरवारसमेत बिग्रिएका घटना पनि प्रशस्तै छन् । उता रोजगारीको लागि भनेर छोराछोरी र श्रीमान छोडेर विदेश गएका महिलाहरु घर नफर्किएका उदाहरणहरु पनि त्यत्तिकै छन् । यसरी सामाजिक सञ्जालले समाजमा विकृति र विसंगति फैलाइँरहँदा राज्यका सम्बन्धित निकायहरु भने बेखबर जस्तै बनेर बसेका छन् । (तामाकोशीसन्देशबाट)