नेपाली सञ्चार जगत्मा कोमलनाथ अधिकारी (कमल) प्रख्याति नाम हो । विगत अढाई दशकभन्दा अघिदेखि यस क्षेत्रप्रति व्यवसायिक रुपमा नै समर्पित उनले हाल वरिष्ठ पत्रकारको हैसियत बनाइसकेका छन् । छापा र विद्युतीय दुवै विधामा भुक्तभोगी उनले विदेशी पत्रकारिताको अनुभव पनि सँगालेका छन् । प्रस्तुत छ– हाल जापानमा रहेर पनि नेपाली सञ्चारमाध्यममा उत्तिकै सक्रिय अधिकारीसँग यसै सेरोफेरोमा केन्द्रित रहेर तामाकोशी सन्देश साप्ताहिकको लागि गरिएको कुराकानीको सम्पादित अंश :
हाल केमा तल्लिन हुनुहुन्छ ?
पछिल्ला वर्षमा म जापानमा रहेर पत्रकारिता गरिरहेको छु । मैले नेपालका विभिन्न सञ्चारमाध्यममा समाचार, विचार, विश्लेषण आदि सम्प्रेषण अर्दै आइरहेको छु । आमसञ्चार र पत्रकारितासम्वन्धी पुस्तक लेखनको तयारी पनि गर्दैछु । फेरि म नेपाल पत्रकार महासंघ जापान शाखाको संस्थापक सहसचिवसमेत हुँ ।
पत्रकारिता क्षेत्र नै किन रोज्नुभयो ?
यो मेरो सानैदेखिको चासो र रुचिको विषय हो । मेरो जन्म चितवन जिल्लाको माडीमा भएको हो । बुबा घरनजिकैको तत्कालीन श्री कृष्णनगर निम्न माध्यमिक विद्यालयमा अध्यापन गर्नुहुन्थ्यो । उहाँ शिक्षित भएकै नाताले मलाई पनि पहिलेबाट अध्ययनमा केन्द्रित गरियो । म पनि अध्ययनको अलावा विद्यालयमा हुने हाजिरीजवाफ, हिज्जे, कथा, कविता, निबन्ध, वादविवाद आदि प्रतियोगितामा भाग लिएर उत्कृष्ट नै हुन्थें । पाठ्यक्रमका अतिरिक्त पत्रपत्रिका र साहित्यिक पुस्तक पढ्ने मेरो बानी थियो ।
स्कूले जीवनदेखि नै मलाई समाचार कसरी तयार गर्ने ? आफ्नो नाम पत्रपत्रिकामा कसरी छापिन्छ होला ? भन्नेजस्ता खुल्दुली लागिरहन्थ्यो । र त यही पेशा नै रोजाइको क्षेत्र बन्न पुग्यो । अनि २०४८ सालमा एसएलसी पास गरेपछि उच्च शिक्षा अध्ययनका लागि भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पस भर्ना भएँ । त्यहाँ केही समय अध्ययन गरेर पर्सा जिल्लाको वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पस गएँ । २०५४ मा ठाकुररामबाटै स्नातक तह पूरा गरें । त्यसबेलासम्म मैले लेखनकार्यमा राम्रो प्रगति गरिसकेको थिएँ । त्यसपछि भने पत्रकारिता क्षेत्र समातें । २०५५ सालसम्म आइपुग्दा त देशका विभिन्न सञ्चारमाध्यममा आबद्ध भएर काम गर्न थालें ।
कुन–कुन सञ्चार माध्यममा काम गरेको अनुभव छ त तपाईंसँग ?
सुरुमा २०५५ मा वीरगन्जबाट प्रकाशन हुने चट््याङ साप्ताहिकको सम्पादक बनें । त्यसको केही समयपछि हेटौंडा आएँ र २०५७ देखि २०६३ सम्म रेडियो नेपालको मकवानपुर संवाददाताको रूपमा काम गरें । यही बीचमा स्पेसटाइम दैनिक र च्यानल नेपालको पनि मकवानपुर संवाददाता भएँ । त्यसपछि २०६२ मा हेटौंडाबाट प्रकाशन हुने नारायणी दैनिकको प्रधानसम्पादक बनें । अर्कातर्फ मिडिया क्लब मकवानपुरको अध्यक्ष भएर लामो समय काम गरेको अनुभव छ ।
छापा र विद्युतीय पत्रकारितामा के भिन्नता छ ?
धेरै कुराको भिन्नता छ । जस्तो कि छापामा समाचार लेखन र सम्पादनमा बढी समय पाइन्छ । समाचार स्रोतसँगको सम्पर्क, समाचारको तथ्यतथ्य छुट्याउने मौका मिल्छ । तर, विद्युतीय पत्रकारितामा त्यो समय पाईंदैन । सूचना तत्काल सम्प्रेषण गर्नुपर्ने, टेलिभिजनमा ‘फुटेज’ आवश्यक पर्ने, रेडियो र टेलिभिजनमा ‘बाइट’ आवश्यक पर्ने कारणले स्रोतसँगको सहज पहुँचमा समस्या पर्छ । रेडियो र टेलिभिजनमा छोटो समाचार हुने भएकाले पूराका पूरा सूचना नागरिकसम्म पुर्याउन कठिन हुन्छ । पत्रकारले चाहेजति सूचना समेट्न सकिदैन ।
समाजमा पत्रकारको कस्तो जिम्मेवारी रहन्छ ?
हामी यही समाजका मान्छे हौँ । सबै नागरिकको आफ्नो समाज र देशप्रति महत्वपूर्ण जिम्मेवारी रहन्छ नै । समाज–राष्ट्रप्रति सञ्चारकर्मीको त थप जिम्मेवारी रहन्छ । समाज–राष्ट्रमा भएका वेथिति, विसंगति, भ्रष्टाचारलाई उजागर गर्ने, सही नीति–निर्माण गर्न दबाब दिने, उदाहरणी काम गर्ने व्यक्तिलाई प्रोत्साहित गर्ने आदि हाम्रो कर्म–धर्म हो । अझ हामीले त जिम्मेवार भएर राष्ट्रप्रति थप भूमिका निभाउनु पर्छ । अरुलाई सचेत तुल्याउने, सुसूचित पार्ने कार्यमा लागेका हामी बढी जिम्मेवार हुनुपर्दछ । हामीले राष्ट्रहितमा धेरै कामहरु गर्न सक्दछौँ, जुन अन्य जिम्मेवारीमा रहेका नागरिकहरुले गर्न गाह्रो हुन्छ ।
बाहिर र नेपालको पत्रकारितामाचाहिँ के फरक छ ?
बाहिरको तुलनामा नेपाली पत्रकारिता निकै कमजोर छ । असुरक्षित, अविश्वासनीय र खासै अब्बल छैन । फेरि, पत्रकारिता पढाउने विश्वविद्यालय, कलेजहरु छन् । तालिमहरु त्यतिकै भइरहेका छन् । नेपाल पत्रकार महासंघमा अहिले १३ हजारभन्दा बढी सदस्य आवद्ध छन् । दुर्भाग्य ती सबै वास्तवमै पत्रकारिता गरिरहेका छैनन् । सञ्चार माध्यम, सूचना विभाग आदिको कार्ड भिरेर त्यसको दुरुपयोग गर्नेहरू प्रशस्त भेटिन्छन् । पत्रकारिताको सामान्य आचारसंहिता थाहा नहुनेहरू पत्रकारको डिङ हाँकेर हिड्छन् । यस्तो प्रवृत्तिले विकृति बढाएको छ पत्रकारिता क्षेत्रमा । वाहिर यस्तो हुँदैन । सवै आ–आफ्नो क्षेत्रमा जवाफदेही हुन्छन् । हुन त यो वेथितिको नियन्त्रण सम्भव छ । त्यसका लागि हाम्रा पेसागत संगठनले नेतृत्व लिनु पर्दछ । पत्रकार महासंघको सदस्यता शुद्धिकरण अभियानलाई कुनै पनि बाहनामा निरुत्साहित गरिनुहुँदैन । जतिसक्दो छिटो पत्रकार महासंघमा आवद्ध रहेका मानिसहरुबारे सत्यतथ्य संकलन गरिनुपर्दछ । फर्जीहरुलाई हटाउनु आवश्यक छ । प्रेस काउन्सिल, सूचना विभाग, सञ्चार रजिष्ट्रारको कार्यालय यी सबै तमाम कार्यालयहरुले यसमा काम गर्न सक्छन् ।
तपाईं आफ्नो पेशासँग कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
आफूले मनदेखि गरिरहेको काममा जहिले पनि सन्तुष्ट हुनपर्छ । मानिसले जे कर्म गरिरहेको हुन्छ कि त ऊ आफू खुसी हुनका लागि गरिरहेको हुन्छ कि त खुसी भएर सो कर्म गरिरहेको हुन्छ । मेरो हकमा पत्रकारितामा खुसी हुन र खुसी भएर दुवै अर्थका लागि छु जस्तो लाग्छ । म जे गरिरहेको छु यसमा पूर्ण सन्तुष्ट छु ।
यस क्षेत्रमा लागेर के पाउनुभयो, के गुमाउनुभयो ?
पत्रकारिता क्षेत्र फराकिलो छ । जति जान्यो थप जान्नुपर्ने यसको विशेषता हो । यसमा लागेर पछुताउनु पर्नेगरी आजको दिनसम्म केही गुमाएको छैन । बरु लाखौं नागरिक, पाठक, श्रोताको सद्भाव, माया पाएको छु । लाग्छ– पत्रकारिताले मलाई पूर्ण बनाइदिएको छ । अझै धेरै पाउनु छ । त्यही प्राप्तिका लागि म अनवरतरुपमा लागिपरेको छु ।
अहिलेसम्म समाज÷राष्ट्रप्रति के–कस्तो योगदान गरें जस्तो लाग्छ ?
मलाई मेरो देश अनि समाजप्रति निःसन्देह छुट्टै किसिमको मोह छ, लगाव छ । म जुन समाजमा रहन्छु, जुन देशमा रहन्छु त्यो समाज अनि देशले मलाई एउटा असल पत्रकारको रुपमा स्विकारेर सम्मानको दृष्टिकोण राख्नु नै मेरो लागि अहोभाग्य हो । समाजले धेरै कुरा दिएको छ । राष्ट्रले धेरै कुरा सुम्पेको छ । तर, मैले यो समाज अनि राष्ट्रलाई के दिन सकें त भन्ने चिन्ता जहिले लागिरहन्छ ।
पत्रकारिताकै माध्यमबाट मैले समाज र राष्ट्रको पक्षमा धेरै काम गर्न बाँकी छ । आज मैले जुन असल कर्म गरिरहेको छु पक्कै पनि यसले केही न केही सकारात्मक अंशहरु दिएको महसुस भएकै छ । आज म आफू जन्मिएकै धर्तिका लागि बाँचिरहेको छु । कर्म गरिरहेको छु । यसले पनि त केही जिम्मेवारी बहन गर्न सकें हुँला जस्तो लाग्छ । तर, समाज र राष्ट्रले जति दिएको छ, त्यतिमात्रै दिन पनि अझै धेरै गर्न बाँकी छ । त्यसैले निरन्तर देश र समाजप्रति समर्पित रहेर कर्म गर्ने इच्छा छ ।
तपाईंलाई समाज र राष्ट्रले के दियो त ?
धेरै कुरा दिएको छ । पहिलो त सन्तुष्टि, आत्मसम्मान दिएको छ । अहिलेको अवस्थासम्म आइपुग्दा मैले जे जस्ता अवसर, सम्मान र माया पाएका छु यो सवै पत्रकारिताको कारण हो । फेरि मेरो पत्रकारितालाई धेरैले सम्मान गरेका छन्, त्यसैले त ‘राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार–२०५७’, ‘शिखर सम्मान–२०७५’, ‘वरिष्ठ सञ्चारकर्मी सम्मान–२०७६’, ‘शिखर अनर अवार्ड–२०७८’, ‘हिमालयन इन्टरनेशनल अवार्ड–२०७८’, ‘स्पाइनी ब्याब्लर अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल जुरी अवार्ड–२०२२’, ‘८औं नेशनल क्यापिटल अवार्ड–२०७८’, ‘वर्ष सर्वोत्कृष्ट सञ्चारकर्मी अवार्ड’, ‘सामाजिक रुपान्तरणका लागि नागरिक समाज, विशेष नागरिक सम्मान–२०७९’, ‘सर्वोत्कृष्ट सञ्चारकर्मी अवार्ड’, ‘हेटौंडा जर्नालिजम अवार्ड–२०७९’, ‘पिम नेपाल फिल्म फेष्टिवल, जुरी अवार्ड–२०७९’ (वरिष्ठ पत्रकार) लगायत पाएको छु । यो नै मेरा लागि गौरवको विषय हो ।
(तामाकोशीसन्देशबाट)