माधव र झलनाथको मोर्चा खेती

राजनीति समाचार

काठमाडौं । संगठन नबनाउने अरुको रिस गर्ने नेकपा एकीकृत समाजवादीका १० जना सांसदलाई सरकार चारै वर्ष चलाउन दिने क्षमता कांग्रेस र माओवादीको छैन । जनतासँग एमाले र समाजवादी बिचको अन्तर बताउन नसक्ने वामदेवलेसमेत जबजको औचित्य अब सकियो, समाजवादी बाटो अबको लक्ष्य भनिसके । झलनाथ पनि आत्तिइसके तर पार्टी अध्यक्ष माधव नेपाल भने जबज त्याग्नै सकेका छैनन् । समाजवादीको गन्तव्य समेत छैन । बरु केपी ओलीको देवत्वकरण स्वीकारेर भविष्य नभएको पार्टीमा नबस्ने भनेर मुुकुन्द न्यौपाने बाटो लागे । यदि कारबाही नहुने हो भने प्रेम आले, किसान श्रेष्ठ, धनबहादर बुढा एमालेमै फर्किसक्थे ।

समाजवादी त्यागेर एमालेमा गएकाहरुप्रति त्यति आश्चर्य मान्नुपर्ने केही छैन । गुटबन्दी त्यहाँ पनि छ । जगन्नाथ खतिवडा, डा.गंगालाल तुलाधर, राजेन्द्र पाण्डेहरुको खेती पुरानै हो । सिद्धान्त र निष्ठामा चलेका कम्युनिष्ट भएका भए एउटाले पार्टी छाड्दा चिन्ता हुन्थ्यो । आफ्नो लागि कम्युनिष्ट भएकाहरु पुष्पलाल, मदन भण्डारी, मनमोहनको तस्वीर बेचेर खान पल्केकाहरुले मौकामा तस्करी पनि गर्छन, राज्य स्रोत पनि लुट्छन भन्ने कुरा नेकपाको शासनकालको केपी र उनको कार्यकर्ताको नीतिगत लुट हो । जबज भनेकै राज्य लुट नेता धनी, राज्य कंगाल बनाउ भन्ने हो । यो तथ्य लुक्दैन ।

तर यो सत्य प्रमाणित भएपनि माधव नेपाललाई जबज चाहिएको छ, झलनाथलाई समाजवाद । राष्ट्रिय वन माधव नेपालकै पालामा माफियाको व्यवसाय बन्यो । चन्द्रागिरी हिल्सको जंगल भित्रको व्यापार समाजवादी थियो कि जबजवादी माधव नेपाल बताउँदैनन् । ललिता निवास जग्गा प्रकरणमा माधव नेपाल मुछिएका छन् । एमाले भन्दा नाम फरक, काम उस्तै भएको कारण समाजवादी पार्टीले गति लिन सकेको छैन । ४५०÷५००÷७०० सम्मको केन्द्रीय समिति बनाएर जात्रा देखाउने काम गणतन्त्रका दलहरु गर्दैछन् ।

निर्वाचनको प्रक्रिया पार्टी विधान सबै प्रभुको कुपामा सुम्पेको एमालेको नेतृत्वले विधानविपरीत केन्द्रीय सदस्य, स्थायी समिति, पोलिटव्यूरोमा संख्या थपेकै छ भने एमालेबाट भाँडिएका माधव र झलनाथको पार्टी सुक्नु नौला भएन । कम्युनिष्ट सिद्धान्त र आदर्श त्यागेर आँफै धनी बन्न कम्युनिष्ट बनेकाहरुको फोटो टाँसेर व्यापार गरे पनि हुन्छ । भ्रष्टाचारको विरुद्ध सरकार लागेको छ । मुलुक कम्युनिष्टहरु सरकारलाई सघाउँदैनन् । बेथितिको अन्त्य खोज्दैनन् ।

नेपालका नागरिकलाई नक्कली भुटानी बनाएर बेच्ने, तस्करीको सुन भित्र्याएर कमिशन खाने, सांसद विकास कोषको नाममा हाकाहाकी राज्यस्रोत हजम गर्ने, नागरिकता बेच्ने, होलीवाइन खाने कम्युनिष्ट नेताले रुचाउनुपर्छ भन्ने छैन । किनकी कम्युनिष्टको गणतन्त्रमा जनताले आधारभूत मूल्य मान्यताको उपभोग गर्न पाएन । शिक्षा र स्वास्थ्य मात्र होइन रोजगार समेत संवैधानिक हक भित्र परेको छ । तर निशुल्क छैन । जनतालाई औषधी उपचार छैन । जनतालाई जिउने हक समेत नदिने कम्युनिष्टहरु मुलुकमा बढेका छन् । कुरा चर्का गर्ने, मौका पाउँदा आफु र आफ्नो परिवारको हित खोज्नेहरुले समाजवाद स्थापना गर्छन भन्नु कल्पना मात्र हो ।
(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *