कांग्रेस निकट कर्मचारीको बद्मासीको चाङ

राजनीति समाचार

काठमाडौं । हुन त राजनीतिमा जोडिएका कर्मचारीहरु कोही पानी माथिको ओभानो छैनन् । सबै बदनाम छन्,यो अंकमा हामी काँग्रेससँग जोडिएका केही कर्मचारीहरुको बदमासी उजागर गर्दै छौं । जस्तो हालैमात्र वानेश्वरमा काँग्रेस निकट कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशन २०८० को आयोजना गरिएको थियो । जहाँ पूर्व प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा साथै उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्का,कानुन मन्त्री धनराज गुरुङहरु अतिथीका रुपमा अगाडि मञ्चमा राखिएको थियो ।

त्यही मञ्चमा एक जना फरार सूचीमा रहेका कर्मचारीसमेत मन्त्रीदेखि पार्टी सभापतिसँग कुममा कुम जोडेर बसिरहेका दृश्य देखिन्थ्यो । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले काँग्रेस निकट कर्मचारी युनियनका राजेन्द्र बूढाथोकीलाई ललिता निवासको जग्गा प्रकरणमा फरारको सूचीमा राखेको छ । सिआइबीले मात्र होइन सरकारी वकिलको कार्यालयले बुझाएको रायमा समेत उनै बूढाथोकीलाई प्रतिवादी बनाएको छ ।

त्यहाँ यस अघि नै काठमाडौंको प्रमुख जिल्ला अधिकारीका रुपमा काठमाडौंसहितका विभिन्न जिल्ला हाँकिसकेका,हाल बाग्मती प्रदेशका सचिवका रुपमा कार्यरत गोविन्द रिजालका साथैं गृहका सहसचिव फणीन्द्र पोखरेल, रसुवाका तत्कालीन प्रमुख जिल्ला अधिकारी नवराज जैसी (पूर्व सचिव), नायब महालेखा परीक्षक तहका कर्मचारी लगायत विशिष्ट व्यक्तिलाई तल साधारण सिटमा राखेर राखिएको थियो । उता मासिक ३५ हजार हाराहारी तलब बुझ्ने एक जना कर्मचारीले संगठनको कार्यक्रमका लागि भन्दै ६ लाख रकम उठाएर दिए पछि उनको बेग्लै चर्चा परिचर्चा छ काँग्रेसी कर्मचारी वृत्तमा ।

एउटा कम्युटर अपरेटरको तलब हुन्छ नै कति ? मासिक ३५ हजार हाराहारी तलब थाप्ने केन्द्रीय सदस्य प्रकाश खातीले उक्त कार्यक्रमका लागि एयरपोर्टबाटै ६ लाख रकम उठाएर दिएका हुन । कर्मचारी युनियनका नेता दाहिने भएकै कारण प्रकाशले गृह मन्त्रालय छाडेर बाहिर जानु परेको छैन । बालकृष्ण खाँण गृहमन्त्री हुँदा उनको सचिवालयमा बसेर राम्रै लाभ उठाउन सफल खाती खाँण मन्त्रीबाट हट्नु अघि फेरि अध्यागमनमै पुगेका थिए । त्यस अघि पनि अध्यागमनमै बसेर कुस्त कमाएका कर्मचारी हुन ।

यता सामान्य प्रशासनमा नयाँ सचिव विनोद प्रकाश सिंहको आगमन भएपछि काँग्रेसी कर्मचारी सरुवा विशेष गरी सामान्य प्रशासनको सरुवाको खेतीपाती चलाउँदै आएका उत्तम कटवालको चुरीफुरी बढेको छ । ललिता निवासको जग्गा प्रकरणमै जोडिएका काँग्रेसी अर्काे कर्मचारी (सिडियो) सुशील वैद्यको समेत अहिले गृहमा तानिएका छन् ।

सिआइबीले सिडियोलाई नै फरारको सूचीमा राखेको थियो । ट्रेड युनियनको नाममा सरुवाको खेती चलाउने धन्दाकै कारण कर्मचारी संगठनहरु गन्हाएका छन् । साँढे जस्ता बनेका यी कर्मचारी ट्रेड युनियन खारेजी गरि निजामती सेवालाई निष्कलंक बनाउनु पर्ने हो तर संघीय निजामती सेवा ऐनमा यी ट्रेड युनियन खारेजी गर्ने हिम्मत कुनै नेता वा प्रशासकले गर्न सक्ने हुति देखिएको छैन । (तामाकाशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *