काठमाडौं । २०७६ साल चैत ११ गतेबाट नेपालमा कोरोनाका कारण लकडाउन भएपछि सबै व्यापार व्यावसायहरु ठप्प गरेर झन्डै ६ महिना घरमै बस्नुपर्ने वाध्यता भएको थियो । कोरोनाकै कारण १० हजारमाथि नेपालीले ज्यान पनि गुमाए । त्यसयता नेपालमा दुई पटक लकडाउन र पटक–पटकको निषेधाज्ञाले व्यापार, व्यवसाय गर्नेहरु मारमा पर्दै गएका थिए ।
त्यसपछि व्यापार, व्यावसाय गर्नेदेखि विभिन्न सर्वसाधारण जनताले आफ्नो जायजेथा बैंकमा राखी ऋण लिएर घाटामा गएको व्यापार, व्यावसाय र दैनिक चलाउँदै आएका थिए । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यावसाय सञ्चालन गरेपनि फाइदामा जानुको सट्टा झन् घाटा हुँदै गयो । त्यसयता अधिकांश उद्योगी, व्यावसायीहरुले लिएको ऋणको सावाब्याजसमेत तिर्न नसक्ने अवस्थामा पुगे । त्यतिबेला बैंकबाट ऋण लिएका ऋणीहरुले सावाब्याज तिर्न नसक्दा ऋण दिने बैंक तथा वित्तीय संस्थाहरुले अधिकांशको धितो राखेको घरजग्गा लिलामी गर्ने सूचना जारी गरिराखेका छन् ।
लिलामीको सूचना जारी गरेसँगै बैंक तथा वित्तीय संस्थाहरुले ती घरजग्गा विक्रीवितरण गर्न ग्राहक खोजी गरिरहेका छन् । अधिकांश लिलामीको सूचना पत्रपत्रिकामा प्रकाशित भए तापनि बैंकमा धितो राखेका लिलामी घरजग्गाहरु बिक्री हुन सकेका छैनन् । एकातिर त्यो अवस्था छ भने अर्कोतिर अधिकांश सहकारी संस्था र फाइनान्स कम्पनीहरु निक्षेपकर्ताको पैसा खाएर भागेपछि सर्वसाधारण निक्षेपकर्ताको रुवावासी भएको छ । त्यसकारणले पनि अहिले सर्वसाधारण जनताहरुले बैंक तथा वित्तीय संस्थाहरुलाई विश्वास गर्न छाडेका छन् ।
उद्योगी व्यावसायी पनि आफ्नो जायजेथा बैंकमा धितो राखेर लिएको ऋण तिर्न नकेपछि धितो नै लिलामी भएर उद्योग व्यावसायी नै बन्द गर्न वाध्य भएका छन् । उतातिर अधिकांश राजनीतिक दलका नेता र कर्मचारीहरुले पैसा बैंकमा राखेर मोजमस्ती गरिरहेका छन् । अहिले नेपालमा कि त राजनीतिक दलका नेता, कार्यकर्ता र परिवारको हालीमुहाली छ कि त कर्मचारीहरुकै मोजमस्ती छ ।
कर्मचारीहरुले सर्वसारणको करबाट तलब खाएकै छन् । नेताहरुले विभिन्न अनियमिततादेखि भ्रष्टाचार गरेकै छन्, सेवासुविधा र भत्ता लिएकै छन् । तर, सर्वसाधारण जनता भने सिटामोल किन्नसमेत किन्न नसक्ने अवस्थामा पुगेका छन् । (तामाकोशीसन्देशबाट)