छोटो अन्तरालमा परिवर्तन हुने सरकारले राजनीतिक र विकासमा स्थायित्व दिँदैनन् । राजनीतिक परिवर्तनसँगै सरकार परिवर्तन हुने र जनतालाई आश्वासन र वाचा गरेर धोकाधडी गर्ने काम पनि हुँदै आएको छ ।
अस्थिर राजनीतिले मुलुकलाई स्थिरता दिन सक्दैन । पछिल्लो समय मुलुकको ठूलो राजनीतिक शक्ति नेपाली कांग्रेससँग गठबन्धन तोडेर माओवादीले अन्य राजनीतिक दलहरूसँग गठबन्धन गरेको छ । यसै गठबन्धनमा जनतालाई ठूलो आशा सिर्जना गराएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा आएको छ । युवा र दक्ष क्याडर रहेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा छ । जनताले आशा गरिरहँदा अबको नेतृत्वले शिक्षा र स्वास्थ्यजस्ता प्राथमिक क्षेत्रलाई कसरी अगाडि बढाउँछ त्यो हेर्न बाँकी छ । विशेषगरी शिक्षा र स्वास्थ्यको क्षेत्रमा ठूलो लगानी छ । यो लगानीले दिएको प्रतिफल भने झिनो देख्न सकिन्छ ।
अहिले राष्ट्रिय स्वतन्त्रता पार्टीबाट सुमना श्रेष्ठ शिक्षामन्त्री बनेकी छन् । उनले शैक्षिक पाठशालामा राजनीति प्रवेश गर्न नहुने भन्दै विभिन्न संगठनहरूको खारेजी को प्रस्ताव अगाडि बढाएकी छिन् । यो शिक्षा क्षेत्रको सुधारको पहिलो खुड्किलो हो । त्यसैगरी सरकारले शिक्षाको पहुँचको लागि ठूलो लगानी गरेको छ । सामुदायिक विद्यालयहरूमा पुस्तकालय, प्राविधिक शिक्षा, कम्प्युटर अध्ययन, विद्यार्थीलाई खाजाहरूको व्यवस्था लगायत विभिन्न सुविधा उपलब्ध गराउँदै आएको छ । सरकारले यति ठूलो लगानी गरेर विद्यार्थीलाई आधारभूत र माध्यमिक अध्यापन गराउँछ, तर उच्च शिक्ष को सन्दर्भमा भने उल्टै ठूलो लगानी लगाएर विद्यार्थीहरू अध्ययनका लागि विदेशिनुपर्ने बाध्यता छ ।
यसरी ठूलो लगानी गरेर उत्पादन भएका विद्यार्थीलाई नेपालमै केही गर्नका लागि उत्साहित बनाउने, अवसर सिर्जना गर्ने, उच्च शिक्षाका वातावरण बनाउने र रोजगारीको सुनिश्चितता गर्ने काममा भने सरकार चुकेको छ । शिक्षामा ठूलो लगानी गरेर दक्ष जनशक्ति निर्माण गर्ने र सेवा गर्ने बेलामा विदेश पठाउने जस्तो अवस्था देखिएको छ । यसरी ठूलो लगानी लगाएर अध्ययनका लागि अन्तत विदेश पठाउनुले शिक्षामा गरेको लगानी खेर गएकै अवस्था सिर्जना भएको हो ।
त्यसैगरी स्वास्थ्य मा गरिएको लगानी पनि भ्रष्ट र बिचौलियाले गर्दा प्रतिफलमूलक देखिन सकिएको छैन । अब शिक्षा क्षेत्रमा गरिएको लगान को प्रतिफलका लागि शिक्षित युवा जनशक्तिलाई नेपालमै उपभोग गर्न सकिने गरी त्यस्ता क्षेत्रमा पनि लगानी बढाउनुपर्ने देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी बाट मन्त्री बनेकी सुमना श्रेष्ठले शिक्षा सँगसँगै शिक्षित युवा जनशक्तिको उपभोग हुनेगरी के कस्ता अवसरहरू सिर्जना गर्न सक्छिन् र शिक्षामा गरिएको लगानी खेर जानबाट बचाउन सक्छिन त्यो भने अब हेर्न बाँकी छ ।