कांग्रेसको संस्थापन र इतरपक्षबीच घम्साघम्सी

राजनीति समाचार

नेकपा एमालेभित्र पनि झाँगिँदै छ गुटबन्दीे
काठमाडौं । राजनीतिक दलहरु असफल हुँदै गएपछि तिनका भ्रातृ संघ, संगठनहरु पनि असफल हुँदै गएका छन् । यतिबेला सत्तासाझेदार ठूलो दल नेपाली कांग्रेसको भ्रातृ तथा शुभेच्छुक संघ, संगठनहरु पनि चलायमान हुन सकेका छैनन् । चलायमान रहेका संगठनका केही विभागहरु पनि संस्थापनपक्ष र इतरपक्षबीचको लडाइँले कमजोर बन्दै गएका छन् । यो रोग नेपाली कांग्रेसमा मात्रै नभएर प्रतिपक्षी दल नेकपा एमाले र सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी (केन्द्र)मा पनि देखिएको छ ।

यतिबेला प्रतिपक्षी दल नेकपा एमालेभित्र लुम्बिनी प्रदेश अध्यक्ष पदको विषयलाई लिएर पार्टी नै विभाजित भएको जस्तो भान भएको देखिन्छ । लुम्बिनी प्रदेशमा कुनै बेला अध्यक्ष केपी शर्मा ओलीको दाहीने हात भनेर चिनिने विष्णु पौडेललाई वाइपास गरेर शंकर पोखरेल निकटलाई झिनो मतले निर्वाचित गरेपछि एमालेमा आन्तरिक लडाईँ सुशरु भएको छ । विष्णु पौडेललाई ओझेलमा पार्दै अध्यक्ष ओली र शंकर पोखरेल एक ठाउँमा उभिएका छन् ।

उता पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, विष्णु पौडेल, डोरमणि पौडेल, ईश्वर पोखरेल अर्को खेमामा देखिएका छन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सबै वामपन्थीहरुलाई एक ठाउँमा ल्याएर नेकपा एमालेलाई कम्युनिस्टहरुको मियोको रुपमा स्थापित गर्न खोजेको देखिन्छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको राजनीतिमा सक्रिय सहने आँकलन गरिँदै छ । तर, नेकपा एमालेका पार्टी अध्यक्ष केपी शार्मा ओली भने यो खेल सम्भव नहुने जिकिर गरिरहेका छन् । पार्टीभित्र यस्तो स्थिति सिर्जना भइरहँदा एमालेभित्र भावी अध्यक्ष को बन्ने भन्ने विषयमा अहिलेसम्म एकिन भइसकेको छैन ।

आगामी महाधिवशेनमा अध्यक्ष केपी शर्मा आफै दोहोरिन्छ अथवा अन्य कसैलाई अगाडि सार्छन् त्यो पनि एकिन छैन । एमाले पार्टीभित्र अहिले सुद्धिकरण अभियान चलाइए तापनि कार्यकर्ताले त्यसलाई खासै वास्ता गरेका छैनन् । अधिकांश एमाले कार्यकर्ताहरुले जति सदस्यता नविकरण गर्नुपर्ने थियो त्यो पनि गरेका छैनन् । उल्टै एमाले कार्यकर्ताहरु भन्न थालेका छन्, ‘हामीलाई एमाले पार्टी सदस्यता पनि नविरकण गर्नुपरेको छैन, आउने निर्वाचनमा भोट पनि कुन पार्टीलाई हालिन्छ त्यो पनि थाहा छैन’ भन्दै हिड्न थालेका छन् ।

एमालेका जिल्ला सम्पर्क मञ्च, इलाका सम्पर्क मञ्ज, प्रदेश सम्पर्क मञ्च, विद्यार्थी संगठन, किसान संगठन, बुद्धिजीवी संगठन, प्राध्यापक संगठन, पत्रकारहरुको संठन र जनवर्गीय संगठनहरु पनि चलायमान हुन सकेका छैनन् । पार्टीले यी संघ, संगठनहरु चलायमान बनाउने भनिरहँदा कार्यकर्ताले खासै ध्यान दिएका छैनन् । एमाले नेताहरुले पनि आफ्ना कार्यकर्ता कहाँ र कसरी काम गरिरहेका छन् त्यसको लेखाजोखा गरेका छैनन् । अधिकांश एमाले कार्यकर्ताहरु अहिले कोही लाखा र कोही पाखा लागेको देखिन्छ ।

एमालेभित्र पहिलाको जस्तो संघ संगठनहरु चुस्तदुरुस्त छैन । नेकपा एमाले फुटेपछि अधिकांश नेता, कार्यकर्ताहरु तितरवितर भएका छन् । एमालेबाट फुटेर एकीकृत समाजवादीमा गएका केही नेताहरु फेरि एमालेमै फर्किएको समाचार सञ्चारमाध्यममा आए तापनि फुटेर गएका मूल नेताहरु भने एकीकृत समाजवादीमै केन्द्रित रहेका छन् । केही ढुलमुले नेता, कार्यकर्ता मात्रै एमालेमा फर्किएका छन् । कहिले कता कहिले कता हुने अवसरवादी व्यक्तिहरुले नै नेपालका सबै पार्टीलाई धरासायी बनाउँदै गएका छन् ।

त्यो रोग नेकपा एमाले र एकीकृत समाजवादीमा पनि सर्दै गएको छ । जसले गर्दा राजनीतिक दिनप्रतिदिन बद्नाम बन्दै गएका छन् । नेकपा एमालेलाई यो अवस्थामा पु¥याउनेमा पूर्वमहासचिव माधवकुमार नेपाल र हालका पार्टी अध्यक्ष केपी शर्मा ओओली नै हुन् भन्ने भनाइ छ । एमालेप्रति नेता, कार्यकर्ता र जनताबीचमा ठूलो नैरास्यता छाएको छ ।

यदि नेकपा एमाले र फुटेर बनेको एकीकृत समाजवादी पार्टीबीच एकीकरण भएन भने आगामी ८४ सालको निर्वाचनमा दुवैको अस्तित्व समाप्त हुने आँकलन गरिँदै छ । उता, एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको असामयिक निधनले एमालेलाई ठूलो क्षति पु¥याएको छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *