तेजनारायण यादवको सम्पत्ति छानविन होला त ?

राजनीति समाचार

काठमाडौं । नेपालको कर्मचारीतन्त्रभित्र नामसँगै गुमनाम पनि हुने गरेका उदाहरणहरु थुप्रै छन् । कतिपय कर्मचारीहरु त अकुत सम्पत्ति कमाएर अख्तियारको कठघरामासमेत पर्ने गरेका छन् । केही इमानदारपूर्वक जागिर खाने कर्मचारीलाई भने बिहानबेलुको छाक टार्न पनि मुस्किल पर्ने गरेको छ । उनीहरुको घरघडेरी किन्ने योजना त सपना मात्रै हो । अहिले कर्मचारीतन्त्रभित्र ब्यापक चर्चाको विषय बनेका छन् तेजनारायण यादव । तर, यादवको नालीबेली भने छुट्टै छ ।

उनी त गाडी मात्रै दुई करोडको चढ्छन् रे ! हुन पनि यादव २०७२ सालमा उप–सचिवमा बढुवा भएर पोखरा यातायात कार्यालयमा कार्यरत रहँदा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बेचेको आरोप पनि लाग्दै आएको थियो । त्योसँगै मापासे गरी सरकारी गाडीमा सयर गर्दा एक बटुवालाई ठक्कर दिई घाइते बनाएर फरार भएको आरोप पनि उनीमाथि छ । त्यसपछि उनी सरुवा मात्रै भएनन्, बढुवा नै भएर केन्द्रीय यातायात कार्यालय काठमाडौंमा आए । काठमाडौंमा आएपछि दुई सय पचासभन्दा बढी हेबी गाडीको लाइसेन्स अवैध रुपमा वितरण गरेको आरोप यादवमाथि थियो ।

उनले त्यतिबेला प्रतिहेबी गाडी बरार ५० हजारका दरले घुस असुलेको बताइन्छ । यसरी अवैध तरिकाले लाइसेन्स वितरण गरेपछि उनीविरुद्ध अख्तियारमा उजुरीसमेत परेको थियो । यादवमाथि २०७५ साल असोज २३ गते अख्तियारमा उजुरी परेको बताइन्छ । सो उजुरी अख्तियारमा परेपछि उनी निलम्वित भएका थिए । अख्तियारका कर्मचारी र न्यायाधीशहरुलाई घुस दिएर २०७७ फागुन १७ गते यादवले सफाइ पाएको बताइन्छ । अख्तियार र न्यायालयबाट सफाइ पाएपछि उनी फेरि बुटवल यातायात कार्यालयमा सरुवा हुन सफल भएका थिए । यादव बुटवल यातायात कार्यालयमा रहँँदा राजनीतिक दलका कार्यकर्तालाई करारमा जागिर खुवाएबापत ती करारमा जागिर खाने कर्मचारीको एक महिना बराबरको तलब पनि खाइदिएका थिए ।

तत्कालीन लुम्बिनी प्रदेशका सचिव थिए, कुमार दाहाल । उक्त कुरा सचिव दाहालले थाहा पाएपछि यादवलाई कारबाहीको लागि सिफारिस गर्दा पनि कारबाही हुनबाट जोगाइएको थियो । यादवले अवैध तरिकाबाट अकुत सम्पत्ति आर्जन गरेको आरोप लागिरहँदा जागिर खाने क्रमसँगै लोकसेवा पढाउने काम पनि गरेको र लोकसेवाको किताब बेचेर कमाएको भन्ने गरेका छन् । यादव पथलैया आन्तरिक राजश्व कार्यालयमा बस्दा पनि चोरी तस्करी गर्ने विभिन्न व्यापारी र सशस्त्र प्रहरीसँग मिलेर राजश्व छली गरी ल्याइएका सामान काठमाडौं छिराउने काम गरेर अकुत पैसा कमाएको भनाइ छ ।

यादवको यस्तो हालीमुहाली देखेर अन्य कर्मचारीहरु नै तीनछक पर्ने गरेका छन् । तिनै यादव हाल प्रधानमन्त्री मातहतको कार्यालयमा रहेको बताइन्छ । सरकारले भ्रष्टाचार अन्त्य गर्ने भनिरहँदा प्रधानमन्त्री कार्यालयमै विभिन्न भ्रष्टाचारका काण्डमा मुछिएका व्यक्तिहरु कार्यरत रहँदा त्यसले कत्तिको सार्थकता पाउने हो एकिन छैन । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *