कांग्रेसकै कारण वीवीको समाजवाद समाप्त हुँदै

राजनीति समाचार

रामचन्द्र बस्नेत
काठमाडौं । अहिले नेपाली कांग्रेसभित्र संस्थापन र इतरपक्षबीच घम्साघम्सी चल्दै आएको छ । यो घम्साघम्सी कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रो कार्यकालको लागि सभापति निर्वाचित भएदेखि नै झाँगिँदै आएको हो । हुन त कांग्रेसभित्र संस्थापन र इतरपक्षबीचको लडाईँ विगत लामो समयदेखि हुँदै आउने गरेको थियो । कांग्रेसमा स्व. गिरिजाप्रसाद कोइराला सभापति हुँदा शेरबहादुृर र गिरिजापक्षबीच लडार्इँ हुने गर्दथ्यो ।

अहिले शेरबहादुर देउवा सभापति भएपछि उनै गिरिजाप्रसादको सिको सिकेर देउवापक्ष र गिरिजाकै भतिजा शेखर कोइरालाबीच लडाईंँ हुदै आएको छ । यसको उदाहरण नेपाली कांग्रेसले अयोजना गरेको वीपी साहित्य सम्मान कार्यक्रम पनि संस्थापनपक्ष र इतरपक्षले छुट्टाछुट्टै आयोजना गरेर आ–आफ्ना गुटका नेता, कार्यकर्ता जम्मा पारेर मनाएका छन् । एउटै पार्टीभित्र संस्थापनपक्ष र इतरपक्षबीच भएको यस्तो लडाईँले दुई गुटबीच सिद्धान्त नै फरक भएको जस्तो भान आमकार्यकर्तादेखि सर्वसाधारणलाई पर्न थालेको छ ।

कांग्रेसभित्रको पछिल्लो आन्तरिक लडाईँले लोकतान्त्रिक गणतन्त्र नै खतरामा पर्ने देखिन्छ । यतिबेला कांग्रेसभित्र संस्थापनपक्षले आफ्नो दम्भ नछोड्ने इतरपक्षले त्यसलाई नमान्ने भएपछि कांग्रेसभित्र झन् किचलो बढ्दै गएको देखिन्छ । सत्तासाझेदारको ठूलो दल कांग्रेसकै कारण सरकारमा पनि खटपट देखिएको छ । यतिबेला कांग्रेस सभापति शेरबहादुर देउवालाई पत्नी आरजु राणा देउवालाई भ्रष्टाचार काण्डबाट जोगाउन धौ–धौ परिरहेको छ ।

ढिलोचाँडो देउवा पत्नी आरजु राणा पनि भ्रष्टाचार काण्डमा नराम्रोसँग फस्ने सम्भावना देखिन्छ । गठनबन्धन सरकारले भ्रष्टाचार निर्मूल पार्नेदेखि अन्य सकारात्मक काम गर्न खोज्दा सत्तासाझेदार ठूलो दल कांग्रेस नै त्यसको विरोधमा उत्रिएपछि अहिले सबैतिर आशंका फैलिएको छ । त्यसो हुनुमा लोकतन्त्रको हिमायती नेपाली कांग्रेसजस्तो पार्टी जनताको लागि घाँडो भएको देखिन्छ । नेपालमा अधिकांश भ्रष्टाचार, अनियमितता र कुसाशन नेपाली कांग्रेसकै सरकारको पालामा भएका छन् ।

किन भने नेपाली कांग्रेस सत्तामा भएकै बेला जनकपुर चुरोट कारखाना, बाँसबारी छालाजुत्ता कारखाना, हरिसिद्धि इँटाटाइल कारखाना, ट्रलिबस बस सेवा, साझा यातायात, हेटौंडा कपडा उद्योग, सरकारी मातहतमा रहेका विभिन्न चिनी उद्योगहरु, विराटनगर जुटमिल कारखाना, बालाजु औद्योगिक क्षेत्र र नेशनल ट्रेडिङ्ग लिमिटेडलगायत विभिन्न उद्योगहरु बन्द अथवा निजीकरण गरिएको थियो ।

त्यसको असर अहिले नेपाली जनताले सामहना गरिराखेका छन् । यी र यस्तै कारणले गर्दा विश्वेश्वरप्रसाद कोइरालाले परिकल्पना गरेको समाजवादलाई अहिले आएर कांग्रेस भनाउँदाहरुले सिध्याउने काम गरेका छन् । यस्ता कामबाट कांग्रेस अझै नसुध्रिने हो भने उसको भविष्य अन्धकार हुने देखिन्छ । त्यसैले अबका दिनमा कांग्रेसले नेपालमा भविष्य खोज्ने हो भने विगतका कमीकमजोरीहरुलाई सच्याएर अगाडि बढ्न आवश्यक छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *