मोहन बस्नेत, नगर प्रमुख,दक्षिणकाली नगरपालिका
जनताको काममा निरन्तर लाग्ने नेता हुन् दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेत । काठमाडौंको फर्पिङमा जन्मिएका उनी दक्षिणकाली नगरपालिकाका नगर प्रमुख पनि हुन् । बस्नेत सधैं नगरवासीको समस्याप्रति आवाज बुलन्द गर्ने इमानदार नेता र स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । उनी जनप्रतिनिधिले राजनीतिभन्दा माथि उठेर नागरिकको समस्या समाधानका लागि समान रुपले लाग्नुपर्ने ठान्दछन् । प्रसिद्ध धार्मिक स्थल दक्षिणकाली मन्दिरमा वर्षेनी हजारौँ धार्मिक पर्यटक भित्रिन्छन् । ’भौगोलिक विषमताको कारण अन्य स्थानीय तहजस्तो विकास गर्न सकिएको छैन,’ नगर प्रमुख मोहन बस्नेत भन्छन् । उनै बस्नेतसँग विभिन्न सेरोफेरोमा तामाकोशी सन्देश साप्ताहिकको प्रतिनिधिले गरेको कुराकानीको अंशः
० तपाईं दक्षिणकाली नगरपालिकाको दोहोरिएर मेयर हुनुभएको छ पछिल्लो समय के कस्ता काम गर्नुभयो ?
मेरो यो दोस्रो कार्याकाल हो । हिजो चुनावका बेला बाँडिएका सपनाहरुलाई डीपीआरको रुपमा बनाएर विकास निर्माणका काम सबै वडाहरुमा गर्दैछौं । त्यसरी काम गर्ने क्रममा दक्षिणकाली नगरपालिकाको पहिचान भनेको पर्यटन नै हो । धार्मिक पर्यटनदेखि विभिन्न सांस्कृतिक धरोहर भएका कारणले पर्यटन प्रर्वद्धनबाटै नै हाम्रो नगरमा आर्थिक समृद्धि हुन सक्छ भन्ने हाम्रो ठम्याइ हो । कति काम सम्पन्न भयो भन्दा धेरै काम सम्पन्न भइसकेको छ । नगरपालिका भित्र शिक्षाको क्षेत्रमा र जेष्ठ नागरिकको हितमा काम गरेको छौँ । सबै विद्यालयको सुविधा सम्पन्न भवनको निर्माण गरेका छौँ । शिक्षाका लागि काठमाडौँ पुग्न नपर्ने स्थिति सृजना गर्दैछौँ ।
विद्यालयको भवनसँगै विद्यार्थीको पठनपाठनको गुणस्तरमा विषेश ध्यान दिएका छौँ । हरेक वर्षको दशै चाँड भन्दा एक महिना अगाडी जेष्ठ नागरिकलाई एकजोर लुगा, महिनाको एकपटक हरेक घरमा स्वाथ्यकर्मी पठाउँछौँ । जेष्ठ नागरिक सहित अपाङ्गता भएकाहरुलाई स्वयंसेवीका पठाएर घरमै उपचारको सेवाको व्यवस्था गरेका छौँ । त्यति मात्र नभएर उहाँहरुलाई सिकिस्त बिरामी अबस्थामा स्यमंसेवकहरुले अस्पतालसम्म पुर्याउने वातावरण बनाएका छौँ । विकास निर्माणको सवालमा दक्षिणकाली नगरपालिका धार्मिक पर्यटक क्षेत्र भएको कारण पर्यटक भित्र्याउनको लागि धार्मिक स्थलहरुमा डिपिआर तयार गरेर काम अगाडी बढाएका छौँ । यो डिपिआर मार्फत दक्षिणकाली सँगै अरु धेरै मन्दिरहरु रहेका छन् ।
सबै धार्मिक मठमन्दिरहरुको डिपिआर तयार गरेर धार्मिक पर्यटकहरु भित्र्याउनको लागि आवश्यक पार्कहरु पनि निर्माण गर्ने योजना बनाएको छौँ । वडा १ को चम्पादेवी मन्दिरको सिडीको डिपिआर तयार गरेर मन्दिरसम्मको कामको लागि तयार गर्दैछौँ । हात्तीवनको माथिल्लो भागमा पार्क बनाउनको लागि डिपिआर तयार गरिसकेका छौँ । पानासु सँगै जातिपोखरीको पनि डिपिआरको थालनी गरिसकेका छौँ । सांस्कृतिक सहरको रुपमा रहेको फर्पिङ बजारलाई पुरानै शैलीमा लैजान भनेर डिपिआरको रिर्पोट बुझ्ने क्रममा छौ । प्राचिन सिख्रापुर नगरपालिकामा तेत्तिसकोटी देवीदेवताको मठमन्दिर लगायतमा डिपिआर मार्फत काम अगाडी बढाएर धार्मिक स्थलको नगरको रुपमा विकास गर्ने योजना रहेको छ ।
० तपाइले धेरै काम गरेँ भनेर भन्नु भयो तर, त्यसको अनुभूति जनताले गरेका छन् कि छैनन्?
पहिलो कुरा त हाम्रो प्रयासमा दक्षिणकाली नगरपालिका बन्न सफल भएको छ । त्यो सबै नगरवासीलाई जगजाहेर छ । त्यसमा राजनीतिकर्मी, सामाजिक अभियान्तादेखि सबै नगरवासी खुसी छौं । हिजो गाविसमा सीमित दक्षिणकाली नगरपालिका बन्न सफल भएको छ । त्यसमा संघीय र प्रदेश सरकारले पठाएको बजेटले हामीले नगरवासीसँग गरिएको जुन–जुन वाचा छ । त्यसलाई परिपूर्ति गर्ने काममा अगाडि बढिरहेका छौं । हामी महानगरसँग जोडिएका नगरपालिका भए तापनि महानगरले दशौं अर्ब खर्च गरिरहँदा हामी ८०, ८५ करोडको सीमिति बजेटबाट हामी काम गरिरहेका छौं । हाम्रो नगरपालिकामा एउटा वडाबाट अर्को वडामा जाँदा ३ घण्टासम्म लाग्ने भौगोलिक अवस्था छ । त्यो भूगोलमा शिक्षा, स्वास्थ्य, खानेपानी र कृषि क्षेत्रलाई राम्रोसँग विकास गर्ने हो भने एउटै वडामा अर्बौं रुपैयाँ खर्च हुने देखिन्छ । त्यति हुँदाहुँदै पनि किसान, महिला, बालिका, बृद्धबृद्धा र विद्यार्थीहरु निरास नहुने गरी काम गर्न हामी धेरै कठिन छ । त्यसलाई कठिन रुपमा नलिएर सहजीकरण गर्दै प्रत्येक वडामा पक्की नभएपनि कच्ची बाटो घरदैलोमा प¥याउन सफल भएका छौं ।
० यायाताको सुविधा कत्तिको मजबुद बनाउनुभएको छ ?
यातायातको कुरा गर्नुपर्दा हामी हिजो नगर प्रमुख उठिरहँदा “काठमाडौंबाट दक्षिणकाली जानुप¥यो भन्दा बाटो अप्ठ्योरो यहाँबाट २, ३ घण्टा लाग्छ पछि जाउँला” भन्ने अवस्था थियो । अहिले तपाईंहरु दक्षिणकाली आउनुभयो भने काठमाडौंबाट हिँडेको एक घण्टाभित्र मन्दिरमा दर्शन गरेर फेरि काठमाडौं पुग्ने बनाइएको छ । यसरी काठमाडौं–दक्षिणकालीको सकडलाई चुस्तदुरुस्त बनाइएको छ । नगरपालिकाको पैसाले त्यो बाटो बन्ने त कल्पनै गर्न सकिँदैन ।
सोभैंm भौतिक तथा पूर्वाधार मन्त्रालयसँग हामीले आग्रह गरेर यो सडक फराकिलो र कालोपत्र गर्ने काम भएको छ । अहिले प्रदेश सरकारको राजधानी जाने बाटो पनि यहीबाट भएकाले दक्षिणकालीलाई महत्वका साथ हेरिएको छ । काठमाडौं–दक्षिणकाली, छैमले हुँदै मकवानपुर जाने । काठमाडौं– भुवानी भञ्ज्याङ्ग हुँदै मकवानपुर पुग्ने दुवै बाटो सुचारु गर्न यथेष्ट प्रयास भइरहेको छ । यी सडक कालोपत्रे गराउन प्रदेश सरकारले तयारी गरिसकेको छ । यसरी मुख्य सडकसँगै वर्षामा बिग्रिए, भत्किएका भित्री सकडहरु मर्मत सम्हार गरी किसानका कृषि उत्पादनहरुलाई समयमै बजारसम्म पु¥याउनका लागि व्यवस्था गरिएको छ ।
० पर्यटकीय सम्भावना बोकेको दक्षिणकाली नगरपालिकामा पर्यटन विकासको लागि के कस्ता योजनाहरु अघि सार्नु भएको छ ?
काठमाडौँ उपत्यकाबाट करिब सोह् देखि अठार किलो मिटरमा आउँदा एकदमै पवित्र स्थल दक्षिणकाली माताको मन्दिर अवस्थित छ । किंवदन्ती अनुसार यहाँ तेतिसकोटी देवि देवताको मन्दिर छ भन्ने गरिन्छ र त्यस भित्रको पनि लोकप्रिय मन्दिर दक्षिणकाली, गोपालेश्वर , शेषनारायण, गोरखनाथ,वज्रयोगीनी देखि अन्य लोकप्रिय मन्दिरहरु भएको यो ठाँउ हो ।काठमाडौँमा उकुसमुकुस हँुदा मनको आनन्दका लागि पनि उपयुक्त ठाँउ रहेको छ । यतिमात्रै नभएर हाम्रो भूगोल यस्तो भूगोल छ कि चम्पादेवीको माथि टुप्पामा पुग्यो भने काठमाडौंका तिनै शहर काठमाडौँ, भक्तपुर, ललितपुर लगायत किर्तिपुर पनि राम्रोसँग नियाल्न सकिन्छ । यो भूमि निकै पवित्र छ ।
अहिलेको अवस्थामा आन्तरिक र वाह्य पर्यटकहरुले त्यो दृश्य अवलोकन गर्नको लागि हामी पदयात्राको पनि कार्यक्रम गर्दैछौं । यसरी यी धार्मिक र अन्य पर्यटकहरुलाई नगरक्षेत्रमा ल्याउन सकेमा आर्थिक समृद्धिको बाटो यो हो भनी ठम्याएका छौं । दक्षिणकाली नगरपालिका आफैमा धार्मिक क्षेत्र रहेकाले यहाँ आउने आन्तरिक र वाह्य पर्यटकलाई बसोबास देखि सरसफाइमा कस्तो व्यवस्था रहेको छ ? यथेष्ट त हामीले ग–यौं भनेर भन्न सकेको त छैन ।सरसफाईका हिसाबमा हामी सचेत भएर अघि बढिरहेका छौं । दैनिक रुपमा सरसफाइ गर्ने गराउने गरेका छौँ । बसोबासका लगी सुविधाजनक होटल खोल्न सकेका छैनौ । भविष्यमा वास बस्न आउने भक्तजनको लागि बस्ने व्यवस्था मिलाउने योजना गरेका छौं ।
० यो आर्थिक बर्षमा के कस्ता योजनाहरु प्राथमिकतामा राख्नु भएको छ ?
पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि र यातायात पहिलो प्राथमिकतामा पर्नेछन् । हाम्रो जनजीविकालाई र ‘कष्ट अफ लिभिङ’लाई कसरी सस्तो बनाउन सकिन्छ त्यसमा हाम्रो ध्यान जान्छ । बाँच्नका लागि भान्छालाई कसरी सस्तो बनाउन सकिन्छ, त्यसमा हामीले विशेष ध्यान दिएर कार्यक्रम बनाउँदैछौं ।
० नगरपालिकाले संघ र प्रदेश सरकारसँग के कसरी सहकार्य गरिरहेको छ ?
हामी सङ्घ, प्रदेश र नजिकका पालिका सबैसँग राम्रोसँग सहकार्य गछौँ । विगतमा केन्द्रको बजेटमा के सम्बोधन गरेको छ, त्यसलाई एक एक गरेर हेर्छौ । तीनवटै सरकारबीच एकापसमा कोअर्डिनेस र कोअपरेशन गरेर अघि बढ्छौँ । हामीमात्र होइन वरपरका नगरपालिका र गाउँपालिकासँग पनि हामी राम्रो सहकार्य गर्छौ । सबै नागरिक कुनै न कुनै आर्थिक उपार्जनमा लागेका हुन्, स्वरोजगारमा रहुन् वा रोजगारी प्राप्त गरुन् भन्ने हो । हामी छिट्टै सार्वजनिक सूचना जारी गरेर बेरोजगारीको तथ्याङ्क सङ्कलन गरेर उनीहरुलाई नगरमा सूचीकरण गछौँ । उनीहरुको शैक्षिक योग्यता, रुचि, क्षमताअनुसार निवेदन दिनुहोस् भनेर सबैलाई आह्वान गछौँ र रोजगारी दिन्छौँ । बेरोजगारलाई नगरपालिकाले आफ्नै काममा र निजी क्षेत्रमा लगाउँछौँ । उहाँहरुलाई पनि हामी आह्वान गरेर विस्तारै बेरोजगारलाई रोजगारी दिने योजनामा छौँ ।
० चुनावी घोषणापत्रमा उल्लेख भएका तपाईंका पाँच प्रमुख प्राथमिकता के–के थिए ?
चुनावी घोषणापत्रको आधारमा भन्दा पनि जनताको आकांक्षाअनुसार काम भइरहेको छ । जनप्रतिनिधि भएपछि जनताप्रति उत्तरदायित्व हुनुपर्छ भन्ने लाग्छ । जनप्रतिनिधि भन्दा पनि जुनसुकै बखतमा एउटा जनशक्ति जस्तो भएर काम गरिरहेको छु । मैले जे गर्नुपर्ने हो त्यो इमानदारीको साथ पालना गरेको छु ।
० अबको योजना के रहेको छ ?
धेरै योजना बनाइएता पनि त्यस किसिमले काम गरेर सावित गर्न कठिन भएको छ । केबल कार, ठुलठुला पार्कको काम जुन सार्वजनिक गरिसकेका छौँ त्यो काम त अवश्य पुरा गछौँ । हामी उत्साहित भएर शिक्षाको क्षेत्रमा बजेट लगानी गरिरहेका छौँ । हामीले सबै विद्यालयलाई सक्षम बनाउनका लागि धेरै बजेट शिक्षामा लगानी गरेका छौं । गुणस्तरीय शिक्षा दिन सक्यौ भने मात्र लगानीको सहि उपयोग हुन्छ । हामीले २० वटा सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरेर हस्तान्तरण गरिसकेका छौ । शिक्षाका लागि ठुलो लगानीमा भवन निर्माण हुँदै गरेको छ । सबै वडामा यातायात पुर्याउन र विद्यालय, अस्पताल जानको लागि, कृषि व्यवसाय गर्नको लागि बाटो आवश्यक रहेको अनुभुति गरेर प्रत्येक वडाको मुख्य बाटोमा कालो पत्रे गर्नको लागि कोसिस भइरहेको छ । नगरवासी युवाहरु उद्योगको क्षेत्र नभएको कारण विदेशसम्म जाने विषयलाई ध्यानमा राखेर नगर क्षेत्र भित्र उद्योग स्थापना गर्ने विषयमा नगरपालिकाले आफ्नै लगानी गरेर टेलिभिजन कार्यक्रम मार्फत दक्षिणकाली नगरपालिकामा उद्योग गर्नको लागि सहयोग सहित निमन्त्रणा गरेको छौँ ।
० पछिल्लो समय स्थानिय तहमा अनियमितता बढेको सुनिन्छ नि ? दक्षिणकाली नगरपालिको परिस्थिति के छ ?
हामीले दक्षिणकाली नगरपालिकालाई खुला किताबको रुपमा प्रस्तुत गरेको छौँ । हामी जनप्रतिनिधिहरु स्थानिय तहलाई सकेसम्म राम्रो बनाउने उदेश्यले लागेका छौँ । केन्द्रमा हुने कामहरु स्थानिय तहले गर्छ कि गर्दैन भनेर जनताको प्रश्न हुनसक्छ । हामी जनप्रतिनिधिहरु जनतालाई निष्पक्ष सेवाको भाव राखेर अगाडी बढ्नुको साथै लोभ लालच राख्न हुदैन भनेर निर्देशन दिएको छौँ । काम गर्न दिइएको समयलाई राम्रोसँग उपयोग गर्न सकिएन भने हामीलाई मत दिएर जिताउने मतदाता मात्र नभएर अन्य नागरिकले पनि हाम्रो कामलाई नियाल्नु भएको हुन्छ । यो कार्यभार सम्हाल्दै गर्दा सबैको नजरमा नगरिकन काम सम्पन्न गर्ने उदेश्य हाम्रो मात्र नभएर सिङ्गो नेपाल सरकारको रहेको छ । त्यसकारण हामी जनप्रतिनिधिहरुले अनियमितता नभएको जनताले आफै महसुस गर्नसक्ने वातावरण बनाउनु पर्छ ।देशभरी चर्चाको विषय भएको समयमा, सबै स्थानिय तहमा अनियमितता नभएको भनेको होइन तर दक्षिणकाली नगरपालिकामा भने स्पष्ट र खुल्ला रहेको मेलै अनुभव गरेको छु ।
० नागरिक भएर प्रश्न गर्न र सोच्न सजिलो थियो । आफैँ जिम्मेवारी तहमा पुग्नु भएको छ । तपाइको अनुभव कस्तो रहयो ?
हामी पनि नागरिक हौँ । तर पद पाएर फरक काम गर्ने अधिकार पाएको छु । जनताको चाहना पूरा गर्न के– के साधनस्रोत अभावले गर्दा कहिलेकाही पीडा हुन्छ । छिटो गर्न पाएमा सबैजना खुसी हुन्छन् तर, त्यस्तो पनि सम्भव छैन । सिंगो नगर खुसी हुन्छन् भन्ने लाग्छ । उहाँहरूलाई केही कुरा बुझाउ भन्ने लाग्छ । स्थानीयहरू एक लाख माग्न आएकाहरूलाई हाम्रो भाषामा २० देखि ४० हजार दिनुपर्ने हुन्छ । नगरपालिका भएर पनि अन्य नगरपालिका जस्तो गरेर खर्च गर्न सकिएको छैन । त्यो भनेको रकम अभाव नै हो ।(तामाकोशीसन्देशबाट)