ईश्वरीप्रसाद शर्मा, प्रमुख प्रशासकीय अधिकृत, नमोबुद्ध नगरपालिका
०५९ सालमा अधिकृत तहबाट निजामती सेवामा प्रवेश गरेका हुन् ईश्वरीप्रसाद शर्माले । ०७१ सालमा उपसचिवमा नाम निकाले । उनको विभिन्न मन्त्रालयहरुमा अनुभव छ । नमोबुद्ध नगरपालिका उनको चौथों नगरपालिका हो । उनै प्रमुख प्रशासकीय अधिकृत शर्मासँग नगरपालिकाको विभिन्न सेरोफेरोमा तामाकोशी सन्देश साप्ताहिकको प्रतिनिधिले गरेको कुराकानीको अंशः
० यो बर्ष मुख्य के के योजना अघि सार्नुभएको छ ?
हरेक वर्ष झै विकासका निर्माणका कार्यहरुलाई निरन्तरता दिँदै शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सरसफाईलाई विशेष प्राथमिकतामा राखेका छौ । सुलभ र सहज तरीकाबाट नगरबासीलाई स्वास्थ्य क्षेत्रमा पहुँच पुर्याउने योजना बनाएका छौं । कृषिमा आत्मनिर्भर गरी व्यवसायिक तरिकाले समेत आय आर्जन गर्न सकिने बनाउन डिप बोरिङ संचालन क्रमश वृद्धि गर्दै लैजाने, कुलो, नहरको निर्माण गर्ने, कृषिमा अनुदानका प्याकेज सार्वजनिक गर्ने । मल, विऊ, कृषि औजार, प्राविधिक सहयोग गरी उत्पादनलाई बृद्धि गर्ने ।
प्रत्येक टोल टोलबाट वडासम्म तरकारी संकलन केन्द्रमा कृषि उपज बस्तुहरु संकलन गरेको कृषि उपज बालिहरुलाई नगरकोे संकलन केन्द्र सम्म ल्याई व्यवस्थित तरिकाले नगरको आफ्नै ब्राण्ड निर्माण गरी वजारीकरणको व्यवस्था समेत मिलाउने कार्यलाई उच्च प्राथमिकतामा राखी नगर कृषि एम्बुलेन्स समेत सञ्चालनको व्यवस्था गर्ने योजना निर्माण भैसकेको छ । प्रत्येक वडामा वडा कार्यलय भवन, प्रत्येक वडामा स्वास्थ्य संस्थाको आफ्नै भवन निर्माण गर्ने, वडा कार्यालय देखि नगरपालिका भवन सम्म पक्की सडक, प्रत्येक स्वास्थ्य संस्थाबाट वडा कार्यलय सम्म पक्की सडक निर्माण सम्पन्न गर्ने योजना रहेको छ । नगरबाट तथा वडा बाट हुने जनताका हरेका सेवालाई सुलभ तथा सरल तरीका मार्फत कार्य सम्पन्न गर्न लेस पेपर सिस्टम बनाउने । नगर र वडा बाट जनतालाई दिनु पर्ने सेवा लाई डिजिटलाईज गरी कार्य गर्ने मुख्य योजनाहरु रहेका छन् ।
० आवद्यिक नगर विकास योजना निर्माणमा के कस्ता खाका समावेश गरिएको छ ?
योजनावद्ध विकास गर्न नमोबुद्ध नगरपालिकाले आवद्यिक नगर विकास योजना निर्माण गरेको छ। ‘कृषि, व्यापार र पर्यटन ः हाम्रो शसक्त अभियान’ भन्ने नारा बोकेको नगरपालिकाले ५ वर्षको विकासको योजना निर्माण गरेको छ । जनताको आवस्यकता पहिचान पहिले नै गरेर त्यसकोे आधारमा विकास गर्ने हाम्रो योजना हो । आवद्यिक नगर विकास योजनामा नगरको वस्तुस्थिती विश्लेषणसहित हालसम्मको विकासको समिक्षा, दीर्घकालिन सोच तथा लक्ष्य तथा समष्टिगत आर्थिक खाका समावेश गरिएको छ । उद्देश्य, रणनीति, स्रोतको व्यवस्थापन, सरोकारवालाको भुमिका, स्रोत साधनको बाँडफाँड र परिचालनका आधारहरु समावेश गरिएको छ । वडागत आयोजना बैंक तयार गरिनुका साथै विषयक्षेत्रगत आयोजनाहरुको लागत अनुमान समेत गरिएको छ । योजना निर्माण गर्नु नै आधा काम भएको मानिने भन्दै आगामी योजना र बजेट आवद्यिक योजनाका आधारमा निर्माण हुने छ । आवद्यिक योजना निर्माण गरेर मात्रै काम गर्नुपर्ने कानूनमा स्पष्ट उल्लेख भएकाले नगरले पहिलो पटक पञ्चवर्षीय योजना निर्माण गरेको छ ।
० एक मुख्य प्रशासनिक अधिकारीको रूपमा कार्यरत हुनुहुन्छ, अहिले प्रशासकीय अधिकारीको रूपमा काम गर्दा कस्ता चुनौती छन् ?
प्रमुख प्रशासकीय अधिकृत संघीय सरकारको प्रतिनिधिको रूपमा रहने व्यवस्था छ र गाउँसभाको सचिवको रूपमा काम गर्ने कानुनी प्रावधान पनि छ । प्रमुख प्रशासकीय अधिकृतले कार्यपालिका र कर्मचारीहरूको तर्फबाट एउटा माध्यमको रूपमा काम गर्नुपर्ने हुँदा केही चुनौतीहरू हुन्छन् । निजामती सेवा ऐन नियमले कार्यसम्पादन निर्धारित गरेको हुन्छ । थप स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रमुख प्रशासकीय अधिकृतको काम, कर्तव्य र अधिकार स्पष्ट पारेको हुन्छ । त्यसैभित्र रहेर काम कर्तव्य र कार्य सम्पादन गर्ने गर्छौं । अर्को कुरा, जनप्रतिनिधिमूलक संस्थामा काम गर्ने कर्मचारीहरूलाई स्वाभाविक रूपमा चुनौती हुन्छ । हाम्रा निर्देशन मार्ग भनेको संविधान, ऐन नियम कार्यविधि, मापदण्ड निर्देशिकाहरू नै हुन् । तीअन्तर्गत नै हामीले कार्य सम्पादन गर्ने हो । कतिपय संघीय कानुनलाई आधार बनाएर कार्यान्वयन गरेर राखेको छौं भने कतिपय त्यसप्रति भित्र रहेर स्थानीय कार्यान्वयनमा सहज हुनको लागि स्थायी कानुन बनाएर पनि अगाडि बढेको अवस्था छ । जनअपेक्षा, चाहना, सेवा तथा सिफारिसका कुराहरूमा दुविधा हुन सक्ने भएकोले गम्भीर भएर काम गर्नुपर्ने हुन्छ । वडागत तहबाटै सामूहिक सुनुवाइ गर्ने, स्वतन्त्र व्यक्तिबाट सबै तह र तप्काका व्यक्तिहरूको अभिमत बुझेर प्रतिक्रियागत काम गर्ने गरिन्छ ।
० आन्तरिक स्रोत कस्तो छ ? प्रदेश तथा संघीय सरकारसँग कसरी समन्वय गरिरहनु भएको छ ?
केही योजना क्रमागत भए पनि संघ तथा प्रदेशबाट बजेट कम आएकाले समयमै पूरा हुन सकेका छैनन् । आन्तरिक स्रोत त्यति धेरै छैन । नागरिकका अपेक्षा धेरै छन् । पर्यटन क्षेत्रको विकास गर्दै आन्तरिक उत्पादनलाई ध्यान दिएका छौं । शिक्षा, स्वास्थ्य, कृषितर्फ विशेष योजना बनाएका छौं । प्रदेश र संघबाट चाहे जसरी सहयोग पाएका छैनौं । दोहोरो करको नीतिलाई अन्त्य गर्दै करको दायरा बढाएका छौं । बजेट अभावमा केही महत्वपूर्ण योजना पनि अगाडि सार्न सकेका छैनौं । प्रदेश र संघबाट हामीले अपेक्षा गरेअनुसारका योजना पाएका छैनौं । यसबाट समस्या परेको छ ।
० नगरबासीले तपाईंको कामलाई कसरी मूल्यांकन गरेका छन् ?
हाम्रो काम गराइप्रति नगरबासीले सद्भाव दिनुभएको छ, जुन खुसीलाग्दो कुरा हो । तर, आलोचनात्मक कुरा हामी बढी लिने गर्दछौँ । नगरबासीको स्वच्छ आलोचनालाई प्रेरणाको स्रोतको रूपमा लिन्छौँ । राम्रो पालिका, सबैको पालिकाका रूपमा हामीले नीति बनाएर नमोबुद्धको विकासमा अघि बढेका छौँ ।
० नगरपालिकाले के कस्ता काम गरिरहेको छ ?
नगरपालिकालाई ५, १० र १५ वर्षभित्र कस्तो बनाउने भन्ने परिकल्पना बनेको छ । हामीले अद्यावधिक योजना, भावी योजनाको दस्तावेज बनाएका छौँ । हामी आउनुअघि विकास भएका थिए । त्यही विकासलाई दिगो बनाउने, अद्यावधिक गर्ने काम गरेका छौँ । सिँचाइ, लिफ्टिङको काम भएका छन् । अन्तरपालिका योजना बनाएर काम गरिरहेका छौँ । जिम्मेवारी दिएका काम गरेका छौँ । बेथिति र समृद्धिलाई समायोजन गर्दै अघि बढेका छौँ ।
० प्रशासनिक कार्य चुस्त र दुरुस्त हुन सकेन भनेर सेवाग्राहीबाट गुनासो सुन्न पाइन्छ, के कारण होला र सुधार गर्नका लागि के कस्तो पहल हुन आवश्यक छ ?
पहिलो कुरा त नेपाल सरकारले गठन गरेका आयोगहरूको प्रतिवेदनको कार्यान्वयन हुँदैन । संघ, प्रदेश र स्थानीय तहमा एउटै सेवा शर्तमा प्रवेश गरेका कर्मचारीहरूको वृद्धि विकास र सेवासुविधा तल्लो तहको कर्मचारीमाथि विभेद गरेको पनि देखिन्छ । कर्मचारीलाई शासकको रूपमा नभएर सेवकको रूपमा काम गराउने वातावरण हुनुप¥यो । नागरिक प्रशासनको रूपमा परिवर्तन गर्नका लागि धेरै ठूलो सुधारको आवश्यक रहेको छ । यस किसिमको सुधारको लागि प्रतिवेदन, आयोगहरू, सुझावहरू सकेसम्म कार्यान्वयनको पक्षमा जोड दिनुपर्ने देखिन्छ । साथै निजामती ट्रेड युनियनहरूका नेताहरूले पनि ऐन जारी गराउने प्रभावकारी भूमिका निर्वाह गरिदिनु प¥यो ।
० बेरोजगार युवायुवतीलाई कसरी रोजगार सिर्जना गर्दै हुनुहुन्छ ?
बेरोजगारको समस्या एकै पटक समाधान हुने विषय हैन तैपनि हामीले बेरोजगार रहेका युवायुवतिको तथ्यांक संकलन गरेका छौं जसमध्ये दक्ष, अर्धदक्ष, तथा अदक्ष जनशक्ति वर्गिकरण गरी उपयुक्त किसिमको तालिमहरु पनि प्रदान गर्दै आइरहेका छौ जस्तै ः वाइरिङ सम्बन्धि तालिम, होटलकुक सम्बन्धि तालिम, प्लम्बिङ सम्बन्धि तालिम, भेटेरिनरी सम्बन्धि तालिम, कृषि सम्बन्धि तालिम, सिलाईकटिङ तालिम, ड्राइभिङ सम्बन्धि तालिम, कृषि तथा फलफुल खेति सम्बन्धि तालिम संचालन गरी आवश्यकता अनुसारको तालिम प्रदानको व्यवस्था गरेका थियौ । सहुलियतमा कृषि कर्जा, कृषि, पशुपालनको क्षेत्रमा अनुदानको व्यवस्था पनि गर्ने कार्यक्रम अगाडी सारेका छौं । आवश्यकताको आधारमा युवायुवतिको क्षमता दक्षताको आधारमा पनि तालिमहरु संचालन गरी स्वाबलम्बी नागरिक बनाउने हाम्रो अभियान जारी छ ।
नगरपालिकाले आवश्यकताको आधारमा निशुल्क तालिमको व्यवस्था गरी स्वरोजगारको क्षेत्र विस्तार गर्ने नीति समेत लिएको हुँदा हामी हाम्रो नगरपालिका भित्रका सबै बेरोजगार युवायुवति जो नगर विकासका सम्बाहक हुन् उनीहरुको सम्पन्नता नै सिंगो नगरको विकास भएको हुँदा नगरपालिकाले रोजगार सिर्जना बृद्धि गर्ने खालका कार्यक्रमहरुलाई विशेष प्राथमिकतामा लिएको छ । विभिन्न समयमा सञ्चालन भएको तालिम पश्चात तालिममा सक्रिय सहभागी हुनुभएका कतिपय नगरबासीहरु युवायुवतिहरु जो बेरोजगार हुनुहुन्थ्यो उहाँहरु कि त रोजगारीमा हुनुहुन्छ कि त तालिम पश्चात आफैले व्यवसाय गरेर बस्नु भएको छ । बेरोजगार युवा युवतिहरुको क्षमताको विकास गराई उहाँहरु नै अन्य बेरोजगारहरुलाई रोजगार दिन सक्ने बनाउनु हाम्रो लक्ष्य छ ।
० निजामती सेवा ऐन नआएको कारण कर्मचारी अल्छी भएका हुन् ?
यतिको लामो समय भइसक्यो राज्यले निजामती ऐन ल्याउन सकेको छैन । निजामती ऐन ल्याउन नसक्नुको कारणले कर्मचारीहरूमा एक खालको विचलन, वितृष्णा र निराशा देखिएको छ । यसले कार्य सम्पादनमा पनि नकारात्मक असर परेको छ । जसको कारण आमजनताले सेवा छिटो छरितो पाउन नसकेको अवस्था छ । भ्रष्टाचार न्यूनीकरण गर्ने कुराहरू, पारदर्शिताका कुराहरू सूचनाको हक प्रत्याभूति गर्ने कुराहरूमा कर्मचारीहरू उद्धेलित हुनुको सट्टा बढी जिम्मेवार हुनुपर्छ । कर्मचारी भनेको पनि एउटा जिम्मेवार नागरिक हो । अवकाश प्राप्त भएपछि नागरिक नै हुने हो । त्यसैले देशको सुशासनको प्रत्याभूति ल्याउनको लागि कर्मचारीले पनि आफ्नो स्तरको कार्य सम्पदानमा झल्को दिनु पर्दछ र सरकारले पनि ढिलो नगरी नियम ऐन कानुनलाई लागू गर्नु पर्दछ । साथै कर्मचारी आफैंले पनि आचरण, व्यवहार र कार्यगतका कुरामा ध्यान दियो भने आफैं परिवर्तन हुँदै आउने हो ।
० तपाईंको विचारमा प्रमुख प्रशासकीय अधिकारीसँग हुनुपर्ने सबैभन्दा महत्त्वपूर्ण गुण के हो जस्तो लाग्छ ?
प्रमुख प्रशासकीय अधकिृतले कार्यस्थलमा वातावरण सिर्जना गराउन जान्नुपर्छ । कार्यसम्पादनको सफलता, कर्मचारीको टिमहरूलाई उत्प्रेरित–प्रोत्साहित गराउने जस्ता कुराहरू जान्नु पर्दछ । प्रमुख प्रशासकीय अधिकृत चाहिं समायोजन गरेर सुशासन सहननायकर्ताको भूमिकामा रहनुपर्छ भन्ने मलाई लाग्छ । व्यावहारिक र वैज्ञानिक कार्य विभाजन गर्नु पनि एउटा प्रमुख प्रशासकीयको महत्त्वपूर्ण गुण हो ।
० धार्मिक पर्यटनको कत्तिको सम्भावना देख्नुहुन्छ तपाईंको नगरपालिकामा ?
विश्व सम्पदा सूचीमा समेत समावेश हुनु पर्ने नमोबुद्ध परिषर धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको एक सम्पदा हो । यहाँ वार्षिक लाखौं स्वदेशी तथा विदेशी धार्मिक पर्यटकहरु आउने हुँदा हामीले नमोबुद्ध विकास समिति मार्फत नमोबुद्ध परिषरको वृहत गुरुयोजना तयार पारी अझ थप विकास गर्न योजनाहरु सञ्चालन भइरहेका छन् । नमोबुद्ध परिषर लाई केन्द्रविन्दु बनाएर प्रत्येक वडामा एक बुद्ध पार्क स्थापना गर्ने क्रम जारी रहेको छ । नमोबुद्ध परिषरबाट प्रत्येक वडामा रहेका बुद्ध पार्कहरुमा पर्यटन क्षेत्र विकास गर्न बुद्ध सर्किट निर्माण गरिएको छ ।नमोबुद्ध परिषर आएका धार्मिक पर्यटकहरु दाप्चा बजार हुँदै नेपाने बुद्ध पार्क, रजबम पोखरी बुद्ध पार्क, जगवैज्येश्वर मन्दिर, अमरअखण्ड मन्दिर, ह्रेञ्जेन दोर्जे मार्ग हुँदै कानपुरमा रहेको ऐतिहासिक रक्तकालि मन्दिर सम्म समेत जान सक्ने सर्किट निर्माण गरिएको छ साथै पर्यटकहरुका लागि सो सर्किट भएर आवत जावतका क्रममा सुविधाका लागि विभिन्न स्थानमा पार्क, होमस्टे सञ्चालन गरिने योजना रहेको छ । यसले नमोबुद्धमा पर्यटन विकासको क्षेत्रलाई एक मेरुदण्ड समेत महत्व दिई कार्यक्रमहरु सञ्चालनलाई निरन्तरता दिइँदै आएका छौं । नमोबुद्ध नगरपालिका एक ऐतिहासिक क्षेत्र रहेको भूमी हो । यहाँ कैयौ ईतिहास बोकेको सम्पदाको धनी नगरपालिका भएको हुनाले यहाँ रहेका ऐतिहासिक मठमन्दिर, पाटीपौवा, गुम्वा, कुण्ड, पोखरी तथा अन्य सम्पदाहरुको हामीले संरक्षण तथा सम्बर्धन गरी पर्यटन विकास बनाउने लक्ष्य नगरपालिकाले लिएको छ ।(तामाकोशीसन्देशबाट)