दलहरुलाई चेत कहिले आउने ?

राजनीति समाचार

मुलुकमा राजनीतिक दल कमजोर भएका छन् । विदेशी शक्तिको इशारामा राजनीतिक दल र नेताहरु चल्ने गरेका छन् । नेपालमा राजनीतिक अस्थिरता गराउनुमा विदेशी स्वार्थको ठूलो हात रहेको छ । राजनीतिक दलहरुले दिगो विकास र राजनीतिक स्थायित्व दिन नसक्दा मुलुक राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा नै पछि पर्दै गएको छ ।

स्वतन्त्रको नाममा विभिन्न पार्टी जन्मिए । राजनीतिक दलहरुलाई अहिले तिनै स्वतन्त्र दलहरु चुनौती दिइरहेका छन् । यी स्वतन्त्र पार्टीहरुले राजनीतिक दलहरुलाई समाप्त पार्ने खेल खेलिरहेका छन् । यति हुँदासम्म पनि राजनीतिक दलहरु सुध्रिन खोजेको देखिँदैन । उल्टै विदेशी इशारामा चल्ने गरेका छन् ।

नेपाली कांग्रेस, एमाले, माओवादीजस्ता ठूला पार्टीभित्र अन्र्तपार्टी द्वन्द्व सुरु भएको छ । छिमेकी मुलुकदेखि विभिन्न शक्ति राष्ट्रहरुले पार्टी फुटाउने र जुटाउने खेल खेल्दै आएका छन् । यसप्रति राजनीतिक दलहरु सचेत हुन सकेका छैनन् । एउटाले अर्काेलाई गाली गर्ने प्रवृत्ति देखा परेको छ । जनताको भन्दा पनि विदेशी शक्तिको इशारामा काम गर्ने र आफुले फाइदा लिने चलन राजनीतिक दलहरुमा बढ्दै गएको छ । दक्षिणपन्थी र साम्राज्यवादीको ट्याग दिएर झगडा फैलाउने र सत्ता हात पार्ने खेल हुने गरेको छ ।

विदेशी शक्तिको हस्तक्षेप, राजनीतिक दलका नेताको स्वार्थ, आफन्तवाद र नातावादजस्ता विविध पक्षहरुकै कारण नेपालमा राजनीतिक स्थायित्व हुन सकेको छैन । अहिले अधिकांश प्रदेशमा राजनीतिक दलहरुको इशारामा द्वन्द्व सिर्जना गर्ने काम हुन थालेको छ । मुलुकको राजनीतिक दल र सत्तालाई झक्झक्याउने नागरिक समाज, बुद्धिजीवी, पत्रकार, न्यायालय, प्राध्यापक सबै लाचार बनेका छन् । यी सबै एक भएर यसको समाधान खोज्ने हो भने मात्र राजनीतिक दल र सरकारलाई लयमा ल्याउन सकिन्छ ।

एक आपसमा दोषरोपण नगरी समाधान खोजेर स्वार्थ त्याग्दै मुलुकलाई दिशानिर्देश गर्न राजनीतिक दलहरु एक हुन जरुरी छ । ऐक्यबद्धता जनाएर समाधान खोज्ने हो भने राजनीतिक स्थायित्व, विकास र समृद्धि नेपालको सन्दर्भमा टाढा छैन । मुलुकमा राजनीतिक स्थायित्व कायम गर्ने राजनीतिक दलका नेताहरुले स्वार्थ र विदेशी हुण्डी त्याग्नुपर्दछ । जब राजनीतिक दलका नेताले निडरता र दृढ भएर मुलुकको समृद्धिको लागि काम गर्ने हो भने राजनीतिक स्थायित्व कायम गर्न समय लाग्दैन । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *