भूमि तथा अभिलेख विभागमा ‘खनाल इन, सोती आउट’

राजनीति समाचार

काठमाडौं । भूमि तथा अभिलेख विभागले मालपोतका कर्मचरीहरु असोज १५ गतेभित्र सरुवा गर्ने भनिए तापनि अहिलेसम्म सरुवाको लिस्ट तयार गरी सार्वजनिक गरेको पाइँदैन । अधिकांश अन्य कार्यालयका उपसचिव, शाखा अधिकृत, नासु र खरिदारहरु सरुवा भएर मालपोत कार्यालयमा जान न्वारनदेखिको बल निकालेर लागिपरेका छन् । तर, हालका भूमि तथा अभिलेख विभागका डिजी पदमनिधि सोती भोलि ११ गते उमेर हदका कारण घर जाँदैछन् । उनी घर जाने बेलामा कर्मचारी सरुवा नगरी बिदामा बसेका थिए ।

भूमि तथा अभिलेख विभागको महानिर्देशकमा विदुर खनाल गएका छन् । उनी भूमि आयोगबाट आएका व्यक्ति हुन् । तर खनाल डिजी बनेपनि सरुवाको लागि के÷कस्तो भूमिका निर्वाह गर्ने हुन् अहिलेसम्म यकिन भइसकेको छैन । डिजी खनालले यदि मालपोत कार्यालय सुधार्ने हो भने ९, १० वर्षसम्म मालपोतमा जरा गाडेर बसेका नासु, खरिदार र शाखा अधिकृतहरुलाई हटाउनु पर्ने देखिन्छ । मालपोतमा कार्यरत अधिकांश नासु र खरिदारहरु विभिन्न बहाना गरेर विगत लामो समयदेखि मालपोत कार्यालयमा डेरा जमाएर बसेका छन् ।

ती नासु र खरिदारको कारण मालपोत कार्यालयमा सुधारको काम हुन सकेको छैन । नासु र खरिदारले लेखनदासहरुसँग मिलेमतो गरी आर्थिक लाभ लिने र सर्वसाधारण जनताको जग्गा हिनामिना गर्ने काम गर्दै आएका छन् । कर्मचारीहरु अहिले मालपोत कार्यालयमा सरुवा भएर जानको लागि भूमि तथा सहकारी मन्त्रालयदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हारगुहार गरिरहेका छन् ।

मालपोत कार्यालयमा मात्र होइन नापी कार्यालयको महत्वपूर्ण कार्यालयमा जानको लागि पनि अमिन र सर्वेक्षकहरुको भिड त्यत्तिकै लाग्ने गरेको छ । तर, अधिकांश मालपोत र नापीका कर्मचारीहरु भ्रष्टाचारको आरोप लागि अख्तियारमा उजुरी परेपछि अख्तियारले कारबाही गरेर मुद्दा दायर गरे तापनि मालपोतका नासु, खरिदार र शाखा अधिकृतस्तरका कर्मचारीहरुले अनेक बहाना बनाएर भ्रष्टाचारको मुद्दा जित्ने गरेका छन् । सो मुद्दा जितेपछि फेरि घुमिफिरी मलपोतमै फर्कने गरेका छन् ।

त्यस्तै नापी कार्यालयका सर्वेक्षक, अमिन र केही नापी अधिकृतलाई भ्रष्टाचार र अनियमितता गरेको आरोप लागेर अख्तियारमा मुद्दा परे तापनि उनीहरुले अख्तियार र न्यायालयका कर्मचारीहरुलाई मोटो रकम खुवाएर मुद्दा तामेलीमा राख्ने अथवा मुद्दा झिसमिस पार्ने काम गरी नापी कार्यालयमा जाने गरेका छन् । अधिकांश कर्मचारीहरु नापी कार्यालय र मालपोत कार्यालयमा जानको लागि विभिन्न शक्तिकेन्द्र धाएर जाने गरेका छन् । अहिले मालपोत र नापी कार्यालयमा सरुवाको सिजन चलेको छ ।

को कहाँ पुग्ने हुन्, नापी र मालपोतमा जानको लागि कति पैसा खर्च गर्ने हुन् त्यो अहिलेसम्म यकिन भएको अवस्था छैन । तर अधिकांश कर्मचारी मालपोत कार्यालयमा जानको लागि लभिङ गरिरेहका छन् । लभिङ गरेर कर्मचारी जान डिल्ली बजार मालपोत कार्यालय, साँखु मालपोत कार्यालय, चावहिल मालपोत कार्यालय, कलंकी मालपोत कार्यालय, ललितपुर मालपोत कार्यालय, भक्तपुर मालपोत कार्यालय जस्ता ठाउँमा जानको लागि भित्री रुपमा चलखेल सुरु भएको छ ।

तर, ती कर्मचारीमध्यमा कसले कति बुझाउने हुन् त्यसको यकिन भएको छैन । त्यस्तै अन्य प्रदेश र स्थानीय तहको मालदार ठाउँमा जानको लागि पनि अधिकांश कर्मचारी लागि पर्ने गरेका छन् । कतिपय स्थानीय तहमा दक्ष कर्मचारीको अभावले अधिकांश जग्गा जमीन विवादमा परिरहेका छन् । उता भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव राममणि दवाडी रहे तापनि उनी मालपोत कार्यालयमा तरमारेका खप्पिस व्यक्ति हुन् ।

अहिले सचिव दवाडीले मालपोत र नापीका कर्मचारीहरुबाट मालदार ठाउँमा सरुवा गरिदिने भन्दै मोटो रकम असुलिरहेका छन् । त्यस्तै जग्गाको कित्ता काट खोलिए तापनि ‘सानालाई ऐन, ठूलालाई चैन’ भने झैं भूमाफियाहरुलाई मात्रै फाइदा भएको छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *