नेपाल सरकारले २०६१ सालमा हरेक असार १५ गते राष्ट्रिय धान दिवस मनाउने भनेर घोषणा गरेको थियो । सोही अनुसार हरेक वर्ष असार १५ मा धान दिवस मनाउने गरिन्छ । यस पटक देश व्यापी मनाउने सन्दर्भमा चरिकोटमा पनि विशेष कार्यक्रमको आयोजना गरी राष्ट्रिय धान दिवस मनाइयो । भीमेश्वर नगरपालिकासँगको सहकार्यमा भीमेश्वर अर्गानिक एग्रिकल्चर एण्ड रिसर्च प्रा.ली. ले भीमेश्वर नगरपालिका वडा नं. ६ सिक्रिमा वेठी वाजा सहित धान रोपाई सम्पन्न गरेको छ ।
धान वालिमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग भन्ने नारा सहितको यो वर्ष धान दिवसमा भीेमेश्वर नगरपालिका वडा नं. ६ मा रहेको सिक्री भन्ने स्थानमा विशेष समारोह आयोजना गरिएको थियो । यस समारोहमा जिल्ला समन्वय समिति दोलखाका प्रमुख वर्जुमान घतानी, भीमेश्वर नगर प्रमुख इश्वर नारायण मानन्धर, उपप्रमुख कमला वस्नेत, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, डिभिजनल वन अधिकृत थिर वहादुर कार्की, कालिञ्चोक गाउँपालिकाका पूर्व उपाध्यक्ष कालिका पाठक र कृषकहरु सहित २०० भन्दा वढिको सहभागीता रहेको थियो ।
वेठी वाजा, गोरु, साउने, रोपाहार, रोपो, वाउसे, दाँदे, फेउरी, रोपाई, हिल्याउने, व्याड, व्याडे, गाँज आली, कुन्यू, दाङि, असारे भाका, हिलो खेल्ने जस्ता शव्दावली नैं हराउन हो की चिन्ता वढ्न लागेको छ । सकेसम्म खेती नैं नगर्ने गरेपनि धान खेती प्रति आकर्षण देखिएको छैन । पछिल्ला पुस्ताले रोपाई भन्ने नैं विर्सन थालीसकेको अवस्थालाई पुनस्मरण गराउन वेठी वाजा सहितको रोपाई कार्यक्रम आयोजना गरेको आयोजक कृषि कम्पनीका अध्यक्ष भोला खतिवडाले जानकारी गराउनु भयो । विर्सन थालेको कृषि संस्कृति जोगाउन गरेको प्रयास प्रति सवैले सकरात्मक प्रतिकृया दिएका थिए ।
