विदेशी सहयोग रोकिँदा स्वास्थ्य क्षेत्र डामाडोल

राजनीति समाचार

काठमाडांै । स्वास्थ्य तथा जनसंख्यामन्त्रालयमा दाता मुलुकले दिने सहयोग एक्कासी रोकिएपछि रुवाबासी सुरु भएको छ । स्वास्थ्य क्षेत्रको लागि युरोपियन युनियन, विश्व स्वास्थ्य संगठनलगायत विभिन्न देशहरुले विगत लामो समयदेखि आर्थिक सहयोग दिँदै आएका थिए । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ट ट्रम निर्वाचित भएपछि स्वास्थ्य क्षेत्रलाई दिँदै आएको सहयोग एकाएक रोकिएपछि समस्या खडा भएको हो । दाता मुलुकले दिँदै आएको सहयोग रोकिएपछि स्वास्थ्यमन्त्री प्रदीप पौडेलको ओठतालु सुक्न थालेको छ ।

त्यसैगरी स्वास्थ्यमन्त्रालय अन्तर्गतका विभिन्न विभाग र सरकारी अस्पतालका कर्मचारीहरुको पनि निद हराम हुन पुगेको छ । उता, मन्त्रीका सचिवालयमा बसेका आसेपासे र विचौलियाहरुको होसहवास उडेको छ । किन कि स्वास्थय तथा जनसंख्यामन्त्रालयले बजेटको सिलिङ पनि पहिलाको तुलनामा तीन अर्बले घटाएको छ । एकातिर बजेटको सिलिङ घट्नु अर्कोतिर दाता मुलुकले दिने सहयोग रोकिनुले स्वास्थ्य क्षेत्रमा विभिन्न चलखेल गरेर अकुत सम्पत्ति कमाउन पल्केका कर्मचारीहरु तिलमिलाउन थालेका छन् ।

पहिला अन्य मन्त्रालयबाट स्वास्थ्यमन्त्रालय अन्तर्गतका विभिन्न विभाग र कार्यालयहरुमा जान मरिमेट्ने कर्मचारीहरु अहिले विदेशी सहयोग रोकिएपछि स्वास्थ्यमन्त्रालयबाट अन्यत्र सरुवा हुनको लागि खेलोफड्को गर्दै हिँडेका छन् । एकातिर यो अवस्था छ अर्कोतिर तीन तहको सरकार बनेपछि केन्द्रमा मात्रै सीमित भएको स्वास्थ्यको अधिकार बाडफाट हुँदा केन्द्रमा हालीमुहाली गर्ने कर्मचारी र विचौलियाहरु हायलकायल भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्रालय अन्तर्गत पर्ने स्वास्थ्य सेवा विभागको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका कर्मचारीहरु विभिन्न रोगको नाममा आउने बजेट रोकिएपछि तिलमिलाउन थालेका छन् । स्वास्थ्य सेवा विभागअन्तर्गतका विभिन्न महाशाखाहरुका कर्मचारीहरु पनि अत्तालिन थालेका छन् ।

दाता मुलुकले दिने सहयोग रोकिएपछि सर्वसाधारणलाई सुसूचित गराउने विभिन्न जनचेतमुलक कार्यक्रमहरु पनि रोकिन पुगेका छन् । विभिन्न रोगसम्बन्धी विज्ञ डाक्टरहरुले दिने सन्देशमुलक कार्यक्रमहरु पनि हुन छाडेका छन् । भइहाले तापनि पहिलाको तुलनामा न्यून हुने गरेको छ । स्वास्थ्य क्षेत्रमा दाता मुलुकले दिने सहयोग रोकिएपछि अधिकांश सरकारी अस्पतालमा स्वास्थ्योपचारको उपकरण खरिद गर्न पनि समस्या पर्ने देखिन्छ । आर्थिक वर्षको अन्तिमतिर स्वास्थ्य सेवा विभाग, महाशाखा र कार्यालयका कर्मचारीहरु विभिन्न रोगबारे जनचेतना जगाउने नाममा सेमिनार, गोष्ठी गर्न देशदौडाहा गरेर भत्ता खाने कर्मचारीहरुको पनि निद हराम भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *