कांग्रेसकै कारण गठन्धन सरकारमा खटपट सुरु

राजनीति समाचार

प्रधानमन्त्रीको विदेश भ्रमण औपचारिकतामा सीमित
काठमाडौं । नेपालमा राजनीतिक घटनाक्रमले कतिबेला के मोड लिन्छ त्यसको एकिन छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विकसित ठूला मुलुक युरोप र चीनको एकैसाथ भ्रमण गरिरहँदा देशको लागि खासै उपलब्धी भएको पाइँदैन । प्रधानमन्त्री भएपछि गर्नुपर्ने भ्रमणको औपचारिकता मात्रै निभाएको पाइन्छ । सत्तागठबन्धनको ठूलो दल नेपाली कांग्रेसभित्र पनि आन्तरिक द्वन्द्व झन् चर्किँदै गएको छ ।

कांग्रेसकै इतरपक्षका नेताहरुले पार्टी सभापति शेरबहादुर देउवाको विरुद्धमा बोल्दै विभिन्न कार्यक्रमहरु गर्ने गरेका छन् । केही समय अगाडि इतरपक्ष नेताहरुले छुट्टै बैठक पनि बोलाएका थिए । इतरपक्षीय बैठकमा उपस्थित अधिकांश नेताहरुले प्रचण्ड नेतृत्वको सरकारमा बसिरहनुको औचित्य नभएको भन्दै विरोध जनाएका थिए । कांग्रेस इतरपक्षका नेता डा. शेखर कोइरालाले नेपालमा धर्मनिरपेक्षता हटाएर सनातन हिन्दू धर्म लागु गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

त्यसलाई अझ बल पुग्ने गरी इतरपक्षका अर्का नेता तथा केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले त नेपालमा धर्मनिरपेक्षता र संघीयताको कामै नभएको भन्दै हिन्दू धर्म कायम गर्न संविधान संशोधन गर्नुपर्नेसमेत माग गर्दै आएका छन् । छिमेकी मुलुक भारतका नेता विजेपीले पनि नेपालमा हिन्दू धर्म लागु गर्न आवश्यक रहेको संकेत गरेका छन् । त्यसले गर्दा पनि प्रचण्ड नेतृत्वको गठबन्धन सरकार धर्म संकटमा पर्ने देखिन्छ । उता प्रतिपक्षी दल नेकपा एमालेले कांग्रेसका इतरपक्ष नेता डा. शेखर कोइरालालाई समर्थन गरेर नयाँ गठबन्धन बनाउन चलखेल गर्दैछ ।

एकातिर छिमेकी मुलुक भारतले नेपालमा हिन्दू धर्म कायम गराउन पहल गरिरहेको छ भने अर्कोतिर पश्चिमाहरुले यही सरकारलाई निरन्तरता दिने देखिन्छ । त्यसो हुँदा राजनीतिक दलहरुबीच एक आपसमा द्वन्द्व सिर्जना हुन सम्भावना छ । गठबन्धन सरकारले पनि राष्ट्र, राष्ट्रियता र जनताको हितमा काम गर्नेभन्दा पनि आफूलाई केन्द्रमा राखेर भ्रष्टाचार, अनियमितता र आपराधिक गतिविधिलाई ढाकछोप गर्दै आएको पाइन्छ । त्यसो हुनुमा राजनीतिक दल र सरकार नेतृत्वको अक्षमता कारक बन्दै गएको छ । प्रधानमन्त्री प्रचण्ड चीन भ्रमण सकेर स्वदेश फर्किएपछि नेपालको राजनीतिमा के÷कस्तो खिचडी पाक्ने हो त्यो भने एकिन भइसकेको छैन ।

प्रधानमन्त्री स्वदेश फकिँदा युरोप र चीनबाट कस्तो कोशेली बोकेर आउँछन् त्यसले राजनीतिक दलभित्र नयाँ तरङ्ग ल्याउने देखिन्छ । किन कि कांग्रेस पार्टीभित्रै संस्थापन र इतरपक्षबीचको लडाइँले यो सरकारको आयु त्यति लामो नहुने संकेत गर्दैछ । तर, नेपाली कांग्रेस पार्टीभित्र जतिसुकै आन्तरिक द्वन्द्व चर्किएपनि पार्टी सभापति शेरबहादुर दउवा टसमस भएको देखिँदैन । बरु प्रचण्ड नेतृत्वको सरकार ढालेर एमालेसँग सहकार्य गरी आफू प्रधानमन्त्री नबन्लान् भन्न सकिँदैन ।

उता अर्को सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यो सरकार लामो समय टिक्ने अभिव्यक्ति दिँदै आएका छन् । सत्तासाझेदार मधेसवादी दल जसपा पनि भित्रभित्रै यो सरकारप्रति असन्तुष्ट बन्दै गएको बताइन्छ । तर, प्रधामन्त्री प्रचण्डले युरोप र चीन भ्रमणमा रहँदा भए÷गरेका सन्धिसम्झौताहरुबाट के÷कस्ता टिकाटिप्पणीहरु हुन्छन् त्यसले सरकारको आयु निर्धारण गर्ने देखिन्छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *