राजनीतिक विकृति र विसंगतिले पुरस्कार पनि अछुतो रहेन

राजनीति लेख

रामचन्द्र बस्नेत
राजनीतिक दलहरु जब सत्तामा जान्छन् अनि आफ्नो पार्टीका एजेन्डा र राज्यले गर्नुपर्ने कामहरु बिसँदै जान्छन् । तिनै नेताहरु सत्ताबाहिर छँदा न्वारनदेखिको बल निकालेर एउटा पार्टीले अर्को पार्टीलाई गालीगलौज गर्दछन् । जब सत्तामा पुग्छन् अनि पहिला जनतालाई बाँडेको आश्वासन र सिद्धान्त बिर्सिन्छन् । अहिले गठबन्धनको नाममा विभिन्न दलहरु सत्तामा बसिरहेका छन् । तर, ती दलहरुले सत्तामा बसेपनि एकले अर्कोलाई गालीगलौज गर्ने र लान्छना लगाउने बाहेक अन्य काम गरेका छैनन् । राज्यले अहिलेसम्म नेपाललाई आवश्यक पर्ने ऐन, कानुन बनाएपनि व्यवहारमा लागु गर्न सकेको पाइँदैन ।

त्यतिहुँदाहुँदै पनि सरकारले संघीय निजामति ऐन ल्याएर लागु गर्न सकेको छैन । त्यस्तै प्रदेश प्रहरी ऐन ल्याउन सकेको छैन । स्वास्थ्य सम्बन्धी ऐन बनाउन सकेको छैन । अव्यवस्थित बसोबास तथा सुकुम्वासी ऐन पनि स्पष्ट रुपमा ल्याएर लागु गर्न सकेको छैन । प्रदेश सेवा ऐन बनाएर लागु गर्न पनि सकेको छैन । कर्मचारीहरुको सेवा, सुविधाबारेमा पनि स्पष्ट कानुन बनाएर लागु गर्न सकेको छैन । राजनीतिक दलहरुले सर्वसम्मत रुपमा बनाएका अधिकांश ऐन, कानुनहरु लागु गर्न सकेका छैनन् ।

यस्ता कानुनको अभावले गर्दा अधिकांश नीतिनिर्माण तहका कामहरु अलपत्र परेका छन् । सरकारले विभिन्न ऐनहरुलाई संसोधन गरी देशमा आश्यक परेका कानुनलाई परिमार्जन गरी उपयुक्त कानुन बनाएर लागु गर्नुपर्नेमा त्यो पनि गर्न सकेको छैन । संसदमा रहेका कतिपय अधुरा कानुनहरु बनाउनको लागि पहल पनि गरेको देखिँदैन । राजनीतिक दलका नेताहरु खाली सत्ताको बार्गेनिङ्ग गर्ने, विभिन्न ठाउँमा आफ्ना मान्छे सेटिङ गर्ने, कमिसन र भ्रष्टाचारमा लिप्त हुने, विदेश भ्रमण गर्ने, भागबन्डा नमिले विरोध गर्नेबाहेक अन्य काम गरेका छैनन्।

उता संविधान दिवसको उपलब्धमा विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिहरुलाई दिइने पुरस्कार पनि योग्य, क्षमतावान, विषयविज्ञ, विधागत र क्षेत्रगत रुपमा लामो योगदान गरेका, सम्बन्धित विषयमा ख्याति कमाएका व्यक्तिहरुलाई पछाडि पार्दै राजनीतिक भागबन्डामा आफ्ना आसेपासेलाई दिइने गरिएको छ । यस्ता पुरस्कारहरु पेशागत रुपमा भन्दा पनि गैरपेशाका व्यक्तिहरुलाई चाकडी, चाप्लुसी र नातावादको रुपमा बाड्ने गरिँदै आएको छ । त्यस्तै निजामति दिवसको उपलब्धमा बाँडिने पुरस्कार पनि योग्य, दक्ष र इमानदार कर्मचारीलाई भन्दा राजनीतिक भागबन्डासँगै नेताको पछि लाग्ने कर्मचारीले उछिट्ट्याउने गरेका छन् ।

उता देशको चौथो अंग भनेर उपाधि पाएको पत्रकारिता क्षेत्रभित्रको पुरस्कारको हालत पनि त्यस्तै छ । राष्ट्रपति कार्यालयले विभिन्न क्षेत्रमा योगदान पु¥याएका ख्यातिप्राप्त व्यक्तिलाई बाँडिने पुरस्कार पनि राजनीतिक भागबन्डा र पुरस्कारको राशी एकिन नभएपछि त्यत्तिकै रोकिएको छ । यस्ता पुरस्कारले देशमा राम्रो काम गर्ने, इमान्दार, दक्ष र ख्यातिप्राप्त व्यक्तिहरुको मनोबल बढाउने काम गर्दै आएको थियो । तर, योग्यता, क्षमता र इमान्दारिताको कडी मानिएको राष्ट्रपति कार्यालयले दिने पुरस्कार राजनीतिक भागबन्डा नमिल्दा विरोध आउने भएपछि स्थगित गरेको अवस्था छ ।

यस्तो विकृतिजन्य कामले देशमा राम्रो काम गर्ने, इमान्दार, दक्ष र ख्यातिप्राप्त व्यक्तिहरुमा निराशा छाएको छ । योग्यता, क्षमताको कडी पुरस्कार जस्तो विषयमा फोहोरी राजनीतिकरण हुने हो भने भोलिका दिनमा देशमा ख्यातिप्रात व्यक्तिहरु पलायन हुँदै जाने छन् । राजनीतिक दलभित्र यस्ता विकृति र विसंगति झागिँदै जाँदा अधिकांश सर्वसाकारण जनताहरु निराश हुन पुगेका छन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *