नेपालमा संघीयता र गणतंत्र आएपछि अनौठा घटनाहरु लगातार घट्न थालेका छन । नेपाली जनताले बिरोध गर्दागर्दै पनि दलका नेताहरुले सुनेको नसुनेको झै गरी समाज द्वारा स्थापित मूल्य र मान्यता बिपरितका कामहरु भटाभट गरी नेपाली जनतालाई चिढाउने काम गर्दै अगाडि बढेका छन् । शासन सत्ताको मातलागेका दलका नेताहरुले नेपाली जनतालाई अपच हुने कामहरु जस्तो घुषखोरी, कमिसनखोरी, मानवतस्करी, सुनतस्करी, मुनाफाखोरी, मुद्रातस्करी जस्ता गैरकानुनी कामहरुलाई बढबा दिएका छन ।
किर्ते परियोजनाहरु बनाएर त्यसको कागजी कार्यान्वयन गरी करोडौ हजम पार्ने जस्ता गैरकानुनी क्रियाकलापहरु दलका नेताहरुले नेपालमा चलाएका छन । यसको ताजा उदाहरण झलनाथ खनाल प्रतिश्ठानको सर्प पाल्ने परियोजनालाई नै लिन सकिन्छ जसमा सिन्को नै नभाँची लगभग १८ करोडको भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाएको छ ।
नेपालको डाँडा डाँडामा टावर बनाएर एमालेका नेताहरुले पनि यस्तो भ्रष्टाचार धेरै गरेका छन । तिनीहरु माथि भ्रष्टाचार गरेको आरोपमा छानविन गरी मुद्दा चलाउने काम अझ हुन सकेको छैन । विदेशीले नेपालको राजनीति र विकासमा गर्दै आएको हस्तक्षेपलाई दलका नेताहरुले सघाएको हुँदा नेपाल राष्ट्र परनिर्भर मुलुक बनी आफ्नो स्वतंत्रता गुमाईसकेको छ । विदेशीको ऋण माथि ऋण थप्दै लगेर दलहरुले नेपाली जनताको स्वाभिमानमा ठुलो चोट पुर्याएका छन । विदेशीले अब आएर गैरआवसीय नेपालीहरुलाई पनि नेपालको मामलामा हस्तक्षेप गर्नको लागि परिचालन गर्ने गरेकाछन । विदेशीले आफ्नो मुलुकको व्यापार नेपालमा फैलाउनको लागि बनाएका परियोजनाहरुमा विदेशी ऋणको लगानी गरी दलहरुले नेपाल राष्ट्र र नेपाली जनतालाई दोहोरो रुपमा डुबाउने काम गरेकाछन ।
त्यस्ता परियोजनाहरु नेपालमा बनेपनि त्यसको लाभ नेपाली जनतालाई नभएर ऋण हाल्ने विदेशी मुलुकलाई नै हुँदै आएको छ । दलका नेताहरुले यहि कुरा नबुझ्दा सात दशक बित्दा पनि नेपालको विकास नभएर ज्यादा विनास भएका छ । दलका नेताहरुको निमिक्त नेपालको विकास भनेको केवल आन्धोलाई हात्ती जस्तो मात्रै भएको प्रष्ट नै छ । त्यस्तै विदेशी परियोजनाको फोटो राखेर आफ्नो दलले गरेको नेपालको विकास भन्दै देखाउन भने दलका नेताहरु कहीले पनि पछाडि परेका छैनन् ।
सबै दलका शीर्ष नेताहरुको यस्तो अनावश्यक कुरा देखाउनको लागि आपसमा प्रतिश्प्रधा नै हुने गरेका छन् । विकासको कुरामा दलका शीर्ष नेताहरुको सोच सदाकाल पराधिन छन् । विकासको लागि बजेट छुट्याउदा समेत पनि दलका नेताहरुले विदेशी ऋणलाई त्यसको लगानीको श्रोत बनाएका हुन्छन् । राजतंत्र कालका नेताहरु यति लाचार कहिले पनि भएको थिएनन् । त्यो बेलाका नेताहरुले विकासलाई आधारभूत मौलिक बिषय मानेको हुँदा बजेट बनाउदा भौतिक विकास कार्यले प्राथमिकता पाउने गरेको थियो । अहिलेका दलका नेताहरुले त सरकारी चालुखर्च खर्चलाई बजेटको प्राथमिकतामा पारेका हुँदा विकास परियोजनाको लागि विदेशी ऋण विदेशी कै सर्तमा लिने गर्दै आएका छन ।
यस्ता हुतीहारा दलका नेताहरुलाई थुक्न पनि नेपाली जनतालाई घिन लाग्ने भएको छ । दलका नेताहरुले बनाएको ठुलो र भद्दा शासकिय स्वरुपले गर्दा सरकारी चालुखर्च नेपालको आय स्रोतले धान्नै नसक्ने भएको छ । त्यसमा सुधार गरी चालु खर्च घटाउनको लागि दलहरु तयार छैनन् । त्यसो हुँदा प्रति बर्ष नेपालले तीन खर्बको हाराहारी विदेशी ऋण लिनै पर्ने बाध्यता आईलागेको देखिन्छ । यसो गर्दै दलहरुले राजतंत्र कालमा अरबमा रहेको विदेशी राष्ट्रिय ऋणलाई २३ खर्ब कटाईसकेका छन । अब यस्तै हालत नेपालमा कायम रहदै गएमा विदेशी ऋणको भारी नेपाल राष्ट्रले तिर्न नै नसक्ने गरी बढ्ने लहर देखिएको छ ।
नेपालमा महंगाई बढ्ने र आर्थिक संकट आउनेमा यहि धान्नै नसकिने ऋणको भारीले गर्दा हो । आयात धान्ने गरी वैदेशिक रोजगारीबाट विदेशी मुद्रा नेपालमा आएको भएतापनि त्यो आम्दानीबाट विदेशी राष्ट्रिय ऋणको साँवा व्याज भुक्तानी गर्नको लागि पुग्दैन । परियोजनाहरुको निर्माण नेपालमा गर्दा निर्माण समाग्री र दक्ष जनशक्ति विदेशबाटै आउने गरेका छन त्यो हुँदा परियोजना निर्माणको गतिविधिहरु बढे संगै विदेशी मुद्राको माग पनि नेपालमा ह्वात्तै बढ्ने गरेकोछ ।
नेपालका धेरै विदेशी ऋण सहायाताका परियोजनाहरुमा निर्माण समाग्री र दक्षजनशक्ति उनीहरुकै मुलुकबाट लिनु पर्ने सर्तहरु राखेका हुन्छन् । भारतीय र चीनिया एक्जिम बैंकहरुको सर्तहरु सबै त्यस्तै छन जसले गर्दा परियोजनाबाट नेपाललाई हुने खुशी भ्यागुताले सर्प निलेको जस्तो हुँदै आएकाछन । यसमा विदेशीको कुनै गल्ती छैन किनकि ऋण दाताहरुले त्यस्तो सर्तहरु राख्नु स्वाभाविक नै हो । मुख्यरुपले सर्तहरु हेर्दैनहेरी सहीछाप गर्ने दलका नेताहरु र निजामती हाकिमहरुकै ज्यादा गल्ती भएको देखिन्छ ।
ऋण स्वीकार गरेमा विदेशीबाट दलका नेताहरु र निजामती हाकिमहरुले पाउन सक्ने कमिसनकै कारण ऋण तिर्ने नेपाली जनता र नेपाल राष्ट्रको हितलाई हेर्ने गरिएको छैन । त्यसकारण नेपाल राष्ट्रले ऋण लिनु भन्दा पनि ऋण नलिएकोमा नै ज्यादा फाईदा हुन्छ किनकि ऋण लिएर बनाएका परियोजनाहरु ऋण दिने विदेशी मुलुकले नै छान्ने गरेको हुँदा नेपाललाई सुको फाईदा हुँदैन उल्टै नेपाल राष्ट्रको लागि परियोजना मर्मत, सम्हार र सञ्चालन खर्च धान्नै नसक्ने गरी बढाउने गरेको छ ।
दलका नेताहरुको यस्तो कर्तुतहरुको बयान गरी साद्धे छैन । जति कराएपनि जति भनेपनि दलका नेताहरु कुकुरको पुच्छर झै छन कुनै फरक पर्दैन । दलका नेताहरु संधै टेढाको टेढै हुने भएकाले नेपालको अवस्था राजतंत्रकालमा भन्दा अहिले झनै ज्यादा बिग्रिएको अनुभूति नेपाली जनतालाई हुन थालेको छ । स्वतंत्र बजार अर्थतंत्र भएको मुलुक नेपालमा कानुनी राज कायम छैन । बजार नाम मात्रकै स्वतंत्र भएको हुँदा नेपालको स्वतंत्र बजार आर्थनीति असफल अवस्थामा पुगेको छ ।
नेपालमा हाल उत्पन्न भएको आर्थिक संकटको उत्पती पनि नेपालको कानुनीराज कमजोर र बजारमा दलका शीर्ष नेताहरु र खास खास व्यापारीहरु र व्यवसायिहरुका बिच कायम भएको साठगाँठले गर्दा नै हो भन्ने प्रमाणीत भएको छ । त्यसरी साँठगाँठ गर्ने दलका शीर्ष नेताहरु माथि कानुनी कार्यबाही चलाउन नसक्ने तर व्यापारीहरु र व्यवसायीहरु बिरुद्ध मात्रै कार्यबाही हुँदा त्यसको कुप्रभाव नेपालको बजारमा पर्न गएको छ । सार्वजनिक भ्रष्टाचारका काण्डहरुमा संलग्न राजनीतिका महारथीहरुलाई कानुनी कार्यबाही चलाउनको साटो बचाउने काम भएको हुँदा सरकारको सुशासन अभियान नै नेपाली जनतालाई खेलाची जस्तो लागेको छ । हुँदा हुँदा संबिधान दिवसको अवसर पारेर जघण्य अपराध गरी जेल परेका सत्ता पक्षका केही पूर्व राजनीतिक कार्यकर्ताहरुलाई आम माफी दिएपछि प्रचण्ड सरकार झनै विवादमा तानिएको छ ।
तर यो घटना पहिलो भने होइन यो भन्दा पहिले नै ओली सरकारको पाला देखि दलहरुका बिच तालमेल गरी जेलपरेका आफ्नो पक्षका राजनीतिक कार्यकर्ताहरुलाई आममाफी दिने चलन बस्दै आएको छ । यसतो साँठगाँठले अब धन्दाको रुप लिएको हुँदा केही पहुँच पुग्नेहरुले दलका शीर्ष नेताहरुलाई आर्थिक प्रभावमा पारी आमा माफी लिने गरेका छन । राजतंत्र कालमा फाटफुट हुने गरेका यस्ता घटनाहरु संघिय गणतांत्रिक कालमा राजनीति गर्नेहरुको व्यवसाय नै बनेकाले नेपाल राष्ट्रको अस्तित्वको लागि नै ठुलो चिन्ताको बिषय बनेको छ ।
सनातनी हिन्दूधर्म गुरुहरुलाई बिना कारण पक्राउ गरी थुनामा राख्ने र सनातनी हिन्दूहरुका आस्थामा आघात पुग्ने गरी गाईगोरु काटी सार्वजनिक रुपमा नै भोजभतेर गर्ने अराजक तत्वहरुलाई पक्राउ सम्म पनि नगर्दा नेपाली जनता त्रसित भएकाछन ।
अन्य धर्ममा लागेकाहरुले सनातनी हिन्दूधर्मको विरोध गर्न जरुरी छैन । सनातनी हिन्दूधर्म मान्नेहरुको आस्थामा चोट पुग्ने गरी त्यस्ता फाटफुटे धर्मालम्बीहरुले कुनै गैरकानुनी असामाजिक अधर्मी काम गर्दछन भने त्यसलाई रोक्नु र धार्मिक शान्ति बिग्रन नदिनु नेपाल सरकारको पहिलो कर्तव्य हो । सनातनी हिन्दूधर्म नेपालमा परपूर्व वैदिक काल देखि चल्दै आएको हुदा राजतंत्र कालमा नेपाल संसार भर एकमात्र हिन्दू राष्ट्रको रुपमा चर्चित थियो । त्यस्तो अवस्थामा पनि सनातनी हिन्दूहरुले कहिले पनि अन्य धर्मालम्बीहरुलाई बाँधा अडचन पर्याएको वा आघात तुल्याएको सुनिएको थिएन ।
तर आज आएर दलहरुले राजतंत्रलाई हटाएर नेपालको इतिहास नै मेटाएको हुँदा नेपाली जनता आक्रोश बन्दै गएका छन । साथै सनातनी हिन्दूधर्मलाई पाखा लगाएर ईसाई धर्मलाई बढवा दिदैं हिडेका दलका शीर्ष नेताहरुको क्रियाकलापले पनि नेपाली जनतालाई ठुलो पीडा दिएको छ । धर्म भनेको सत्य हो र सत्य बिना कुनै पनि राजनीतिक व्यवस्था चल्न वा टिक्न सक्तैन ।
संसारको इतिहासलाई हेर्दा सत्यको लागि ठुला ठुला युद्धहरु भएका छन जसमा सबै धर्मालम्बीहरुले आआफ्नो रक्षाको निमिक्त अनेक कुर्बानी गरेका छन । नेपालका राजनीतिक दलहरु राजा सहित सबै मिलेर सत्यको बाटोमा अगाडि बढनु पर्छ । लोक नायक बि.पी. कोईरालाले देखाएको राजनीतिक मेलमिलापको मार्गबाट अगाडि बढ्नु पर्छ । महान राष्ट्र नेपाललाई विदेशीको राजनीतिक र धार्मिक चलखेल गर्ने थलो बन्न दिनु हुँदैन । आमा र जन्मभूमि स्वर्ग भन्दा पनि ठुलो हो भन्ने कुरा दलका नेताहरुले बिर्सनु हुँदैन ।
नेपालले आफ्नो मौलिकताको शक्ति देखाएर बिश्वा शान्तिको लागि संसारलाई भगवान बुद्धले देखाउनु भएको शान्तिको मार्गमा अगाडि बढ्ने प्रेरणाको श्रोत बनाउनु पर्छ । दलका नेताहरुको बिगत देखि अहिले सम्मका गतिविधिहरु हेर्दा साधुलाई शूली चोरलाई चौतारो भएको जस्तो महशुस नेपाली जनतालाई हुन्छ । त्यसकारण दलहरुले आफैलाई पहिले सुधारेर राष्ट्रको अवस्थालाई सुधार्ने तिर ध्यान केन्द्रित गर्न जरुरी देखिन्छ । (तामाकोशीसन्देशबाट)