चाडवाडको समयमा जनतालाई यातायातको सास्ती

राजनीति समाचार

जब नेपालीहरुको ठूलो चाडपर्वहरु नजिकिन थाल्छ, तब यातायातको समस्या र सास्ती सुरु हुन थाल्दछ । यस्ता चाडपर्व नजिकिँदै गर्दा सरकारको कमजोरीका कारण सवारी साधनको व्यवस्थापनमा कमजोरी देखिन्छ, अर्काेतर्फ सवारी साधनहरुले क्षमताभन्दा बढी यात्रुहरु हालेर जोखिम बढाइरहेका हुन्छन् ।

नेपालीहरुले मनाउँदै आएको चाडवाडमध्ये बडा दशैं, दिपावली, छठजस्ता चाडपर्वमा शहरी क्षेत्रबाट आफ्नो गाउँघर फर्किने चलन छ । आफ्नो कर्म क्षेत्रबाट चाडवाडको बेलामा आफ्नो घर फर्किनका लागि पनि नेपालीहरुले सास्ती खेप्नुपर्ने अवस्था छ । एक त चाडवाडको समयमा टिकट नपाइने र पाएपनि कोचिएर लामो यात्रा गर्नुपर्ने बाध्यता नेपाली जनतामा छ । क्षमताभन्दा बढी यात्रुहरु बोकेर दुर्घटना हुँदा धेरै नेपालीहरुले ज्यान गुमाएको इतिहास पनि छ ।

नेपालको सडकहरु साँघुरा र अप्ठ्यारा छन् । पहाडी क्षेत्रमा चल्ने साधनहरु अझ पुराना भेटिन्छन् । पहाडका सडकहरु जटिल छन् र त्यसैमाथि पुराना गाडीहरु चल्ने हुँदा दुर्घटना बढी भइरहेको देखिन्छ । लामो दुरीका राजमार्गमा चल्ने गाडीहरु ठूला र सहज भएतापनि गाउँघर र पहाडमा चल्ने यातायातहरु पुराना छन्, जसले दुर्घटनाको जोखिम बढाइरहेको पाइन्छ । अझ भन्नुपर्दा पहाडका दुर्गम क्षेत्रमा यात्रा गर्दा यात्रुहरु कोचिएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।

क्षमताभन्दा बढी यात्रु र ओभरलोड सामानहरु बोक्ने सवारीलाई सरकारले अनुगमन गरी कारबाही गर्ने र दुर्घटनाको जोखिम कम गर्नका लागि काम गनर्नुपर्ने देखिन्छ । यातायात व्यवसायीले पनि सुरक्षाभन्दा पनि चाडवाडलाई आफ्नो आम्दानीको स्रोत बनाएका छन् । यातायात व्यवसायीले पनि पहिले मानवीय पक्षलाई ध्यान दिनुपर्ने देखिन्छ ।

सरकारले चाडवाड नजिकिँदै गर्दा यातायातको व्यवस्थापन गर्ने, क्षमताभन्दा बढी यात्रु बोक्नेलाई कारबाही गर्ने, यातायातको टिकटको कालोबजारीलाई नियन्त्रण गर्ने र यात्रुको घनत्व हेरेर बसहरुको व्यवस्थापन गर्न जरुरी देखिन्छ । चाडवाडका समयमा सरकारले यातायात व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने देखिएको छ । त्यसैगरी, यात्रा गर्दा चाडवाडका समयमा चोरी र लुटपाट बढ्ने गर्दछ । यसका लागि यात्रामा सकेसम्म प्रहरीको व्यवस्थापन गर्नु उपयुक्त हुन्छ । लामो दूरीका यातायातमा दुई चालकको व्यवस्था पनि गर्न अनिवार्य देखिन्छ । चाडपर्व नजिकिँदै गर्दा सवारी दुर्घटना, लुटपाट, जोखिमपूर्ण यात्राहरुमा सरकारले विशेष ध्यान दिन जरुरी छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *