नेपालको सञ्चार जगत बद्नामसँगै पलायनको बाटोमा

राजनीति समाचार

काठमाडौं । नेपालका सञ्चारमाध्यमहरु दिनप्रतिदिन धरासायी बन्दै गएका छन् । अधिकांश दैनिक पत्रिकाका सञ्चालकहरुले आर्थिक मन्दीको कारण देखाएर पत्रकार तथा कर्मचारी निश्कासन गर्ने र कटौती गर्ने काम गरिहेका छन् । निजी रुपमा सञ्चालित सबैभन्दा ठूलो सञ्चारमाध्यम कान्तिपुर पब्लिकेशन प्रा.लिले टेलिभिजन, कान्तिपुर दैनिक, सर्वोत्तम नारी, साप्ताहिक, काठमाडौं पोष्ट, नेपाल जस्ता प्रकाशनहरु गर्दै आएको थियो । २०७६ सालको कोरोनाकालपछि विस्तारै साप्ताहिक पत्रिका, नेपाल र सर्वोत्तम नारी बन्द भयो । बाँकी रहेको टेलिभिजन, कान्तिपुर दैनिक, काठमाडौं पोष्ट र अनलाइन सञ्चालनमा रहेरका छन् ।

तर, अधिकांश पत्रकार र कर्मचारीहरुले समयमा तलब नपाएको गुनासो आउनुका साथै पत्रकार र कर्मचारी निकाल्ने काम पनि पटक–पटक हुँदै आएको छ । सम्पादक फेर्ने काम पनि पछिल्लो समय व्यापक रुपमा हुँदै आएको छ । त्योसँगै नयाँ पत्रका दैनिक, अन्नपूर्ण दैनिक, नागरिक दैनिक, राजधानी दैनिक जस्ता स्थापित पब्लिकेशनहरु धरमर्राइरहेका छन् । अझ साप्ताहिक र मासिक पत्रिकाको कुरै छाडौं । निजी रुपमा सञ्चालित सञ्चारमाध्यमसँगै सरकारी लगानीमा सञ्चालित नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र, राससलगायतका सञ्चारमाध्यम अधोगतितिर धकेलिइरहेका छन् ।

राज्यले चौथो अंगको रुपमा लिएको सञ्चारमाध्यम धरासायी हुँदा भविष्यमा सर्वसाधारण जनताहरु सुचनाबाटै बञ्चित हुने अवस्था सिर्जना नहोला भन्न सकिँदैन । उता साप्ताहिकले विगत कालखण्डदेखि नेपालको राजनीतिक परिवर्तनको लागि महत्वपूर्ण भूमिका खेल्दै आएका थिए । तर, देशमा थोरै आर्थिक मन्दि हुनासा सबैभन्दा पहिला तिनै साप्ताहिक पत्रिका मारमा पर्ने रहेछन् । त्योसँगै सञ्चार क्षेत्रमा नयाँ लगानीकर्ता पनि त्यत्तिकै बढेका छन् । तर, नेपालको पत्रकारितामा विश्वासनीयता गुमाउँदै जाने र अर्कोतिर राजनीतिक दलहरुले हेर्ने दृष्टिकोण फरक रहेका कारण अधिकांश सञ्चारमाध्यम धरासायी बन्दै गएका हुन् ।

पछिल्लो समय निजी क्षेत्रसँगै विभिन्न संघ, संस्थाहरुले दिने सूचनाहरु कटौती गरेर सञ्चारमाध्यमलाई हतोत्साहित बनाउने काम विभिन्न निकायबाट हुँदै आएको छ । यिनै सञ्चारमाध्यमहरुले नेपालको राजनीतिक परिवर्तनको लागि खेलेको भूमिकाप्रति राज्य नै मौन बसेपछि भोलिका दिनमा सञ्चार क्षेत्रको विकास हुनुको सट्टा उल्टै पलायनको स्थितितिर नजाला भन्न सकिँदैन । राजनीतिक दलहरुले यो देशमा परिवर्तन ल्याउनको लागि सञ्चारमाध्यमहरुले खेलेको भूमिकाप्रति मीठामीठा भाषण गरे तापनि त्यसले सार्थकता पाउन सकेन । अहिले सबैभन्दा नाजुक अवस्थामा सञ्चार क्षेत्र पुगेको छ । सञ्चार माध्यमलाई सुसूचित ढंगले चलायमान बनाउनुपर्ने ठाउँमा उल्टै सबै क्षेत्रबाट बन्द गराउने खेलोफड्को हुँदै छ ।

नेपालमा बिना दर्ता सञ्चालित युब्यूब, टिकट, फेसबुक, क्वीटरलगायतका सामाजिक सञ्जालले देशको आर्थिक विकास र राजनीतिक व्यक्तित्वको धज्जी उडाएर भिउज बढाउने र डलरको खेती गर्नेहरुको हावी भएको छ । सञ्चार जगतभित्र फैलिएको यस्तो प्रवृत्तिले भोलिका दिनमा नेपालको भविष्य कतातिर जाने हो त्यसप्रति सरकार र सम्बन्धित निकायले ध्यान दिन जरुरी देखिन्छ । पछिल्लो समय नेपालका सञ्चारमाध्यमलाई धरासायी बनाउन यिनै सामाजिक सञ्जाल प्रमुख रहेका छन् । तर, पत्रकारिताको नाममा विभिन्न धन्दा सञ्चालन गर्ने र पत्रकारकै बद्नाम गर्नेको भीड पनि त्यत्तिकै डरलाग्दो छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *