काठमाडौं । राजनीतिक दलमध्येमा सबैभन्दा पुरानो नेपाली कांग्रेस पार्टीलाई मानिन्छ । तर, कांग्रेस पार्टीको संगठन भए तापनि ती संगठनहरु चलायमान कहिल्यै बन्दैनन् । बनिहाले तापनि गुटगत झुन्डले गर्दा प्राथमिकतामा पर्ने गरेको छैन । तर, निर्वाचनको बेला संगठन चलायमान नभए तापनि पहिलो दल कांग्रेस नै बन्ने गरेको छ । दोस्रो दल नेकपा एमालेमा संगठन बलियो छ भनिन्छ । तर, संगठन बलियो भए तापनि त्यसले राम्रो काम गरेको देखिँदैन ।
एमालेको जस्तो बलियो र सक्रिय संगठन अन्य पार्टीको हुने हो भने निर्वाचनमा बहुमत आउने थियो । तर, एमालेभित्र बाहिर देखावटी रुपमा एकता भए तापनि भित्री रुपमा गुटगत राजनीति चल्ने नै गरेको थियो । एमाले पार्टीभित्र केपी ओली र माधव नेपाल हुँदा पनि गुट चलेकै थियो । एक गुटले अर्को गुटलाई सिध्याउने काम नगरेका होइनन् । किन कि एमालेमा सबैभन्दा धेरै संघ, संगठनहरु रहेका थिए । ती संगठनहरुमा नेतैपिच्छेका पदाधिकारीहरु भएका कारणले पनि एमालेभित्र संगठन बलियो हुन सकेको थिएन । बाहिरबाट हेर्दा एमाले संगठनले भरिएको पार्टी हो ।
एमालेभित्र सहकारी संगठन छ, शिक्षक संगठन छन्, वन उपभोक्ता महासंघ छ, मजदूर संगठन छ, नाइ संघ छ, जीफन छ, विद्यार्थी संगठन छ, पेशागत महासंघ छ, स्वास्थ्यकर्मी संगठन छ, एनजीओ आईएनजीओ छ, प्राध्यापक संघ छ, बुद्धिजीवी संघ छ, वकिलहरुको संगठन छ, जनसम्पर्क मञ्च छ, जिल्ला सम्पर्क मञ्चहरु छन्, उद्योगी व्यापारीहरुको संगठन छ, डाक्टर, इन्जिनियरहरुको संगठनहरु छ, जिल्ला समन्वय कमिटीहरु छन् । सबै तह तप्कामा यति बलियो र भरपर्दो संगठन भए तापनि एमालेमा नेताहरुबीचको आन्तारिक झगडाकै कारण निर्वाचनमा एकल बहुमत ल्याउन सकेको उदाहरण छैन ।
अबका दिनमा त झन् ल्याउला भन्ने आशा पनि छैन । एमाले पार्टीभित्र पहिलाको तुलनामा अहिले आएर विभिन्न संगठनहरु तितरवितर मात्रै भएका छैनन् गुट पनि मौलाउँदै गएको छ । त्यसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी गुट, उपाध्यक्ष विष्णु पौडेलको गुट, केपी ओली र शंखर पोखरेल गुट, भीम रावल गुट एमालेभित्र देखा परेका छन् । त्यसले गर्दा एमालेले आगामी दिनमा बहुमत ल्याउँछ भनेर ढुक्क हुने अवस्था छैन । कार्यकर्ता पनि अबका दिन एमाले भनेर पछि लाग्ने देखिँदैन । किन कि पुराना कार्यकर्ता जति पाखा लागिसकेका छन् नयाँ जेनेरेसनमा राजनीतिक पार्टीप्रति वितृष्ण जाग्दै गएको छ । (तामाकोशीसन्देशबाट)