राज्यको ढुकुटी रित्याउँदै विदेश भ्रमण गर्दै कर्मचारी

राजनीति समाचार

काठमाडौं । सरकारले नेपालमा छाएको आर्थिक मन्दी विस्तारै लयमा फर्किँदै छ भनिरहँदा अर्थतन्त्र झन् भद्रगोल अवस्थातिर धकेलिँदै छ । सरकारमा बसेका मन्त्री र कर्मचारी भने रचनात्मक काम गर्नेभन्दा पनि विदेश भ्रमण गर्ने र भत्तासुविधा भोगी बनेका छन् । चाडबाड नजिकिँदै गर्दा अधिकांश कर्मचारीहरु विदेश भ्रमणमा सहेर भएका छन् ।

सबैभन्दा बढी कर्मचारीले विदेश भ्रमण गर्ने मन्त्रालय श्रम तथा रोजगार हो । त्यसपछि अर्थ, गृह, पर्यटन, भौतिक, कृषि, उद्योग, जलस्रोत, खेलकुद र सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालय पर्दछन् । यी मन्त्रालयमा कार्यर सहसचिवदेखि सचिवहरु अधिकांशले कार्यालयको काम छोडेर व्यक्तिगत फाइदाको लागि विदेश भ्रमण गर्ने गरिरहेका छन् । कर्मचारीले अनावश्यक रुपमा विदेश भ्रमण गरेर विकास निर्माणको बजेट स्वाहा पारिरहँदा सम्बन्धित मन्त्रालय र निकाय भने मुकदर्शक बनेर बसिरहेको छ ।

नेपाल सरकारका अधिकांश उच्च पदस्थ कर्मचारीहरुले अनावश्यक रुपमा विदेश भ्रमण गरेर सरकारी ढुकुटी रित्याउने काम नगरेको कुनै मन्त्रालय छैन । अनावश्यक रुपमा सेमिनार, गोष्टी, भ्रमण गरेर कर्मचारीले राज्यको ढुकुटीको आधाभन्दा बढी रकम हिनामिना गरिराखेका छन् । अधिकांश उच्च पदस्थ कर्मचारीहर राज्यको ढुकुटीबाट तलब, सुविधा लिने र व्यक्तिगत फाइदाको लागि विदेश भ्रमण गर्ने गरेका छन् । सरकारले अनावश्यक खर्च कटौती गरेर मितव्ययिता अपनाउने भनिरहँदा पनि कर्मचारीहरुले भने यो वा त्यो बहानामा पहिलाकै जस्तो फजुल खर्च गरिरहेका छन् ।

आर्थिक मन्दीको हल्ला चलाएर निजी क्षेत्र र सञ्चारमाध्यमको घाँटी निमोठ्ने काम गर्ने आफ्नो सेवा, सुविधा भने पहिलाको जस्तै गरिराख्ने काम कर्मचारी वर्गले गर्दै आएका छन् । सञ्चारमाध्यमलाई दिँइदै आएको सूचना, विज्ञापन प्रकाशन सर्वसाधारणलाई सुसूचित गराउने बजेट कटाएर आफूले सुविधा लिने काम कर्मचारी र नेताहरुले गर्दै आएका छन् ।

सरकारले खर्च कटौतीको हल्ला चलाएपछि निजी क्षेत्रमा सञ्चालित उद्योगी, व्यवसायीले पनि पत्रपत्रिकालाई दिँदै आएको विज्ञापन, सूचनाहरु रोक्ने काम गर्दै आएका छन् । संघ, प्रदेश र स्थानीय तहका जनमानसमा फैलाउनुपर्ने सन्देशमुलक सूचना पनि लुकाउने काम गरिएको छ । लोकतान्त्रिक शासन प्रणालीमा सर्वसाधारणले सुसूचित हुने अधिकारबाट समेत बन्चित हुनुपरेको छ । सर्वसाधारणले सुसूचित हुने सूचनासमेत सञ्चारमाध्यमलाई नदिएपछि कसरी मुलुकमा सुशासन कायम हुन्छ ? (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *