नेपालीको चाडपर्व कर्मचारी र मन्त्रीहरुको लागि मात्र

राजनीति समाचार

दीपेन्द्र प्रकाश केसी
काठमाडौं । चाडवाड नजिकिएसँगै सिंहदरबारभित्र रहेका मन्त्रालयहरु सुनसान अवस्थामा छन् । मन्त्रालयमा चाड आउनु झन्डै महिनादिन अगाडिदेखि सेवाग्राहीको काम ठप्प भइरहेको छ । कतिपय विकास निर्माणका कामहरु पनि कर्मचारी नहुँदा ठप्प भएको छ । सेवाग्राहीहरु सानोभन्दा सानो काम लिएर मन्त्रालयमा पुग्दा पनि कर्मचारीहरु भटिँदैनन् । मन्त्रालयका जिम्मेवार कर्मचारीहरु एक महिनादेखि अफिसको काम छोडेर विभिन्न स्वदेश तथा विदेश भ्रमणमा व्यस्त छन् ।

मन्त्रीहरु पनि पार्टीका कार्यकर्ता र राजनीतिक कार्यक्रममै व्यस्त हुन्छन् । कतिपय मन्त्रीहरु आफ्नो दलका कार्यकर्ता र आसेपासेलाई दशैं मनाउनको लागि खर्चको जोहो गर्न लागिपरेका छन् । पहुँचवाला कर्मचारीहरु विभिन्न बहाना बनाएर व्यक्तिगत फाइदाको लागि विदामा बस्ने गरेका छन् । मन्त्रालयमा एकादबाहेक कर्मचारी भेटिँदैनन् ।

भटिइहाले पनि ढोकामा झुन्ड्याएको बोर्डमा व्यस्त, अतिव्यस्त भनेर ढोका लगाइ अन्य मन्त्रालयतिर सेटिङ मिलाउन हिड्ने गरेको पाइन्छ । कर्मचारीहरु प्रायः कुर्सीमा कोट झुन्ड्याउने र दिनभर विभिन्न चेलखेलमा हिड्ने अनि बेलुका कोट लगाएर घर फर्कने गर्दछन् । साइडमा भेटिएका कर्मचारीलाई यहाँको सर कता जानुभयो भनेर सेवाग्राहीले साध्दा थाहा भएन भन्ने जवाफ दिने गरेको पाइन्छ । कतिपय कर्मचारी मिटिङको बनाहा बनाएर हाकिमको कोठामा गफ गरेर बसेको भेटिन्छ । अधिकांश कर्मचारीहरु खाजा खाने समयसम्म अफिसमा बस्ने र खाजा खान निस्किएपछि बाहिरैबाट हिड्ने गरेको पाइन्छ ।

अझ विभिन्न पार्टी निकट कर्मचारी नेताहरुको त कुरै छोडौं उनीहरु त महिनौंसम्म अफिस आउँदैनन् । एकैचोटी तलब झिक्न बैंकमा पुग्छन् । अधिकांश कर्मचारी नेताहरुलाई त आफ्नो अफिस कुन मन्त्रालय र विभागमा पर्छ भन्ने पनि थाहा हुँदैन । उनीहरु कर्मचारीको हकहितमा लड्ने नेताको बहाना बनाएर सरकार ढाल्ने र बनाउने खेलमा व्यस्त देखिन्छन् ।

खासगरी महत्वपूर्ण चाडवाड लागेपछि कर्मचारी नेताहरु विभिन्न चिठ्ठा खोलेर बेच्न व्यस्त हुन्छन् । उनीहरुको दशैं पेस्की र तलब बैंकमा जम्मा भइहाल्छ । आफू भने चिठ्ठा बेच्ने, विभिन्न आयोजनाहरुमा पुगेर दशैं खर्च माग्ने, नेता र पार्टीलाई खुसी बनाउने मालदार ठाउँमा आफन्त र आसेपासेलाई पठाउने काममै व्यस्त हुन्छन् । उता सेवाग्राही भने एउटा काम महिनौंसम्म नहुँदा हैरान भइराखेका हुन्छन् । दशैं, तिहार आएपछि महिनादिनसम्म त्यसकै धुनमा कुनै सेवाग्राहीको काम हुँदैन । खाली कमिसन खाने, सेवा, सुविधा लिने काममा कर्मचारी नेताहरु व्यस्त हुन्छन् ।

अन्य कर्मचारीहरु पनि आज फलानो सर हुनुहुन्न भोलि, आउनुहोस् अथवा दशैंपछि आउनुहोस् भनेर टार्ने काम गर्दछन् । उमेर हदसम्म जागिर खाने र बाचुन्जेल पेन्सन खाने कर्मचारीहरुले मनोमानी ढंगले सेवाग्राहीलाई हैरान पारिरहँदा मन्त्री र सम्बन्धित निकाय भने रमिते बनेर बसिरहेका छन् । यस्तो रवैया देख्दा नेपालीहरुको चाड कर्मचारी, नेता, मन्त्री र विचौलियाहरुको लागि मात्रै हो भन्ने देखिन्छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *