मुलुकको उद्योग कलकारखाना, संस्थानहरु बन्द गराएर सीमित व्यक्तिलाई आयातको सुविधा दिएर मुलुकमा महंगी सिर्जना गर्ने र सीमित व्यक्तिले नै मनग्ये कमाएर मुलुकको अर्थतन्त्र ध्वस्त बनाएको वास्तविकता नेपाली जनतासमक्ष स्पष्ट देखिन्छ । भ्रष्ट सरकारको कमजोर नीतिका कारण मुलुकको अवस्था जानीबुझी र नियतबस मुलुकलाई कमजोर बनाइएको छ । यसबाट सीमित व्यक्ति र राजनीतिकर्मीले फाइदा पनि लिइरहेका छन् । सरकार यो क्रमबाट अझ पछि हटेको छैन ।
विगत केही वर्ष पहिले भृकुटी कागज कारखाना, बुटवल धागो कारखाना र चिनी मिल बन्द गराइयो । त्यसैगरी, विराटनगर जुट मिल पनि बन्द गराइयो । मुलुकमा हरेक सामग्रीको मूल्यभाउ बढिरहँदा उत्पादन भएका वस्तुहरु पनि उत्पादन हुन नदिनु र उद्योग कलकारखाना बन्द गराउनु सरकार र विभिन्न राजनीतिक दलहरुको सुनियोजित काम हो भन्दा फरक पर्दैन ।
नेतृत्वको स्वार्थ लिप्सा र लापरवाहीका कारण चल्तीमा रहेका हेटौडा सिमेन्ट कारखाना तथा उदयपुर सिमेन्ट कारखाना पनि बन्द हुने अवस्थामा पुगे अहिले निजी क्षेत्रबाट उत्पादित सिमेन्ट आम उपभोक्ताले किन्न बाध्य छन् । जसका लागि महँगो मूल्य चुकाउन बाध्य परेको अवस्था छ । निजी संस्थानले मनज्ञ कमाइरहँदा सार्वजनिक उद्योग तथा संघसंस्था टाँट पल्टिनुको पछाडिको कारण के हुनसक्छ भ्रष्टाचार र खराब मानसिकताका कारण सरकारी कलकारखाना संघ संस्थाहरु उभो लाग्न सकेको छैन ।
विगतमा पनि मुलुकमा आफ्नै उत्पादन गर्दै आइरहेको गोरख काली टायर बाँसबारी जुत्ता कारखाना लगायतका ठूला र उत्पादनमूलक सरकार मातहतको उद्योग बिचौलिया र सीमित व्यक्तिको स्वार्थमा बन्द गराइयो । अहिले यी उद्योगहरूले उत्पादन गर्ने वस्तुहरू विदेशबाट आयात गरिन्छ । एकातिर यसले आन्तरिक पुँजी पलायन बनाइरहेको छ भने अर्कोतिर अर्थतन्त्र कमजोर बनाउँदै सर्वसाधारणको रोजगारी पनि खोसेको छ । मुलुकमा उद्योगहरू बन्द हुनु र विदेशबाट आयात हुनुले मुलुकको अर्थतन्त्रलाई चौतर्फी रुपमा असर गरेको हुन्छ । यस्तो अवस्था भइसक्दा पनि नेतृत्व सच्चिन नसक्नु र भ्रष्टाचारमा लिप्त हुनु मुलुकको लागि विडम्बना बाहेक अरु केही हुन सक्दैन ।