काठमाडौं । नेपाल सरकारले सबैभन्दा बढी बजेट शिक्षा र स्वास्थ्यका क्षेत्रमा खर्च गरेको पाइन्छ । अन्य मुलुकमा उद्योग, धन्दा र विकास निर्माणमा बढी बजेट खर्च गर्दछन् । शिक्षा र स्वास्थ्यमा राज्यले खर्च व्यहोर्ने गरेको पाइन्छ । तर, नेपालमा भने शिक्षा र स्वास्थ्यलाई व्यापारिक क्षेत्र बनाइएको छ । स्वास्थ्य र शिक्षामा जस्तो ठूलो व्यापार अन्य क्षेत्रमा भएको पाइँदैन ।
सरकारी अस्पतालमा सर्वसुलभ र छिटोछरितो सेवा नपाएकै कारण अधिकांश सर्वसाधारणहरु पैसाको जोहो गरेर निजी अस्पतालमा जाने गरेका छन् । निजी अस्पतालमा गएर उपचार गराउनलाई सर्वसारण जनतालाई सधैं फलामको चिउरा हुने गरेको छ । सरकारी अस्पतालमा १५ सयदेखि ३ हजारसम्म खर्च हुने बिरामीलाई निजी अस्पतालमा उपचार गराउँदा २० देखि ३० हजार खर्च हुने गरेको छ । यो रेट त सामान्य बिरामीको लागि मात्रै हो । सरकारी अस्पतालमा जेष्ठनागरिकलाई केही जाँचबाहेक फिरीमा उपचार हुन्छ ।
तर, निजी अस्पतालमा भने ८०, ८५ वर्षको बिरामीलाई पनि एक रुपैयाँ छुट दिने गरिएको छैन । उल्टै चाहिनेभन्दा बढी चेकजाच गरेर बिल बढाउने काम गरिन्छ । औषधि पनि चाहिनेभन्दा बढी लेखाउने र आफ्नै क्लिनकमा किनाउने काम निजी अस्पतालहरुले गर्दै आएका छन् ।
बिरामीले भनेभन्दा बढी रोग देखाएर अनावश्यक चेकजाँच गरी पैसा असुन्ने काम पनि निजी अस्पतालहरुले गर्दै आएका छन् । आम गरिब तथा विपन्न वर्गका बिरामीले त निजी अस्पतालको गेटबाट भित्र पनि छिर्न पाउँदैनन् । उपचारको कुरै नगरौं ।
निजी अस्पतालमा उपचारका क्रममा विपन्न बिरामी मृत्यु भएको खण्डमा पैसा नतिरेसम्म शव पनि निकाल्न दिँदैनन् । निजी अस्पतालहरुले सर्वसाधारण बिरामीमाथि लुट मच्चाइरहँदा पनि राज्यको सम्बन्धित मन्त्रालयले ध्यान दिएको पाइँदैन । स्वास्थ्यमन्त्रीले अनुगनको जति नारा दिए तापनि निजी अस्पतालहरुले टेरपुच्छर लगाएका छैनन् । त्यति मात्रै होइन निजी अस्पतालहरुमा औषधि, बेड, उपचार र औजार सबै महंगो छ । स्वास्थ्यमन्त्रीले जतिसुकै अस्पतालहरुलाई बिरामीमैत्री बनाउछु भने तापनि निजी अस्पतालहरु व्यापार गर्ने थलो मात्रै बनाएका छन् ।
निजी अस्पतालमा विपन्न र जेष्ठनागरिकहरुलाई सेवा, सुविधामा प्राथमिकता दिनुपर्नेमा त्यो पनि गरेको पाइँदैन । जब कि शिक्षा र स्वास्थ्य क्षेत्र भनेको सेवामुखी हुनुपर्ने हो । तर, नेपालमा यो क्षेत्रलाई व्यापारीमुखी बनाइएको छ । स्वास्थ्यमन्त्री फेरिएपिच्छे सुरुमा क्रान्तिकारी भाषण दिँदै यो सुविधा ल्याउछु र ऊ सुविधा ल्याउँदै भन्दै भाषण गर्दछन् । केही समयपछि तिनै माफियाहरुले सञ्चालन गरेका निजी अस्पतालहरुबाट कसिमन खाएर उनीहरुकै सोझो गर्न व्यस्त हुने गरेका छन् । अहिलेका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले पनि सुरुसुरुमा केही स्पतालहरुको अनुगमन गरेजस्तो गरेर हायलकायल बनाए ।
पछि मन्त्री बस्नेतले स्वास्थ्य माफियाहरुसँग मिलेमतो गरी असुली धन्दा थालेका छन् । मन्त्री बस्नेतले अधिकांश स्वास्थ्य विज्ञहरुलाई वाइपास गरी आफू नजिकका पिए र सल्लाहकार राखेर निजी अस्पताललाई पोसाउने र मोटो रकम असुल गर्ने गरेको समाचार स्रोतको भनाइ छ । त्यसैले अधिकांश सिन्धुपाल्चोके जनताले भन्न थालेका छन्, मोहन बस्नेतलाई जति सम्पत्ति भए पनि नपुग्ने रहेछ । मन्त्री भएपछि जनताको काम छाडेर कमाउनतिरै व्यस्त भएको आरोप पनि लाग्न थालेको छ ।
उतातिर नेपालमा जलानसम्बन्धी उपचार गर्ने एक मात्र बर्न अस्पताल कीर्तिपुरमा रहेको छ । सो अस्पतालमा उपचार सामग्री र चिकित्सकहरुको अभावले गर्दा पनि कतिपय जलनका घाइतेहरुले उपचार नपाएको अवस्था छ । काठमाडौं उपत्यकाभित्र घटना वस्ती भएको कारणले पनि यस्ता घटनाहरु प्रशस्तै घट्ने गरेका छन् । त्यस्तै स्थानीय र प्रदेशस्तरमा समेत जलन सम्बन्धी उपचार गर्ने बर्न अस्पताल खडा गर्नुपर्ने ठाउँमा देशभरि एउटै स्पतालमा समेत आवश्यक औषधि, उपकरण र चिकित्सकको व्यवस्था गर्न सकेको छैन । स्वास्थ्य तथा जनसंख्यामन्त्री जुनसुकै पार्टी बने तापनि यस्ता सम्वेदनशील विषयमा ध्यान नदिइ कमाउ धन्दामै व्यस्त रहने गरेका छन् ।
गठबन्धन सरकारका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले पनि देशभरिमा एउटै मात्र बर्न अस्पताललाई ध्यान दिएका छैनन् । मन्त्री बस्नेत सस्तो लोकप्रियता देखाएर हल्ला गर्ने र कमाउ धन्दामै व्यस्त हुने गरेका छन् । मन्त्रीका सहयोगी र आसेपासे पनि स्वास्थ्य क्षेत्रका कामहरु चुस्तदुरुस्त बनाउन सल्लाहसुझाव दिनुपर्नेमा मौकाको फाइदा उठाउँदै कमाउधन्दामा लागिपरेका छन् । (तामाकोशीसन्देशबाट)