दलका नेताहरु ‘खोलो तर्दै, लौरो’ बिर्सिँदै

राजनीति लेख

साबित्री खत्री
काठमाडौं । नेपालमा प्रजातन्त्र पुनःस्थापनासँगै लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नको लागि साप्ताहिक पत्रिकाहरुले खेलेको भूमिका महत्वपूर्ण देखिन्छ । तर, ती साप्ताहिक पत्रिकाहरुले पुराना दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जसपा, लोसपा, मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चालगायतका दलहरुले “खोलो त¥यो, लौरो बिर्सियो” को अवस्थामा हेरेका छन् । यी दलहरुले हिजोका दिनमा साप्ताहिक पत्रिकाको बलमा प्रजातन्त्र र लोकतन्त्र ल्याउनको लागि आन्दोलन छेडेका थिए ।

अहिले त्यहीं साप्ताहिक पत्रिकाको बलमा आएको व्यवस्थाबाट सत्तामा पुगेपछि दलहरुले साप्ताहिक पत्रिकाहरुलाई बिर्सिएका छन् । निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध दलहरुले आन्दोलन गरिरहँदा साप्ताहिक पत्रिकाहरुले उनीहरुको आवाजलाई बुलन्द बनाउँदै जनतासमक्ष मुखरित गराएका थिए । राजनीतिक दलहरुको विचार, भावना र सिद्धान्तलाई जनता समक्ष पु¥याएर त्यही समाचारको आडमा नेपालमा प्रजातन्त्र र लोकतन्त्रको स्थापना भएको थियो । साप्ताहिक पत्रिकाको बलमा प्रजातन्त्र स्थापना भएपछि नेपालमा सञ्चारमाध्यममा लगानी गर्नेको ओइरो लाग्यो । प्रजातन्त्र आउनु अगाडि साप्ताहिक र केही मासिक बाहेक अन्य मिडिया निजी रुपमा खोलिएका थिएनन् । सरकारी सञ्चारमाध्यममा गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजन सञ्चालित थिए ।

तर, निजी लगानीमा साप्ताहिक बाहेक कुनै दैनिक छापामाध्यम, रेडियो, टेलिभिजन थिएनन् । तर, साप्ताहिक पत्रिकाले पञ्चायती व्यवस्थाले पार्टी र त्यसका नेतालाई प्रतिबन्द लगाउँदा पनि लुकीछिपी बहुदलको पक्षमा समाचार लेखेर जनतालाई सुसूचित गर्ने काम गर्दै आएका थिए । त्यही साप्ताहिक पत्रिकाको बलमा कांग्रेस र कम्युनिस्टहरुको आन्दोलन सफल भएर निर्दलीय पञ्चायती व्यवस्थाले घुडा टुकेको थियो । राजनीतिक दलहरुलाई अप्ठ्यारो परेको बेलामा साप्ताहिक पत्रिकाहरुले सहयोग गरेर व्यवस्था परिवर्तन भयो । आन्दोलन सफल भएपछि दलका नेताहरु सत्तामा पुगे ।

दलका नेताहरु सत्तामा पुगेपछि साप्ताहिक पत्रिकाहरुलाई विभिन्न बहानामा दुःख दिने काम गर्दै आएका छन् । मुलुकमा व्यवस्था परिवर्तन भएर पत्रपत्रिकालाई सहज वातावरण सिर्जना भएपछि व्यवसायिक रुपमा खोलिएका ठूला लगानीका मिडियालाई मात्रै सहयोग गर्ने काम दलहरुले गर्दै आएका छन् । दलको सरकार बनेपछि साप्ताहिक पत्रिकाहरुलाई सहयोग गरेर बचाउनुपर्नेमा उल्टै विभिन्न बहानामा दुःख दिएर बन्द गराउने अवस्थातिर पु¥याउँदै आएका छन् । पञ्चायती व्यवस्थामा पनि साप्ताहिक पत्रिकाहरुलाई नयाँ वर्ष, विजया दशमी, दिपावली, छठलगायत महत्वपूर्ण चाडमा सरकारका विभिन्न निकाएहरुले विज्ञापन दिइँ सहयोग गर्ने गरेका थिए ।

तर, मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछि विभिन्न बहानामा राजनीतिक दलका नेता र कर्मचारी तन्त्रले तिनै साप्ताहिक पत्रिकालाई घाँटी निमोठ्ने काम गर्दै आएका छन् । दलका नेता र कर्मचारी तन्त्रको यस्तो हर्कतले जनताले पाउने सूचनाको हकमा समेत बन्देज गराउने काम गर्दै आएका छन् । नियमपूर्वक विज्ञापनको लागि छुट्याइएको रकम पनि रकमान्तर गरेर पत्रपत्रिकालाई असहयोग गर्ने काम गरिएको छ । अहिले पनि देशको समसामयिक विषयमा तिनै साप्ताहिक पत्रपत्रिकाले लेख्ने गरेका छन् । भ्रष्टाचार, अनियमितता र राष्ट्र, राष्ट्रियताप्रति आवाज उठाउने काम साप्ताहिक पत्रिकाले नै गर्दै आएका छन् ।

ठूला लगानीमा सञ्चालित मिडियाहरुले यस्ता विषमा खासै चासो दिने गरेका छैनन् । खाली व्यापारिक घराना र ठूला चलखेलमा उनीहरु केन्द्रित हुने गरेको देखिन्छ । साप्ताहिक पत्रिकाले देशको समसामयिकय विषयमा महत्वपूर्ण भूमिका खेले तापनि दलका नेता र कर्मचारीहरुले त्यसको महत्व बिर्सिँदै गएका छन् । पहिला साप्ताहिक पत्रिकाहरुलाई सहयोग गर्दै आएका निकाएहरुले पनि अनेक बहाना बनाएर सूचना रोक्ने काम गरेका छन् । यसो किन गरिएको हुनुपर्छ भने देशमा हुने गरेका जति पनि भ्रष्टाचार, अनियमितता र आपराधिक घटनाहरु छन् त्यसको समाचार साप्ताहिक पत्रिकाले लेख्ने गरेका छन् ।

त्यसैले ‘नरहे बाँस, नबजे बाँसुरी’ भने झैं साप्ताहिक पत्रिका बन्द गराउन विज्ञापन रोक्ने काम गरिएको छ । पछिल्लो समय नेता, जनप्रतिनिधि र कर्मचारीहरुको मिलेमतोमा देशको माथिल्लो निकायदेखि तल्लो निकायसम्म हरेक काममा संस्थागत भ्रष्टाचार हुने गरेका छन् । त्यसको समाचार साप्ताहिक पत्रिपत्रिकाले लेख्ने गर्दै आएका छन् । ठूला मिडियाहरु त तिनै भ्रष्टाचार, अनियमितता र विचौलियाहरुको सेटिङमा चल्ने गर्दछन् । त्यसैले पनि अहिलेका शासकहरुले भ्रष्टाचार, अनियमितता, अत्याचार र आपराधिक गतिविधिका समाचार लेख्ने साप्ताहिक पत्रपत्रिकाहरुको घाँटी निमोठ्ने काम गरेको हुनुपर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *