रक्षामन्त्री निकम्मा बन्दा सेनाभित्र भद्रगोल

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसबाट रक्षामन्त्री बनेका पूर्णबहादुर खड्काले रक्षामन्त्रालय सम्हालेको वर्षदिन पुग्न लाग्दा पनि सेनाभित्र कुनै राम्रो काम गर्न नसकेको आरोप कांग्रेसभित्रै लाग्न थालेको छ । रक्षाजस्तो महत्वपूर्ण मन्त्रालय सम्हालिरहँदा सेनाभित्र हुने बढुवाको विवाद छताछुल्ल हुँदा पनि मन्त्री खड्काले समाधान गर्न नसकेको आरोप लाग्दै आएको छ ।

भावी प्रधानसेनापतिको लागि ताराध्वज पाण्डे र अशोक सिग्देलबीच मिडियावाजी हुन थालेको छ । प्रधानमन्त्री प्रचण्डले ताराध्वज पाण्डेलाई भावी सेनापतिको ग्रिन सिघ्नल दिएपछि कांग्रेसभित्र रक्षामन्त्री प्रचण्डकी पूर्वाबहादुर भन्ने चर्चा शेखर कोइराला गुटतिर चल्न थालेको छ । भावी सेनापतिको बन्नको लागि विगत लामो समयदेखि चलखेल सुरु भएको छ । हालका प्रधान सेनापति प्रभुराम शर्माको कार्यकाल एक वर्ष हाराहारी रहँदा नै भावी सेनापति बन्नको लागि केही महिनादेखि चेलखेल सुरु भएको थियो । उक्त चलखेल अहिले आएर विवादित बन्न पुगेको छ । रक्षा सचिव किरण शर्माले पनि सेनाभित्रको विवादलाई समाधान गर्ने पहल गरेका छैनन् । सचिव र मन्त्रीको लापरवाहीकै कारण सेनाभित्र विवाद सिर्जना भएको हुनुपर्छ ।

ताराध्वज पाण्डे रथीमा बढुवा भएपछि उनको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रमा फरकफरक जन्म मिति भएको विषय बाहिर आएको छ । सो विषय बाहिर आएपछि पाण्डेविरुद्ध अख्तियारमा उजुरी परेको थियो । पाण्डेविरुद्ध उजुरी परेपछि अख्तियारले रक्षा सचिवलाई छानविन गरी एकिन गर्न पत्र पठाएको समाचार स्रोतको भनाइ छ । अख्तियारबाट पाण्डेको शैक्षिक योग्यता र नागरिकताको विषयमा छानविन गर्न पत्र आएपछि रक्षासचिव रनथनिएका छन् । पाण्डे रथीमा बढुवा भएसँगै अशोक सिग्देल र ताराध्वज पाण्डेबीच पक्षविपक्षमा मिडियावाजी सुरु भएको छ । यस्तो पक्षविपक्षको विवादले नेपाली सेनाभित्र गुटउपगुट खडा भएको छ ।

सेनाभित्र गुटउपगुट खडा हुनु राम्रो पक्ष होइन । सेनाभित्र देखिने गरी विवाद सिर्जना हुँदा पनि रक्षामन्त्री खड्काले खुलेर न्यायको पक्षमा बोल्न सकेका छैनन् । तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापा, बाहलवाला रथी सिताराम खड्का र जर्नेल सन्तोष बल्लभ पौडेल पाण्डेको पक्षमा उभिएको बताइन्छ । तर, बहालवाला प्रधानसेनापति प्रभुराम शर्मा र अन्य केही उच्च तहका सैनिक अधिकारीहरु अशोक सिग्देलको पक्षमा रहेको आँकलन गर्न थालेका छन् ।

रथी ताराध्वज पाण्डे र अशोक सिग्देल भावी सेनापति बन्नको लागि राजनीतिक दलका नेतादेखि मन्त्री हुँदै सञ्चार माध्यमहरुको ढोका ढकढक्याउन थालेका छन् । तर, भावी सेनापति को बन्ने हुन् त्यो भने अहिलेसम्म एकिन छैन । राजनीतिक दलकै कारण नेपाली सेना जस्तो गरिमामय संस्था विवादित हुन थालेको छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *