प्रहरीभित्र महानिरीक्षकसँगै एआईजी ज्ञवाली पनि बद्नाम

राजनीति समाचार

काठमाडौं । नेपाल प्रहरीभित्र ‘जुन जोगी आएपनि कानै चिरेको’ भन्ने भनाइ चरितार्थ भएको छ । बसन्त बहादुर कुँवर महानिरीक्षक भएको पनि आठ महिना बितिसकेको छ । तर, नेपाल प्रहरीका महानिरीक्षकले गर्नुपर्ने कामहरु उपयुक्त ढंगले गर्न नसकेको गुनासाहरु आइरहेका छन् । प्रहरीले दिनुपर्ने शान्तिसुरक्षामा पनि राम्रो ध्यान नदिएको आरोप उनीमाथि बेलाबखत लाग्ने गरेको छ ।

प्रहरी प्रशासनले जति गर्नुपर्ने काम थियो त्यो गर्न सकेको छैन । नेपालीहरुको महान चाड वडा दशैं सकिएसँगै अर्को ठूलो चाड शुभदीपावलीलाई लिइन्छ । खुला सिमानाको कारण छिमेकी मुलुक भारतबाट वर्षैपिच्छे विभिन्न रङ्गीचङ्गी पटका, भुँईचम्पा, झिरझिरे जस्ता सामग्रीहरु नेपाल भित्रिने गरेका छन् । मानव स्वास्थ्य र आगजनी हुने खालका सामग्रीहरु नेपाल भित्रिँदा पटककाको कारणले कतिपय बालबालिका घाइते हुने, आगजनी हुने घटनाहरु नभएका होइनन् । त्यसैगरी दशैंदेखि नै कतिपय ठाउँ र टोलहरुमा जुवा, तास र लागुपदार्थको अखडा बनिरहेका छन् ।

ती अखडाहरुमा दिनदहाडै लागुपदार्थ सेवानदेखि जुवा, तासा खेलाउनेदेखि यौनजन्य क्रियाकलापहरु भइराखेका छन् । यस्ता क्रियाकलापमा सर्वसाधारणदेखि उच्च घरानाका व्यक्ति, सुरक्षा निकायका व्यक्ति र जिम्मेवार कर्मचारीसमेत संलग्न रहने गरेको पाइन्छ । चाडवाडको समय पारेर सवारी चालकदेखि विभिन्न होटेल, लज, रेष्टुरेन्ट, भट्टी, रक्सी उत्पादक कम्पनी, विभिन्न उद्योगीव्यावसायीहरुबाट घुसा खाने गरेका छन् । चाडवाडको समयमा हुने चोरीडकैती र पाकेटमाराहरुसँग प्रहरीहरुको मिलेमतो रहने गरेका थुप्रै घटनाहरु बाहिर आइरहेका छन् ।

प्रहरीकै मिलेमतो र संलग्नतामा अधिकांश होटेल, रेष्टुरेन्टमा जुवा, तास खेलाउने, सुरासुन्दरीसँग रमाउने काम भइरहेका छन् । मादकपदार्थ सेवन गरेर झैझगडा गरेर ज्यानसम्म जाने घटनाहरु पनि नभएका होइनन् । त्यसतर्फ नेपाल प्रहरीले खेल्नुपर्ने भूमिका खेल्न सकेको छैन ।

अधिकांश प्रहरी अधिकृतहरु खाली कमाउधन्दामा व्यस्त हुने र मालदार नाकाहरुमा सरुवाको लागि चाकडीमा व्यस्त हुने गरेका छन् । प्रहरीभित्र हुने यस्ता विकृति, विसंगतिप्रति महानिरीक्षक कुँवरले ध्यान दिएका छैनन् । त्यसैगरी, कतिपय यातायात व्यवसाय सञ्चालन गर्नेहरुले बढी भाडा उठाउने र यात्रुहरुलाई अलपत्र पार्ने गरेका छन् । कतिपय सहचालक र चालकहरुले खाना खाने होटेलमा खाना खाइसकेपछि विभिन्न लागुपदार्थहरु सेवन गरी सवारी चलाउँदा दूर्घटना हुने घटनाहरु पनि थुप्रै छन् ।

त्यसप्रति प्रहरीले अनुगमन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सकेको छैन । त्यस्तै नक्कली भुटानी सरणार्थी काण्डमा मुछिएर फरार रहेका राजनीतिक दलका नेता र कार्यकर्ता पक्राउ गरी कारबाही गर्न सकेको छैन । राष्ट्रिय चाड दीपावली नजिकिँदै छ, त्यसप्रति पनि प्रहरीले अपनाउनुपर्ने सजकता अपनाएको देखिँदैन । नेपाल प्रहरी सधैं विवादित संस्थाको रुपमा परिचित हुँदै गएको छ । उता, नेपाल प्रहरीका एआईजी श्याम ज्ञवालीको विरुद्धमा कारबाहीको माग गर्दै राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको बताइन्छ ।

जब नेपाल प्रहरीका उच्च अधिकृतहरु महत्वपूर्ण ठाउँमा पुग्न थाल्छन् अनि उनीहरु विरुद्ध एउटा न एउटा अनियमितताको उजुरीमा बद्नाम हुने गर्दछन् । त्यही अवस्थामा अहिले एआईजी श्याम ज्ञवाली पुगेका छन् । श्याम ज्ञवालीको विवाद जागिर प्रदेश गर्दाको उमेर दह बनेको बताइन्छ । नेपाल प्रहरीमा जागिर प्रदेश गर्न २५ वर्ष ननाघेको हुनुपर्छ । तर, ज्ञवाली भने २५ वर्ष नाघेपछि नेपाल प्रहरीमा प्रवेश गरेको उजुरी परेको बताइन्छ । यदि नेपाल प्रहरी ऐन अनुसार उनले उमेर ढाँटेको हो भने कारबाहीको भागीदार हुने देखिन्छ । नेपाल प्रहरीमा ज्ञवाली मात्रै होइनन् अन्य प्रहरी अधिकृतहरु पनि कहिले नागरिकता र कहिले शैक्षिक योग्यताको विषयमा त कहिले उमेर दह र चारित्रिक विषयमा विवादित हुने गरेका छन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *