रामचन्द्र बस्नेत
राजनीतिक दलभित्र जब सत्ता परिवर्तन हुन्छ अनि सीमा सुरक्षाको कुरा उठ्न थाल्छ । सधैं नेपालको सीमाको बारेमा कुरा उठे तापनि व्यवहारमा लागु भएको पाइँदैन । सीमा सुरक्षाको बैठक पनि बारम्बार नेपाल र भारतबीच हुने गर्दछ । त्यसले सार्थकता कहिल्यै पाएको छैन । राजनीतिक दलका नेताहरु जब सत्ताबाट बाहिरन्छन् अनि ठूला–ठूला स्वरमा सीमा विवादका कुरा लिएर सडक तताउन थाल्छन् ।
नेपाल र भारतबीच खुला सीमाना भएको कारणले पनि अधिकांश नाकाबाट चोरी तस्करीका घटनादेखि जघन्य आपराधिक गतिविधिहरु बढ्ने गरेका छन् । सीमा सुरक्षामा रहेका सुरक्षाकर्मीले पनि त्यसको निगरानी गर्न सकेका छैनन् । नाकामा बसेका सुरक्षा निकायले निगरानी गरे तापनि खुल्ला सीमानाका कारण चेरीपैठारीका कामहरु रोक्न सक्ने अवस्था छैन । खुला सीमानाकै कारण नेपाली भू–भागहरु दिनप्रतिदित भारतले मिचिरहेको छ ।
सीमा क्षेत्रमा रहेका पिलरहरु पनि नेपालतिर सार्ने र कतिपय बेपत्ता बनाउने काम भारतबाट भइरहेको छ । दलका नेताहरुले पिलुखेक, कालापानी, सुस्ता र लिम्पियाधुराका कुरा जतिसुकै उठाए तापनि त्यो विषय नारामै सीमित हुने गरेको छ । प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा नेपालको भू–भाग समेटेर बनाएको चुच्चे नक्सा पनि नारामै सीमित भएको छ ।
ओलीले नेपालको चुच्चे नक्सा बनाएर देखाए पनि त्यसलाई कार्यान्वयनमा ल्याउन सकेनन् । अन्य दलहरुले त त्यसबारेमा कुरासमेत उठाएनन् । ओली प्रधानमन्त्री भएको बेलामा नेपालीहरुलाई भुलभुलैयामा पारेर रमाइलो गरे तर ओली सत्ताबाट हटेपछि चुच्चे नक्सा पनि हरायो । हुँदाहुँदा अहिले चाइनाले सार्वजनिक गरेको नक्सामा समेत नेपालको चुच्चे नक्सा समेटिएको भू–भाग पाइएन । एकातिर भारतले नेपाली भू–भागमाथि थिचोमिचो गरिरहेको छ भने अर्कोतिर छिमेकी मुलुक चीनले पनि नेपालको सीमाप्रति कुनै चासो राखेको पाइँदैन । नेपालका राजनीतिक दलहरुले देशको सीमा सुरक्षा जस्तो सम्वेदनशील विषयमा गम्भीर छलफल गरी अन्तर्राष्ट्रिय समुदायसँग परामर्श लिन सकेको अवस्था पनि छैन । सीमा सुरक्षाको त कुरै नगरौं, नेपालको राजनीतिमा दलहरुले स्थायित्व दिन पनि सकेका छैनन् ।
दलहरु नै एकअर्काप्रति गालीगलौज दुश्मनी साध्ने काम गरिरहेका छन् । उता, अहिले नेपाल र भारतबीच सीमा सुरक्षा बैठक चलिरहेको छ । नेपाल र भारतबीचको सीमा क्षेत्रमा हुने आपराधिक चुनौतिका विषयहरु पनि बैठकमा बारम्बार कुरा नउठेका होइनन् । अहिलेको बैठकमा पनि यस्ता विषयमा छलफल हुँदैछ । तर, सो बैठकले सार्थकता पाउने देखिँदैन । नेपाल–भारतबीच हुने सीमा सुरक्षाका बैठक छलफलमै सीमित हुँदै आएका छन् । अहिले भइरहेको बैठक पनि पहिलाको जस्तै कागजमै सीमित हुने देखिन्छ । नेपालका राजनीतिक दलका शीर्ष नेताहरुले भारतमा भइरहेको सीमा सुरक्षाको बैठकको बारेमा एक शब्द पनि बोलेका छैनन् ।
त्यसले गर्दा अहिले दिल्लीमा भइरहेको नेपाल–भारत सीमा सुरक्षा बैठक पनि खाली औपचारिक निभाउन गरिएको जस्तो देखिन्छ । नेपालका राजनीतिक दलका नेताहरुले सीमा विवादको विषय उठाएर चुनावको बेला भोट बैंक बनाउने काम गर्दै आएका छन् । चुनाव जितेर सत्तामा पुगेपछि सीमा सुरक्षासम्बन्धी संसदमा एक शब्द बोल्ने गरेका छैनन् । बरु उल्टै प्रधानमन्त्री बन्न र सत्तामा टिकिरहनको लागि भारतकै सरणमा पुग्ने गर्दै आएका छन् । जुनसुकै दलका नेता प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारतबाटै सुरु गर्ने गर्दछन् । अनि पार्टी संगठनको विषय लिएर गाउँमा पुगेपछि भारतविरुद्ध ठूला–ठूला स्वरले भाषण गर्दछन् ।