ananta gurung

नेपालमा राजतन्त्र वापसीको सम्भावना

राजनीति लेख

धेरै नेपालीको मनमा अहिले राजतन्त्रको वापसी होलाकि नहोला भन्ने कौतुहल जागेको छ । ८० बर्ष पार गरेका तल्ला घरे बुबाले राजतन्त्र नफर्कने भनी ठोकुवा गर्नु भयो । मलाई अचम्म लाग्यो किनकि अहिलेको जनलहरुले राजतन्त्रको वापसी तिर संकेत गरीसकेको छ । अर्थिक हिसाबले सक्रिय २० बर्ष देखि ६० बर्ष उमेर बिचका नेपालीहरु वैदेशिक रोजगारीमा गएकाछन ।

नेपालमा भएका केहीलाई सोद्धा दलका नेताहरुको नकारात्मक नीतिहरु कै कारण नेपालमा राजतन्त्र फर्किने संभावना भएको बताएका छन । तत्कालिन राजा ज्ञानेन्द्रलाई दलहरुले हटाएको नभएर जनभावना अनुसार दलहरुलाई लौगरी खाओ भनी राजा स्वयमले अस्थाई रुपमा पद त्याग गरेका थिए । त्यस पछि नेपालमा दलहरुले केकेगरे भन्ने कुरा नेपाली जनता सबैलाई थाहा भएकै कुरा हो । त्यो बेला दलहरुको राजातन्त्र बिरुद्धको अन्दोलनले गर्दा नेपाल अशान्त मुलुक भएको थियो । माओवादी पार्टीको नेतृत्वमा भएको सशस्त्र द्वन्द्वमा १७ हजार नेपाली जनताको ज्यान गईसकेको अवस्था नेपालमा थियो । थप नेपाली जनताको हत्या हुनबाट बचाएर मुलुकमा शान्ति बहाली गर्नको लागि तत्कालिन राज ज्ञानेन्द्रले अफुसित भएको सैनिक परिचालनको विकल्पलाई छाडि अस्थाई रुपमा पद त्याग गरेका थिए ।

तत्कालिन राजा ज्ञानेन्द्रले नेपाल छाडेर बिदेश पस्ने वा आफ्ना सन्तानलाई बिदेशमा लगेर सुरक्षित बसाल्ने सोचाई राख्नु भएन । आफनै देशमा व्यवसाय चलाउँदै परिवारका सदस्यहरुलाई पनि नेपालमा नै बस्नको लागि प्रेरित गर्नु भयो । भूकम्प र कोभिड १९ को बेलामा पनि नेपाली जनताको दुःख कस्टलाई हेरी आर्थिक साहायता प्रदान गर्नु भयो । तत्कालिन युवाराज्ञी हिमानीले आफ्नै नाममा ट्रष्ट समेत खोली नेपाली जनताको घरदैलोमा नै पुगेर सहायता गर्नु भएर नेपाली जनताको मन जित्नु भयो ।

भन्नेले जेसुकै भनेपनि वास्ता गर्नु भएन र निरन्तर नेपाली जनताको सेवामा जुटी रहनु भयो । सेवाको मेवा मीठो हुन्छ भने झै आज आएर नेपाली जनताले राजतन्त्रलाई गणतन्त्र भन्दा राम्रो मान्न थालेका छन । दलहरुले राजतन्त्रको तुलनामा राम्रो काम गर्न नसकेको हुँदा राजतन्त्र प्रतिको नेपाली जनताको सोचमा ठुलो परिवार्तन आएको छ । दलहरुले राजतन्त्र माथि लगाएका सबै आरोपहरु प्रामाणित गर्न सकेनन् । बिदेशी बैंकमा पैसा राखेको बिदेशमा लगानी गरेको भन्ने दलहरुले राजतन्त्र माथि लगाएका आरोपहरु सबै झुटा सवित भईसकेका छन ।

साथै स्वर्गिया राजा वीरेन्द्रको बंश नै नास हुने गरी भएको राजदरवार हत्या काण्डमा तत्कालिन राजा ज्ञानेन्द्रको संलग्नतालाई पनि लामो समय देखि सत्ता चलाउँदै आएका दलका नेताहरुले कानुनी छानबिन गरी आरोप प्रमाणित गर्न सकेनन् । नेपाली जनताले भने उक्त राजदरवार हत्या काण्ड दलका नेताहरु र ईण्डो–अमेरिकी षडयन्त्रको परिणाम हो भन्ने मानेकाछन । १२ बुँदे दोस्रो दिल्ली शान्ति सम्झौता भारतीय नेताहरुको पहलमा सम्पन्न भएको थियो । उक्त शान्ति सम्झौताको अक्षरस पालन हुने कुरामा भारतीय नेताहरुले प्रत्याभूति दिएका थिए । तर उक्त शान्ति सम्झौतामा राजतन्त्रलाई हटाउने, नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउने जस्ता बिषयको कतै उल्लेख गरिएको थिएन । दोस्रो दिल्ली शान्ति सम्झौता पश्चात दलहरुले तत्कालिन राजा ज्ञानेन्द्र सित छुट्टै ५ बुँदे सहमति गरेको कुरा चर्चामा आएपनि सम्झौता गर्ने ७ दलहरुले त्यसलाई गोप्य राखेका थिए ।

पहिलो र दोस्रो संविधान सभाले बढो मुस्किलको साथ नेपालको संविधान २०७२ बनाउने काम सम्मन्न गरेको थियो । तर उक्त संविधानले तत्कालिन राजालाई कुनै पनि भूमिकाको व्यवस्था गरेन । साथै संसारमा वैदिक सनातनी हिन्दूराष्ट्र भनी चिनिएको नेपाललाई हचुवाको भरमा धर्मनिरपेक्ष राष्ट्र बनाईएको थियो । उक्त संविधान जारी हुने बेलामा ठुलै जनबिरोध चर्किएको थियो । भारतले पनि नेपालको संविधान २०७२ प्रति असन्तोष व्यक्त गरेको थियो । दलका नेताहरुले यस्ता असन्तोषहरुलाई त्यतिबेला सामसुम पार्नसके पनि नेपाली जनताको पूर्णसमर्थन भने जुटाउन सकेनन् ।

फलस्वरुप राजतन्त्रवादीहरु त्यसबेला मौन बसेपनि पछिल्लो समयमा दलहरुको निषेधको राजनीतिलाई खुलेरै बिरोध गर्न थाले भने मधेसका नेपाली हरुले संविधानमा संसोधन गर्नुपर्ने भन्दै ४ महिना भयन्कर आन्दोलन नै गरेका थिए जसलाई दलहरुले बलपूर्वक थामथुम पार्न सफल भएपनि मधेसको संविधानमा संसोधन गर्ने मागलाई अझ सम्मपनि संबोधन गरिएको छैन ।नेपाल राष्ट्रलाई धर्मनिरपेक्ष राष्ट्र बनाउने खेलमा महत्वपूर्ण भूमिका निर्बाह गरेका दलका नेताहरुले खुलेआम ईसाई धर्मको प्रचार प्रसार गर्नमा जुटेपछि दलहरु प्रतिको नेपाली जनताको झुकावमा परिवर्तन आउन थाल्यो ।

वैदिक सनातनी हिन्दूराष्ट्र नै चहिन्छ भन्नेहरु खुलेर आउन थाल्यो र धर्मनिरपेक्षको आडमा ईसाई धर्मको प्रचार प्रसार गरी धर्म परिवर्तन गराउने दलका नेताहरुको आलोचना सुरु भयो । हिन्दूधर्म र राजतन्त्र एकअर्का सित जोडिएको बिषय भएकाले राजतन्त्रवादीहरुले राजतन्त्र र हिन्दूधर्मको वापसीको लागि जोडदार आवाज उठाएका छन भने गणतन्त्र र संघियताको खारेजीको लागि माग गरेकाछन । नेपालमा आर्थिक संकट बढ्नुको पछाडि संघियता र गणतन्त्रको संरचनाहरु खर्चालु भएकोले नै हो भन्ने धेरैले ठम्याएका छन ।

दलका नेताहरु भ्रष्टाचारी हुनको साथै मानव तस्कर र सुन तस्कर पनि भएको प्रमाणित भईसकेका छन । मानव हत्या जस्ता जघण्य अपराध गरेकाहरुलाई पनि राजनीतिक घटना मान्दै संविधानमा भएको आममाफीको व्यवस्थालाई दुरुपयोग गरी बाँकी कैदसजाय माफी दिएकाले दलका नेताहरुका बिरुद्ध जनआक्रोश बढेको छ । बलात्कार जस्ता संगिन अपराध गरेकाहरुलाई पनि सरकारको नेतृत्व गरी बसेका दलका नेताहरुले नै संरक्षण गर्ने गरेको सार्वजनिक रुपमा नै खुलासा भएकाछन ।

महिला हक अधिकारलाई वेवास्ता गर्दै महिला बिरुद्ध भएका बलात्कार जस्तो काण्डलाई फासफुस पार्न खोज्नु दलका नेताहरुको ठुलो गल्ती हो । यस्ता दलका नेताहरुलाई देखेर आम नेपाली जनता चिन्तित भएका हुँदा राष्ट्रको सुरक्षा र शान्तिको निमिक्त राजतन्त्र नै उपयुक्त भएको निष्कर्ष नेपाली जनताले निकालेका छन् । दलहरुको लापरवाही र लोभ लालचले गर्दा एकातिर नेपाली जनताले महंगी र आर्थिक संकट व्यहोर्नु परेको छ भने अर्को तिर नेपाल राष्ट्र दलहरुले बढाएको ऋणको बोझले गर्दा असुरक्षित बन्दै गएको छ ।

नेपाली जनतालाई दलहरुले नेपालको अस्तित्व नै समाप्त पार्ने हुन कि भन्ने शंकाले सताउन थालेको छ । पहिले दलहरुले फैलाएको भ्रमको जालोमा परी नेपाली जनताले दलहरुलाई राजतन्त्रको बिरुद्ध सघाएका थिए तर अब नेपाली जनताको आँखा खुली सकेको हुँदा दलका नेताहरुको फटाहगिरी चाल पाईसकेका छन ।नेपाली जनताको आत्मसम्मान र स्वाभिमानलाई दलहरुले चुरुचुर पारीसकेका छन । नेपाल राष्ट्रलाई एशियाकै सबै भन्दा गरिब मुलुक बनाउन सफल दलहरुले नेपाललाई बिदेशी सित मिलेर अफगानिस्तान वा युक्रेन जस्तै युद्ध भूमि बनाउने पुरा तयारी गरीसकेका छन । हातहतियार सहित हुलका हुल अमेरिकी सेना नेपालमा छिर्ने क्रम सुरु भईसकेको छ ।

अमेरिकी परियोजनाहरु एमसीसी र आईपीएस मार्फत नेपालमा अमेरिकी सेना छिराउने बाटो दलहरुले नै खुलाएका हुन । नेपाली जनता भगवान पशुपति नाथ सित शरणार्थीको जीवन बाताउन नपरोस भन्दै प्रार्थना गर्दैछन । दलहरुले नेपाल राष्ट्र र नेपाली जनताको लागि धेरै नै असुरक्षित अवस्था सृजना गरीसकेका छन भने राष्ट्रको बिकास गर्ने तिर भने सिन्को भाँचेका छैनन् । राजतन्त्र कालमा बनेको औद्योगिक बिकासको आधारहरु सबै भत्काएका छन तर त्यसको ठाउँमा दलहरुले नयाँ व्यवस्था गर्न सकेको छैन । हचुवाको भरमा राजनीतिक निर्णयबाट कमिसन खानका लागि बनाएका वा बनाउन थालिएका ठुला परियोजनाहरु नेपाल राष्ट्रको लागि खर्च बढाउने घाँडो मात्रै बनेका छन । ठुला परियोजनाहरुले नेपालको लागि रोजगारी बढाउने भन्दा पनि बिदेशीलाई नेपालमा छिर्न सजिलो तुल्याएको छ ।

दलहरुकै वैदेशिक रोजगारी नीतिको कारण नेपाली जनता सबै रोजगारीको लागि बिदेशीको गुलाम बन्न बाध्य भएकाछन । दलहरुले लिएका नीतिहरु खराब भएकोले त्यसले नेपाली जनताको जीवनलाई झनझन कस्टकर तुल्याउँदै लगेको महशुस हुन थालेको छ तर दलका नेताहरुको भने त्यसमा सुधार गर्ने तिर ध्यानै गएको छैनन् । त्यसैकारण दुर्गा प्रसाईले झापाबाट महाअभियान सुरु गर्दै कानमा तेल हाली सुतेका नेपाली जनतालाई दलहरुका शोषणको बिरुद्ध जगाउन खोजेका छन । उहाँले नेपाली जनतालाई राजतन्त्र र हिन्दूराष्ट्रको वापसीको लागि आन्दोलन गर्न ढिलो नगरौ भन्ने सन्देश दिएकाछन । यसरी नै नेपाली जनता र नेपाल राष्ट्रलाई सुरक्षित तुल्याउन सकिने उहाँको अपिल छ । उता दलहरु आफ्नो गल्ती सच्याउने भन्दा पनि महाअभियान्ता दुर्गा प्रसाई बिरुद्ध नै खनिएका छन । गौर अथवा टिकापुरमा जस्तै अर्को नरसंहारको घटना दोहरिन सक्ने वातावारण नेपालको राजधानी काठमाडौंमा तयार भएको अवस्था छ ।

संसारमा यसरी राजतन्त्र वापस भएको धेरै उदाहरणहरु छन । त्यसैले नेपालको राजतन्त्र पनि वापस हुँदैन भनी कसैले ठोकुवा गर्न सकीरहेको छैन । १० बर्ष जनयुद्ध चलाएको माओवादीलाई पनि नेपालको राजकियसत्तामा कहिले पुग्न सक्दैन भनी राजनीतिक पण्डितहरुले बिगतमा दाबी गरेका थिए तर सबै झुटा भएका छन । अहिले त्यस्तै राजनीतिका पण्डितहरु राजतन्त्र र हिन्दूराष्ट्रको वापसी असंभव भन्दैछन तर त्यो दबीहरु सबै झुटा हुने अवस्था नेपालमा शृजना भईसकेको छ । दलहरुको खराब नीतिले नै नेपालमा राजतन्त्र र हिन्दूराष्ट्रको वापसीको लागि ढोका खोल्ने काम गरेको छ । हचुवाको भरमा षडयन्त्र पूर्वक हटाएको वैदिक सनातनी हिन्दूधर्म र राजतन्त्र एक अर्कासित जोडिएको बिषय भएकाले दुबैको वापसी एकै साथ हुने संभावनालाई कसैले पनि नकार्न सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *