वामपन्थीबाट बिच्किएका प्रसाईं गणतन्त्र फाल्ने तयारीमा

राजनीति समाचार

सावित्री खत्री
सरकार यतिखेर नेकपा एमालेनिकट युवा संघ र मेडिकल व्यवसायी दूर्गा प्रसाईंकोले गर्ने भनेको भोलिको शक्ति प्रदर्शनमा केन्द्रित रहेको छ । तर, त्यो शक्ति प्रदर्शनले कस्तो रुप लिने हो भन्ने एकिन छैन । उता, सरकारले सो आन्दोलनलाई मध्येनजर गरी सुरक्षा व्यवस्था कडा गरेको छ । दुवै पक्षले बानेश्वरदेखि माइतीघर मण्डलामा प्रदर्शन गर्ने भनेपछि उक्त क्षेत्रमा सरकारले एक महिनाको लागि निषेधाज्ञा जारी गरेको छ । प्रदर्शनको लागि सरकारले दुवै पक्षलाई छुट्टाछुट्टै ठाउँ तोकिदिएको छ ।

एमालेनिकट युवा संघलाई तीनकुनेस्थित खाली चौर तोकेको छ भने मेडिकल व्यवसायी दूर्गा प्रसाईंलाई बालाजुको माछापोखरी क्षेत्र तोकिदिएको छ । तर, सो प्रर्दशनले कस्तो रुप लिने हो आजसम्म एकिन छैन । एमाले युवा संघको संठन बलियो छ, दूर्गा प्रसाईंको संगठन छैन । एमालेसँग पार्टीका संगठित राजनीतिक कार्यकर्ता छन् भने प्रसाईंसँग गैरराजनीतिक व्यक्तिहरु संलग्न छन् ।

तर, प्रसाईंलाई अधिकांश राजनीतिक दलका असन्तुष्ट कार्यकर्ताको पनि साथ रहेको बताइन्छ । त्योसँगै सर्वसाधारणको पनि समर्थन रहेको प्रसाईंको दावी छ । व्यवसायी प्रसाईंमा एमालेजस्तो बलियो संगठन भएको पार्टीसँग भिड्न खोज्ने तागत राजनीतिक पार्टीकै कारण सिर्जना भएको हो । राजनीतिक दलका नेता र व्यवसायी प्रसाईंबीच समन्वयकारी भूमिका नहुँदा एकअर्काको पोलखोलाखोल हुन पुगेको हो ।

प्रसाईं मेडिकल व्यवसायमा मात्रै हुँदा विभिन्न राजनीतिक पार्टीहरुले आर्थिक सहयोग माग्ने गरेका कारण पनि दलहरु हेपिँदै गएका हुन् । प्रसाईंले पहिला नेकपा माओवादी केन्द्र निकट भएबापत अध्यक्ष प्रचण्डलगायतलाई मार्सी धानको भात पनि नखुवाएका होइनन् । माओवादीसँग रुष्ट भएपछि प्रसाईं एमालेतिर आकर्षित भए ।

एमालेले पनि प्रसाईंको गतिलो आर्थिक सहयोग पाएपछि पार्टीको केन्द्रीय सदस्यसमेत बनाएको थियो । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट अर्बौं ऋण लिएका प्रसाईं जुनजुन पार्टी सत्तामा पुग्छ त्यसको सरण लिँदै हिँडेका थिए । तर, प्रसाईंले आशा गरेजस्तो ती पार्टीहरुले सहयोग नगरेपछि अहिले आफूलाई राजावादी भएको दावी गर्दै हिडेका छन् । गणतन्त्र र व्यवस्था विरोध आन्दोलन घोषणा गरेर सडक तताउन थालेका छन् । भोलिको शक्तिप्रदर्शनले मेडिकल व्यवसायी प्रसाईंँको अवस्था कस्तो हुने हो त्यो भने हेर्न बाँकी नै छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *