सिग्देललाई भावी सेनापति बनाउन माफियाहरुको दौडधुप

राजनीति समाचार

काठमाडौं । आफू निकटस्थलाई नेपालको ४५ औं प्रधानसेनापति बनाउन केही हतियार दलालदेखि सेनाभित्र ठेक्का पट्टामा रजाई गर्दै आएकाहरु लागिपरेका छन् । वर्तमान प्रधानसेनापति प्रभुराम शर्मा पछि अशोक सिग्देललाई प्रधानसेनापति बनाउन केही माफियाहरु लागिपरेका स्रोतले जनाएको छ । सिग्देलविरुद्ध अख्तियार हुँदै रक्षा मन्त्रालयमा परेको उजुरी ढिसमिस पार्न तिनै विचौलियाहरु सक्रिय रहेको बताइएको छ ।

यो खेलोमा नेपालको सबैभन्दा ठूलो मेडिकल सामाग्री सप्लायर्स विशाल पण्डितदेखि चण्डी ढकाल,दीपक कुँवर,शम्भु भारतीसम्म लागिपरेका छन् । नेपाल प्रहरी,नेपाली सेना र सशस्त्र प्रहरी बलमा हतियार, मेडिकल सामग्रीको ठेक्का पट्टा हत्याउँदै आएका यी माफियाहरु लागिपरेका हुन । सिग्देलको जन्म मिति र सर्टिफिकटको मिति फरक परेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मात्रै आधा दर्जन उजुरी छन् । अख्तियारले हालैमात्र सिग्देलविरुद्ध परेको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रको छानबिन गर्न भन्दै रक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

नेपाली सेना स्रोतका अनुसार हालै राजीनामा दिएर घर हिडेका ताराध्वज पाण्डेको अशोक सिग्देलको बदमासी एकै प्रकारको हो भनिन्छ । सिग्देलविरुद्ध अख्तियारमा परेको उजुरीमा उनको जन्म मिति र नागरिकतामा कैफियत देखाइएको छ । अख्तियार स्रोतका अनुसार, सिग्देलविरुद्ध गत मंसीर ४ मा परेको उजुरीमा सिग्देलले नागरिकता र शैक्षिक प्रमाणपत्रमा केरमेट गरिएको प्रमाणसहित उजुरी हालिएको छ । सिग्देलको नागरिकता र शैक्षिक प्रमाणपत्रमा समेत उमेर मिल्दैन ।

शैक्षिक प्रमाणपत्रमा जन्ममिति ०२१ साल चैत १९ गते र नागरिकताको प्रमाणपत्रमा २०२३ माघ १९ गते बनाइएको भेटिएको प्रमाणसहित उजुरी हालिएको छ । जन्म मितिमै दुई बर्ष फरक छ शैक्षिक प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रमा । ०४० असोज ९ गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट लिएको नागरिकताको प्रमाणपत्रमा उमेर ‘१९ वर्ष’ र ढड्डामा ‘२०२१ साल’ उल्लेख छ । २०३९ सालको एसएलसीको प्रमाणपत्र, २०४० सालमा सुपिङ क्याम्पसमा भर्ना हुँदाको अभिलेख र त्रिभुवन विश्वविद्यालयको अभिलेखमा समेत उनको जन्ममिति ०२१ चैत १९ गते रहेको उल्लेख छ ।

उपरथी सिग्देलले २०५८ जेठ ८ मा जाजरकोट जिल्लाबाट नागरिकताको प्रतिलिपि लिंदा कीर्ते गरेको उजुरीमा उल्लेख छ । सिग्देलले निवेदन दिएपछि २०४३ साउन ३१ गते जन्ममिति परिवर्तन गरिएको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको चलानी नम्बर १४६७ को पत्र समेत राखेर उजुरकर्ताले उजुरी दिएको देखिन्छ । उजुरीकर्ताले जर्नेल सिग्देलले २०४३ साल, २०५८ र २०७६ सालमा जन्ममिति हेरफेर गरेको उल्लेख गरेका छन् । ०४३ र ५८ सालमा झैं उनले ०७६ साउन ३० गते त्रिभुवन विश्वविद्यालयको अभिलेखमा उल्लिखित जन्ममिति २०२१ चैत १९ लाई केरमेट गरेर २०२३ माघ १९ गते बनाएको विषयमा अनुसन्धान हुनुपर्ने उजुरीमा उल्लेख छ ।

सिग्देलले एसएलसीको प्रमाणपत्रको प्रतिलिपि १२ नोभेम्बर २०१८ र १३ नोभेम्बर २०१८ मा लिएको देखिन्छ । त्यस्तै, त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रेशन कार्डको प्रतिलिपि १५ अगस्ट २०१९ मा लिएको देखिन्छ । यसरी ४ गते नै परेको उजुरीबारे छानबिन गरेर जानकारी गराउन अख्तियारले गत ७ गते रक्षा मन्त्रालयलाई निर्देशन दिएको रक्षा मन्त्रालय स्रोतले जनाएको छ । यसरी रक्षा,गृह,जङ्गी अड्डादेखि अख्तियारसम्म भावी प्रधानसेनापतिका रुपमा हेरिएका सिग्देलविरुद्ध उजुरीको चाङ्ग छ । तर,विचौलियाहरु भने उनै सिग्देललाई भावी प्रधानसेनापति बनाउन शक्तिकेन्द्रहरु मिलाउन लागिपरेको स्रोतको दावा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *