काठमाडौं । अन्तर्राष्ट्रिय दातृ राष्ट्र तथा निकायहरूको दबाबमा वर्षौदेखि एउटै सरकारी निकायमा बसेर हालमुहाली गर्ने उच्चतहका निजामती कर्मचारीहरूको सूची लामै रहेको छ । हाल अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुखमा कार्यरत सहसचिव श्रीकृष्ण नेपालपनि एक हुन । खासगरी वैदेशिक सहयोगमा सञ्चालित आयोजना,परियोजना, दातृ राष्ट्र र निकायले सिफारिस गरेकै कर्मचारीहरुले यस्तै हालीमुहालीको अवसर प्राप्त गर्दै आएका छन् । कतिपय अवस्थामा मन्त्री र सचिवहरूले मिलेमत्तो गरी पुरानै कर्मचारीहरूलाई निरन्तरता दिने गरिएका समाचारहरु बाहिर आएका छन ।
एडीबी, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषमा प्रतिनिधि भएर कर्मचारीहरु नै प्राय मन्त्रालयको अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखाको प्रमुख हुने गरेको समाचार स्रोतले बताएको छ । सो महाशाखामा बसेका उपसचिव र सहसचिवहरूलाई सकेसम्म दातृ निकायहरुले मन्त्रालयबाट अन्यत्र सरूवा गरिदैन । बरू महाशाखा परिवर्तन गरेर मन्त्रालयमा राख्ने गरेको जानकार स्रोत बताउँछ । यसमा विदेशी कुटनीतिक निकायको दबाब रहने गरेको मन्त्रालय स्रोतले दावी गरेको छ । मन्त्रालयको उक्त महाशाखामा यसअघि लामो समयसम्म सहसचिव हुँदा पूर्व सचिवहरु कृष्ण ज्ञवाली, बैकुण्ठ अर्याल, मधुकुमार मरासिनीले नेतृत्व गरेको बताइएको छ ।
यसअघि मन्त्रालयको उक्त महाशाखा प्रमुखमा पाल्पा निवासी सहसचिव नेपाल रहेका थिए । दुई महिना अगाडिबाट उक्त महाशाखाको जिम्मेवारी सहसचिव धनीराम शर्माले पाएका छन । नेपाल बजेट महाशाखा प्रमुखको जिम्मेवारीमा सरूवा भएपछि धनीराम शर्माले अन्तर्राष्ट्रिय सहायता महाशाखा प्रमुखकाुे जिम्मेवारी संहाल्दै आएका छन् । सहसचिव नेपाल अधिकृत र उपसचिव हुँदा लेखा समुहका कर्मचारी हुन् । २०६३-०६४ सालमा विष्णु बहादुर थापा र मणिकुमार ज्ञवाली स्थानीय विकास अधिकारी हुँदा उनी जिल्ला विकास समिति रूपन्देहीको लेखा अधिकृत रहेका थिए। त्यही बेलादेखि उनको एमाले नेता तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलसँग घनिष्ठ सम्बन्ध रहेको उनलाई नजिकबाट चिन्नेहरुले बताउँछन् ।
उपसचिवमा बढुवा भएपछि उनी रूपन्देही जिल्लामा कोष तथा लेखा नियन्त्रक भएर कामकाज गरेका स्रोत बताउँछ । उनी २०७३-७४ मा प्रशासन समूहमा खुला प्रतिस्पर्धा गरी सहसचिव बढुवा भएका थिए । त्यसपछि भने उनी अर्थ मन्त्रालयमा निरन्तर कार्यरत रहेका छन । मन्त्रालयबाट अहिलेसम्म उनी बाहिर जानु परेको छैन । सुरूमा उनी विश्व बैंकमा इकोनोमिक काउन्सिलर भएर दुई वर्षका लागि अमेरिका गएका थिए।
तर, पछि एमाले नेता युवराज खतिवडा अर्थमन्त्री भएपछि दुई वर्षका लागि गएका उनी नेपाल फर्किएर उपसचिव नरेन्द्र पाण्डेलाई खटाइएको जानकारस्रोत बताउँछ । मासिक १४÷१५ लाख तलव हुने विश्व बैंकको इकोनोमिक काउन्सिलर भएर अमेरिका जान अर्थ मन्त्रालयका उपसचिव र सहसचिवहरूबीच चर्काे प्रतिस्पर्धा रहेको बताइन्छ । सहसचिव नेपाललाई प्रदेश मन्त्रालयमा खटाएपनि उनी नगएको स्रोतको दावी छ । ६ महिना अगाडि उनले बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी पाएका थिए । करिव ८ वर्षदेखि प्राय एउटै महाशाखा र मन्त्रालयबाट बाहिर नगएर उनले मन्त्रालयमा हालीमुहाली मच्याएको गुनासो कर्मचारीले गरेका छन् ।