काठमाडौँ ।उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले दुईसाता अघि तत्कालीन महानिर्देशक सञ्जीव बराललाई मन्त्रालयमा तानेर विभागकै उप–महानिर्देशक देवराज निरौलालाई जलस्रोत तथा सिंचाई बिभागको जिम्मेवारी दिएका छन । प्रधानमन्त्री तथा मुख्यसचिवसहितको सरकारी टोली उत्तरी छिमेकीमुलक चीन भ्रमणमा गएको मौका छोपेर मन्त्री खड्काले हतार हतारमा निर्णय गरी महानिर्देशक परिर्वन गर्नुले बिभिन्न किसिमको अशंका जन्माएको चर्चा मन्त्रालयमा चल्ने गरेको छ । महानिर्देशक परिर्वतनलाई नियमित प्रक्रियाभन्दा पनि राजनीतिक रङ्ग दिएको अर्थ मन्त्रालयमा कार्यरत कर्मचारीले मुल्याकंन गरेको समाचार स्रोतले बताएको छ ।
०८१ वैशाख ३ गते तत्कालीन मन्त्री शक्तिबहादुर बस्नेतले विभागको महानिर्देशकमा सहसचिव बराललाई नियुक्त गरेका थिए । तर, गएको असार अन्तिम साता सो मन्त्रालयको जिम्मेवारी मन्त्री खड्काले पाएका थिए । लगत्तै महानिर्देशकलाई हटाएर नयाँ सहसचिवलाई जिम्मेवारीमा लैजान मन्त्री खडकाले उपयुक्त मौकाको खोजी गरिरहेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली ०८१ मंसिर १७ देखी २० गतेसम्म चीन भ्रमणमा गएको मौका छोपेर मन्त्री खड्काले महानिर्देशक परिवर्तन गर्नुलाई ‘कैफियत’को रुपमा हेरिएको छ ।
मन्त्री खड्कासँग सहसचिव बरालको इन्ट्रेष्ट नमिल्दा साँढे सात महिनामा नै बराललाई हटाइएको हो ।
ठेक्कापट्टाको म्याद थपलगायत विषयमा तत्कालीन महानिर्देशक बराल र मन्त्री अनुकुल नभएपछि खडकाले आफू अनुकूलका सहसचिव निरौलालाई बिभागको नेतृत्वमा लगेको मन्त्रालय स्रोतले दावी गरेको छ । नयाँ महानिर्देशको जिम्मेवारीमा नयाँ सहसचिवलाई दिनको लागि मन्त्रिस्तरिय निर्णय नै काफी हुन्छ । तर, प्रधानमन्त्री नै नभएको मौका छोपेर नयाँ सहसचिवलाई जिम्मेवारी दिएकोमा प्रशासनिक भन्दा पनि बढी राजनीतिक गन्ध आएको जानकार स्रोतले दावी गरेको छ ।
मन्त्री खड्काले केही समय अघि एसियाली विकास बैंकको सहयोगमा सञ्चालित नवीनतम प्रविधि सिंचाई आयोजनाका आयोजना प्रमुख अजय अधिकारीलाई प्रमुखबाट हटाएर दीपेन्द्र लौडारीलाई सरुवा गरेका थिए । तर, त्यसको एक महिनासम्म आफनो निहीत स्वार्थ पूरा हुने नदेखेपछि अधिकारीलाई पुनः आयोजना प्रमुखमा खटाएको स्रोत बताउँछ । उक्त आयोजना प्रमुख सरुवाको खेलमा दाता निकाय एसियाली विकास बैंकले समेत मन्त्री खड्का असन्तुष्ट बनेको स्रोतको भनाई रहेको छ । त्यसपछि मन्त्री खड्का स्वमले हटाएको व्यक्तिलाई महिना दिनमै पुनः सोही आयोजनामा खटाइएको थियो ।
उक्त बिषयले पनि मन्त्री खडकाको नियतमा खोट रहेको स्वत पुष्टि भएको जानकारस्रोतले दावी गरेको छ ।यतिसम्मकी मन्त्री खडकाले सुनकोशी मरिन जस्तो राष्ट्रिय गौरवको महत्वपूर्ण आयोजनाको आयोजना प्रमुख मित्र बराललाई मन्त्रालयमा तानेर महिनौसम्म बरन्डामा थन्काएका थिए । अर्को राष्ट्रिय गौरवको सिँचाई आयोजना सिक्टाबाट अर्का सहसचिव गोपाल शर्मालाई दुई महिनामा हटाएर जिम्मेवारीविहीन बनाएर मन्त्रालयमा थन्काइएको । सहसचिव नवीन अधिकारीलाई पनि कर्णाली प्रदेशबाट सरुवा गरी मन्त्रालय तानिएको छ । उनी लामो समयदेखि बरण्डामा थन्किाएका छन् । जल तथा मौसम विज्ञान विभागको महानिर्देशक जगदीश्वर कर्माचार्यलाई पनि मन्त्रालयमा सरुवा गरेरमन्त्री खड्काले बरन्डामा ठन्क्याएर हाजीर गर्न बाध्य पार्दै आएका छन् ।
त्यसैगरी मन्त्री खडका अर्का सहसचिव सुशील आचार्यलाई पनि ऊर्जातर्फको बजेट कार्यक्रम महाशाखाबाट तानेर दरबन्दी नै नभएको वातावरण शाखामा थन्काएका थिए ।सहसचिव श्यामकिशोर यादवलाई पनि मन्त्रालयमा तानेर जिम्मेवारीबिहीन बनाएर हुर्मत लिने काम गरेको गुनासो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसम्म पुगेको थियो ।
मन्त्री खडकाको यस्तो गलत कार्यशैलीप्रति मन्त्रालयका कर्मचारीले तीव्र रुपमा आलोचना गरेपछि अघिल्लो हप्ता मन्त्रालयले करिडोरमा थन्काइएका सहसचिवहरुलाई जिम्मेवारी दिएको मन्त्रालय स्रोतले बताएको छ ।ल नेपाल बिद्युत प्राधिकरणमा मन्त्री खड्काले कार्यकक्ष तयार गर्न लगाएर प्रवन्ध निर्देशक कुलमान घिसिङको निगरानी बढाएका छन । उनको यो कार्यशैली मुलुकमा बहुदलीय व्यवस्था स्थापनापछि गरिएको संभवत पहिलो गलत कार्य हुनसक्छ ।