विदेशी भूमिमा नेपालीहरु कहिलेसम्म अलपत्र

राजनीति समाचार

काठमाडौं । अधिकांश ग्रामीण क्षेत्रदेखि सहरीवस्ती काठमाडौं उपत्यकाभित्र बसोवास गर्ने नेपाली युवायुवतीहरु रोजीरोटीको खोजीमा विदेसिने गरेका छन् । अधिकांश विदेसिने नेपालीहरुलाई विचौलियाले विश्वको विभिन्न देशमा पु¥याएर अलपत्र पारिराखेका छन् । विदेसिने नेपालीहरु पनि बिनासुझबुझ जाने भएकाले फस्ने गरेका छन् । नेपाल सरकारले १७६ वटा देशमा जाने व्यवस्था मिलाए तापनि संस्थागत रुपमा १११ वटा देशमा जाने गरेका छन् भने व्यक्तिगत रुपमा १७८ देशमा जाने गरेका छन् ।

तर, अधिकांश नेपालीहरुलाई यी देशहरुमा पु¥याउनको लागि स्वदेशमा बस्नेदेखि विदेशमा बस्ने नेपाली विचौलियाहरु समेत लागिपर्ने गरेका छन् । कतिपय नेपालीहरुलाई अवैध बाटोबाट बिनाश्रम स्वीकृती भिजिट भिसामा लगेर छोड्ने गरिन्छ । संस्थागत रुपमा जानेभन्दा पनि व्यक्तिगत हिसाबले विश्वास गरेर जानेको संख्या बढी छ । नेपाली कामदारहरु बढी पैसाको लोभमा व्यक्तिगत रुपमा नेपालबाट इराक, इथियोपियाजस्ता मुलुकमा जाने गरेका छन् । हुँदाहुँदा त विचौलियाले द्वन्द्वग्रस्त मुलुक, रुस, युक्रेनजस्ता देशहरुमा पनि नेपाली युवायुवतीहरुलाई पठाउने गरेका छन् ।

नेपालीले आफ्नो ज्यान बाजी राखेर अफ्रिकी मुलुकहरुमा समेत जाने गरेका छन् । नेपालीहरु अवैध बाटो हुँदै युगान्डा, रुवान्डा, तान्जानिया, नैरोबी, लिबिया, कंगो, सुडानजस्ता अफ्रिकी मुलुकमा बैंक, सेक्युरिटी गार्ड र रेष्टुरेन्टमा काम लगाउने भन्दै बढी पैसाको लोभ देखाएर विचौलियाहरुले अवैध बाटो हुँदै पु¥याउने गरेका छन् । अन्य विदेसी मुलुकमा लुकीछिपी जानेको संख्या त कति छ कति । लुकिछिपी जाने अधिकांश नेपालीहरु इराक र इथियोपियामा अलपत्र परिरहेको बताइन्छ । किन कि ती देशमा जानको लागि विचौलियाले बिनाश्रम स्वीकृति पठाउने गरेका छन् । इथियोपियामा करिब ३५० भन्दा बढी नेपालीहरु अलपत्र परेको बताइन्छ ।

इथियोपियामा अलपत्र परेकाहरुलाई त्यहाँको सरकारले पक्राउ गरेर राख्ने गरेको र दिनप्रतिदिन पक्राउ परेका व्यक्तिहरुसँग डबल जरिवाना लिने गरेको छ । त्यसरी अलपत्र पर्नेहरुको विवरण आफन्तलाई पनि थाहा नहुने भएकाले अधिकांश नेपालीहरु इथियोपिया र इराकमा बन्धक बन्ने गरेका छन् । त्यसतर्फ न त नेपाल सरकारले ध्यान दिएको छ न त कुनै सम्बन्धित निकायले नै ध्यान दिएको छ । कथमकदाचित कुनै आफन्तले जानकारी पाएको खण्डमा नेपाल सरकारसँग हारगुहार गर्ने सम्बन्धित निकायलाई जानकारी दिने चलन भए तापनि कुनै आफन्त नहुने लेखपढ गर्न नजान्नेहरु बन्धकमा पर्ने गरेका छन् ।

यता श्रम तथा रोजगार मन्त्रालयले विदेश जानको लागि सम्बन्धित निकायहरुलाई नियम अनुसार जानु भनेर उर्दी गरे तापनि त्यसको पालना हुन सकेको छैन । उल्टै श्रम तथा रोजगार मन्त्रालयका मन्त्री, सचिव र सम्बन्धित निकायका कर्मचारीहरु श्रमिकहरुले जम्मा गरेको पैसामा विदेश भ्रमण गर्ने र मोजमस्ती गर्ने गर्दै आएका छन् । नेपाल सरकारले सबैलाई सूचनाको हक समान छ भने तापनि विदेश जाने नेपालीहरुको लागि कागजमा मात्रै सीमित भएको छ । किन कि अधिकांश दूरदराजका जनताले पाउनुपर्ने सूचनाहरु पाउन सकेका छैनन् ।

रेडियो नेपाल, गोरखापत्र, नेपाल टेलिभिजनलगायत साप्ताहिक र मासिक पत्रपत्रिकाहरुलाई वैदेशिक रोजगार सम्बन्धी सूचना दिएर अधिकांश नेपालीहरुलाई सुसूचित गरिनुपर्ने हो । त्यो नगरी मन्त्रालय, विभाग र सम्बन्धित कार्यालयले आफ्नो वेयब साइटमा राख्ने र ब्रुसर छापेर प्रचार गर्ने नाममा कमिसन खाने र ब्रुसर कार्यालय थन्क्याएर राख्ने काम गरिँदै आएको छ । यसले गर्दा अधिकांश सर्वसाधारण नेपालीहरु वास्तविक सूचनाबाट बञ्चित हुने गरेका छन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *