समृद्धिका लागि संकल्प यात्रा ‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ अभियानमा दोलखा

राजनीति लेख

तुलनात्मक रुपमा मुलुकका दलहरु मध्ये नेकपा एमाले नयाँ अभियान र शैली अपनाउने पार्टी हो । कतिपय सन्दर्भमा यसको सिको अरुले पनि गरेको देखिन्छ । पार्टी सुदृढिकरण तथा सुद्धिकरण (सुसु) र मिसन ग्रासरुट जस्ता अभियान भरखरै सकेर अहिले मध्यपहाडी लोकमार्ग केन्द्रीत समृद्धिकोलागि संकल्प यात्रा सम्पन्न गरेको छ । मुलुकको पटक पटक नेतृत्व गरिसकेको दलको केन्द्रीय नेतृत्वको सामुहिक संलग्नता रहेको अभियानले विशेष महत्व बोक्दछ । मध्यपहाडी लोकमार्गले दोलखाको भुभागलाइ छोएको छैन । त्यसैले यो अभियान दोलखामा हुने कार्यक्रम थिएन । तर दोलखा एमालेको नेतृत्वको विशेष पहलका कारण दोलखा तिर मोडिएको थियो । यस अभियानबाट दोलखाले विशेष सन्देश दिन सफल भएको छ ।

लोकमार्गले नछोएको तर अभियानमा जुटेको दोलखा
नेकपा एमालेले सञ्चालन गरेको बिशेष अभियान मध्यपहाडी लोकमार्ग केन्द्रीत ‘समृद्धिकोलागि संकल्प यात्रा’ नाम राखिएको थियो । आरम्भ बैतडीको झुलाघाटबाट मंसिर १४ गते भएको थियो । पुष १ गते चिवाभञ्ज्याङ्गमा पुगेर यात्रा टुङ्गिएको छ । ‘सम्वन्ध स्थानीय, सन्देश राष्ट्रिय’ सोच र शव्द चयन नैं लोभलाग्दो देखियो । पश्चिम देखि पूर्व पुग्दासम्म ३० जिल्लाको करिव २ हजार किलोमिटरको यात्रा सम्पन्न भएको छ । हरेक दिन कम्तीका एक जनसभा भए । साना तिना भेटघाट छलफल अन्तरक्रिया कति भए पक्कै एकमुष्ट हिसाव आएको छैन होला ।

दोलखाको कुनै पनि भुभागलाई मध्यपहाडी लोकमार्गले छुँदा पनि छुँदैन । त्यसैले यो अभियान दोलखा जाने योजना पक्कै थिएन । दोलखाको यहि प्रश्न उठाउन पनि अभियानलाई दोलखातिर मोड्न कोशिस भएको थियो । नेकपा एमाले दोलखा नेतृत्व र दोलखाका केन्द्रीय नेताहरुको कोशिसले संभव भयो । त्यसैले नेकपा एमालेको राष्ट्रिय पूरै टिम एकै पटक साथसाथ इतिहासमैं पहिलो पटक २०८० मार्ग २५ गते दोलखामा पुगेको थियो । यो दृश्य भविष्यमा पनि सायदै आउला । दोलखामा यात्रा हुने सडकमा खरिढुँगा देखि किर्नेसम्म एमालेका स्थानीय कमिटीहरुले स्वागतद्वारहरु तयार पारेका थिए । बाटामा पर्ने हरेक वडा कमिटीले कम्तीमा एउटा गेट वनाई स्थानीयहरु पुष्प गुच्छा तथा मालासहित लामवद्ध भई केन्द्रीय नेताहरुको स्वागातार्थ उभिएका देखिन्थ्ये । दोलखाको सदरमुकाममा भीमेश्वर नगरपालिकाले पनि स्वागतद्वार बनाएको थियो । दोलखाको भीमेश्वर, बैत्येश्वर, तामाकोशी र मेलुङ्ग स्थानीय तहको केही भूभाग यस यात्रामा समेटीएको थियो ।

नेकपा एमालेको पूरै संरचना परिचालित भएका थिए । यस अभियानमा हरेक स्थानीय पार्टी कमिटीका सदस्य तथा पदाधिकारीहरुले कम्तीमा १० दिने खर्चेको देखिन्थ्यो । टोल, वडा, पालिका र जिल्ला कमिटीका वैठकहरु बसेका थिए । विभिन्न उपसमिति वनाएर अभियान तयारीका कामहरु भएका थिए । यो अभियानलाई उत्सबको रुपमा लिएको र मध्यपहाडी लोकमार्ग आसपास देखिएका स्थानीय सवाललाई उजागर गरि राष्ट्रियकरण गर्ने महत्वपूर्ण अबसरको रुपमा लिएको पाइयो ।

भीमेश्वरको ध्यानाकर्षण
दोलखाका प्रवेशसँगै भीमेश्वर ९ मा रहेको म्याग्नेसाइट खानीको अवस्थाको बारेमा अबलोकन तथा अन्तरक्रिया भएको थियो । खरिढुँगामा नैं पुरानो पाराको ‘वनभात’ शैलीबाट खानपानको व्यवस्था गरिएको थियो । त्यहाँ नैं भीमेश्वर ९ नंंं. वडा समिति, नेकपा एमाले भीमेश्वर नगरकमिटी र भीमेश्वर नगरपालिका नेकपा एमाले सभादल प्रमुखहरुको हस्ताक्षर भएको ६ बुँदे ध्यानाकर्षण पत्र तयार गरिएको थियो । सो पत्र सोही स्थानका जननिर्वाचित वडा अध्यक्ष हिमाल श्रेष्ठबाट वाचन गरि संयूक्तरुपमा पार्टी अध्यक्षलाई हस्तान्तरण गरिएको थियो ।

भीमेश्वर नगरपालिका वडा नं. ९ खरिढुङ्गा स्थित एशियाकै ठुलो मानिएको नेपाल ओरेन्ट म्याग्नेसाइट खानी हाल बन्द भएको तर सञ्चालन भएमा मुलुकको राष्ट्रिय अर्थतन्त्रमा राम्रो प्रभाव पर्ने हुनाले खानी पुनः सञ्चालनका लागि एमाले अध्यक्षसँग आग्रह गरिएको छ । भीमेश्वर २ दोलखालाई सम्पदा बस्तीको रुपमा विकास गर्न समन्वयकारी भूमिका र विश्वसम्पदा सूचीमा सूचीकृत गर्नकालागि पहल गरिदिनु हुन अनुरोध गरिएको छ । खरिढुङ्गाको डाङडुङे डाँडामा प्रस्ताव गरेको फिल्मसिटी छिटो निर्माणकालागि आग्रह गरेको छ । भीमेश्वर नगरको समृद्धिकालागि नेकपा एमालेको सरकारको पालामा परिकल्पना गरिएको भीमेश्वर चक्रपथ परियोजनाको डिपिआर तयार भई सुरुवात भएको तर वजेट अभावले स्थगित भएकोले सो पुनःनिर्माणकोलागि पहलकोलागि ध्यानाकर्षण गराएकोछ ।

समाज रुपान्तरणकालागि कमजोर वर्ग खास गरि महिला तथा विपन्नहरुको समृद्धिकोलागि उद्यम विकासका कार्यहरुमा राज्यले प्रदान गर्नु पर्ने सेवा सुविधा व्यवस्थापनकोलागि समन्वयकारी भूमिकाको अपेक्षा र भीमेश्वर नगर क्षेत्रमा कृषि तथा पशुपालनको प्रशस्तै संभावना रहेको छ तर बाँदरले बाली क्षती पु¥याएको हुँदा बाँदर लगायत हानीकारक वन्यजन्तुको नियन्त्रण तथा व्यवस्थापनकालागि सरकारलाई ध्यानाकर्षण गराई कानून तर्जुमा र कार्यान्वयन गरी कृषि क्षेत्रको सवाल सम्वोधनकालागि आवश्यक नेतृत्व लिनका निम्ती ध्यानाकर्षण पत्र मार्फत आग्रह गरेको छ ।

चरिकोटमा जनसभा
चरिकोटमा आयोजना हुने जनसभा मध्यान्ह १२ बजेलाई निर्धारण गरिएको थियो । सोही समयमा नैं हजारौं नागरिक आएका थिए । विभिन्न सांस्कृतिक झाँकीहरु प्रदर्शन भए । सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत भएका थिए । अभियानको केन्द्रीय टोली चरिकोट पुग्दा साढे पाँच बजिसकेको थियो । तैपनि नागरिकको उपस्थीति बाक्लो थियो । संक्षिप्त सभा भयो । दोलखा एमाले तयार गरेको १० वुँदे ध्यानाकर्षण पत्र प्रदेश सांसद भरत केसीले बाचन गर्नु भएको थियो । सो पत्र दोलखा एमालेका संयोजक नरबहादुर श्रेष्ठले पार्टी अध्यक्ष केपी शर्मालाई हस्तान्तरण गर्नु भएको थियो ।

मध्यपहाडी पुष्पलाल लोकमार्गले सम्भावना नै सम्भावना बोकेको र भौगोलिक रुपले समेट्नु पर्ने जिल्ला दोलखालाई नछोएकोले यस जिल्लाको भूभागलाई समेटेर अगाडि जानु पर्ने दोलखालीको साझा सरोकारको विषयलाई सम्बोधन गरिनु पर्ने, लामावगर– फलाक सडक निर्माण गरी नेपाल, भारत र चिनको त्रिदेशीय व्यावसायिक सम्बन्ध विस्तार गरी दोलखा जिल्लाको सम्वृद्घिमा पहल गर्ने, राष्ट्रकै समुन्नतिमा विशेष योगदान दिन सक्ने बहुआयामिक परियोजनाको रुपमा रहेको र सम्भाव्यता अध्ययन समेत भई सकेको तामाकोसी तेस्रो जलविधुत् आयोजनालाई दोलखाबासीको स्वामित्व समेत हुने गरी पूर्ण क्षमतामा शीघ्रातिशिघ्र अगाडि बढाउनु पर्ने, पर्यटन प्रवद्र्धनकालागि चरिकोटमा विमानस्थल निर्माणको आवश्यक सहयोग गर्नुपर्ने, नेपालको पहिलो प्रस्तावित फिल्मसिटी खरिढुङ्गाको डाङडुङे डाँडामा सुसञ्चालनमा विशेष पहल गर्नु पर्ने, पर्यटकीय प्रचुर संभावाना रहेको जिरी नगरपालिकामा ताल तथा विमानस्थल जस्ता आवश्यक पूर्वाधार निर्माणकालागि पहल गर्नु पर्ने भन्ने बिषयमा ध्यानाकर्षण गराएको थियो ।

दोलखामा हिमाली क्षेत्र पनि भएकोले कृषि उपजको उच्च महत्व रहेको छ । आलु, किवी, चौरी तथा पशुपालन दोलखाको पहिचान भैसककोछ, त्यसैले कृषि व्यवसायको व्यावसायीकरण, आधुनिकीकरणका लागि पीपीपी मोडलमा पशुपालन, फलफूल, मस्यपालन लगायतका वृहत् योजनाहरु सञ्चालनमा राष्ट्रिय लगानी सुनिश्चित गरिनु पर्ने, भीमेश्वर नगरपालिका वडा नं. ९ खरिढुङ्गा स्थित एशियाकै ठुलो मानिएको खरि खानी रुग्ण अवस्थामा रहेको छ ।

यस खानीको परिचालन र सदुपयोग गर्दा मुलुकको राष्ट्रिय आम्दानीमा राम्रो प्रभाव पर्ने हुनाले खानी पुनः सञ्चालनका लागि विशेष पहल गर्नु पर्ने, त्यसैगरि दोलखाको उत्तरी क्षेत्रमा रहेको स्लेट ढुङ्गा खानी त्यहाँका थामी समुदायले परम्परागतरुपमा जिविकाको साधन बनाइरहेका छन् सो को व्यवसायिक र आधुनिक रुपमा स्थानीय समुदायको सिपलाई प्रवद्र्धन गर्दै नियमित सञ्चालन गर्नुपर्ने, दोलखा भीमेश्वर, कालिञ्चोक मन्दिर, शैलुङ्ग, विगु तथा लप्ची गुम्वा, पवित्र गौरीशंकर र च्छोरोल्पा हिमताल समेतलार्ई एकै कोरीडोरमा समेटी धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा विकास गरि समृद्ध दोलखा निर्माणमा विशेष योगदानको अगुवाई गर्नु पर्ने र नेपालमा सामाजिक न्यायसँग सम्वन्धीत सवाललाई नीतिगत व्यवस्था गर्न नेकपा एमालेले महत्वपूर्ण भूमिका खेलेको छ ।

तथापी महिला, दलित, विपन्न लगायतका कमजोर वर्ग केन्द्रीत सकरात्मक विभेदलाई व्यवहारिक कार्यान्वयन हुन सकेको छैन । यसका लागि अवधारणा विकासकर्ताको नाताले पूर्ण कार्यान्वयनका निम्ती आवश्यक पहल गरी समाज रुपान्तरणमा निरन्तर अगुवाई गरिदिन आग्रहकासाथ ध्यानाकर्षण गराएको थियो । प्रमुख अतिथी एवं सभाका एक मात्र वक्ता केपी ओलीले दोलखाको ध्यानाकर्षणलाई राष्ट्रियकरण गर्ने वीचार व्यक्त गर्नु भएको थियो ।

एमाले प्रतिको आशा र भरोशा
एमालेले अघि सारेजस्तै स्थानीय सम्वन्धलाई मजवुद बनाउँदै स्थानीयको सवालहरु राष्ट्रिय हुन सकोस् भन्ने आशा र विश्वासकासाथ पार्टी कमिटीहरु मात्र हैन सामान्य नागरिकहरुले पनि उत्साह देखाएका छन् । मुलुकको प्रमुख राजनीतिक दलको केन्द्रीय टिम दोलखामा पहिलो पटक उपस्थीत भएको थियो । उनीहरु र नागरिकहरुसँग अनौपचारिक रुपमा अन्तरक्रिया पक्कै भयो होला । केन्द्रीय अध्यक्ष वाहेक अरु नेताहरु सुरक्षा र नागरिकको घेराहरु रहनु परेको थिएन । यो राम्रो अवसर थियो । किनकी नेता सधैं घेरिएको अवस्था रहने नागरिक र कार्यकर्ताको कुरा सुन्ने मौका नैं नपाउने अवस्थाबाट यो अभियान मुक्त थियो । नेता, कार्यकता र जनता एक आपसमा भलाकुसारी गर्ने मौका मिलेको भयो ।

मध्यान्ह १२ बजे सभा सञ्चालन गर्ने भनिएपनि ५ वजेसम्म पनि सभा सञ्चालन हुन सकेको थिएन । यो अवस्थामा केन्द्रीय अध्यक्षको उपस्थीति ढिलो हुने भएता पनि अरु पदाधिकारीले नागरिकहरुको कुरा सुन्ने आफ्नो पार्टीका कुरा भन्ने, आफुले सरकारको नेतृत्व गर्दा भएका असल कामहरु सुनाउने, अबको गन्तव्य र कार्यक्रमको चर्चा गर्ने काम गरेको भए अझ वढि संवाद केन्द्रीत भैं अभियान वढि प्रभावकारी हुने थियो । झमक्कै साँझ परे पछि औपचारिक रुपमा सुरु भएको जनसभामा त्यती धेरै वाक्लो उपस्थीति हुनु भनेको सम्मान गर्न लायक पक्ष हो तर यो सवैलाई सधैं हुने गर्दछ भन्ने कुरा कदापी सोच्नु हुन्न ।

दोलखामा यति धेरै मानिसहरुको सहभागीता हुनु भनेको एमाले प्रतिको आशा र भरोशा हो । त्यसलाई अझ उत्साह जगाउनु पर्दछ । दोलखाले समृद्धिमा आधारित राष्ट्रिय रुपमा नैं महत्व दिने सन्देश दिएको छ । दोलखाले उठाएका रुपान्तरणमुखी एजेण्डा ‘सम्वन्ध स्थानीय सन्देश राष्ट्रिय’ सोच झैं हुनसकोस् । मुलुकको समृद्धिमा दोलखाले पनि योगदान गर्न सक्नेछ जब दोलखाले उठाएका एजेण्डाहरु कार्यान्वयनमा आउनेछन् । शुभकामना ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *