त्रिभुवन विमानस्थल तस्करी केन्द्र बन्दै

राजनीति समाचार

विमानस्थल भनेको संवेदनशील र गम्भीर स्थान हुन् । अझ अन्तर्राष्ट्रिय विमानस्थललाई विशेष सुरक्षाको दृष्टिकोणले हेरिन्छ । वैदेशिक आवात–जावतका लागि प्रयोग हुने अन्तर्राष्ट्रिय विमानस्थलबाट गलत काम हुनसक्छ भनेर सोच्न पनि सकिँदैन । तर नेपालको सन्दर्भमा भने ठ्याक्कै उल्टो छ । नेपालको विमानस्थलबाट हात्ती छिराउन सकिन्छ भन्ने भनाई सायद पुष्टि हुने अवस्थामै छ । सरकारले चाहेको खण्डमा विमानस्थलबाट सुन त के सियो पनि कसैले तस्करी गर्न सक्दैन ।

तर, सरकारकै अक्षमता वा मिलेमतोकै कारण यति ठूलो परिमाणमा सुनको तस्करी भएको छ । वास्तवमा सरकारको पनि सर्वसाधारणलाई देखाउने दाँत एउटा र चपाउने अर्काे भनेजस्तै भएको छ । सरकारको नेतृत्वमा रहेका नेताहरु र सरकारी निकायको मिलेमतोमै किलोका किलो सुन नेपालमा तस्करी भएको स्पष्ट छ । यसरी किलोका किलो राजश्व नतिरी सुन भित्र्याउने काम भएको छ । मुलुकको अर्थतन्त्र कमजोर भएको अवस्थामा अर्थतन्त्र सुधारका लागि काम गरिरहेको भनेर सरकारले यसरी राजस्व मार्नेहरुको पक्षपोषण गर्नु जनताका लागि अमिल्दो र अपाच्य कुरा छ ।

पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भइरहँदा भरियाहरु पक्राउ परिरहेका छन् । यसरी भरियाहरु पक्राउ परिरहँदा कुन र के उद्देश्यले यसरी पक्राउ परे त्यो विषय निकै गम्भीर बनेको छ । विगतका दिनहरुमा पनि यसरी नै तस्करी हुने गर्दथ्यो र ती समयमा सुन पक्राउ हुँदैनथ्यो भन्ने भाष्य पनि हालै देखिएको सुन तस्करीको प्रवृत्तिले प्रष्ट पारेको छ ।

त्रिभुवन विमानस्थलमा जोडिएका सरकारका निकायहरुबिचको द्वन्द्वकै कारण तस्करहरु पक्राउ परेका छन् भन्ने विश्लेषण पनि एउटा पंक्तिले गर्न थालेको छ । वास्तवमा यो सबै सरकारको कमजोरी हो । अझ पछिल्लो समय त विमानस्थलबाट गाँजा तस्करलाई पनि समातिएको छ । नेपालको विमानस्थलबाट तस्करी नहुने चिज के होला भनेर जनताले विश्लेषण गर्न थालेका छन् । यो सबै भ्रष्ट र विमानस्थलमा कार्यरत लुट्न पल्किएका व्यक्तिहरुको क्रियाकलापको उपज हो ।

नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सक्रिय सुरक्षा निकाय, नागरिक उडड्यन प्राधिकरण, नेपाल वायुसेवा निगम, ट्राभल एजेन्सी, त्रिभुवन विमानस्थल राजस्व कार्यालयका कर्मचारी सबैको मिलेमतोमा विगतका दिनहरुमा खुलेआम सुनलगायतका विभिन्न वस्तुहरु तस्करी हुने गरेको प्रमाण हालै राजस्व अनुसन्धान विभागले तस्कर पक्राउ गरेर छताछुल्ल पारिदिएको छ । विमानस्थलजस्तो अतिसंवेदनशील र सुरक्षा दृष्टिकोणले महत्वपूर्ण स्थानमा तस्करहरु खुलेआम सक्रिय हुनुले सबैको मिलेमतो रहेको पुष्टि नै गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *