लोकसेवा पास गर्ने वित्तिकै मालदार अड्डा ताक्दै कर्मचारी

राजनीति समाचार

काठमाडौं । अधिकांश युवायुवतीहरु सरकारी जागिरको लागि लोकसेवा पास गर्न टुप्पी कसेर अध्ययनमा लागिपर्छन् । लोकसेवा आयोगले पनि प्रतिस्पर्धा गर्नेहरुमध्येबाट दक्ष जनशक्ति छनोट गर्दछ । लोकसेवा आयोगले दक्ष जनशक्ति भनेर पास गराएको व्यक्ति जब नियुक्ति लिएर सम्बन्धित तोकिएको कार्यालयमा हाजिर हुन्छ । ऊ तोकिएको कार्यालयमा हाजिर भएको भोलिपल्टदेखि कामभन्दा पनि कसरी कसिन खाने भनेर कमाउ धन्दातिर लाग्ने गर्दछन् ।

त्यसरी छनोट भएका कर्मचारीहरु तोकिएको कार्यालयमा ६ महिना बिताउन नपाउँदै मालदार अड्डामा सरुवा हुन विभिन्न शक्तिकेन्द्रतिर धाउन थाल्छन् । त्यसको लागि आफ्नो आस्था अनुसारको पार्टी निकट कर्मचारी संगठनका नेतालाई चाकडी गर्न पुग्छन् । पार्टी निकट नेताको घरमा कोसेली टक्र्याउन थाल्छन् । नयाँ जोस, जाँगर लिएर नियुक्ति भएका कर्मचारीले पनि आफ्नो फाँटको काम गर्नेभन्दा कसरी हुन्छ घरपायक पर्ने मालदार अड्डा ताक्ने गर्दछन् ।

यस्ता कर्मचारीहरुको निश्चित पार्टी पनि हुँदैन । आफ्नो अनुकूल अनुसार जुनसुकै पार्टीका नेताहरुको पनि चाकडी गर्न पछिपर्दैनने । नेताले भनेको कार्यालय प्रमुखले नमानेको खण्डमा मन्त्रीदेखि प्रधानमन्त्री कार्यालयसम्म धाउने गर्दछन् । कर्मचारी संगठनका नेताहरुलाई पालैपालो प्रयोग गर्ने गर्दछन् । यी सबै संयन्त्रबाट पनि काम फत्ते नभए पैसा खर्च गर्न थाल्छन् । पैसा खर्च गरेर कमाउ अड्डामा पुगेपछि कामभन्दा कमिसनमा व्यस्त हुन्छन् । किन भने उनीहरु योग्यता, दक्षता र कार्यकौशलले भन्दा पनि पैसा र शक्तिको आडमा त्यो ठाउँमा पुगेका हुन्छ । पैसा खुवाएर सरुवा भएपछि सेवाग्राहीको कामभन्दा कमिसन र भ्रष्टाचारतिर ध्यान दिन्छन् ।

अर्काेतिर श्रीमान्–श्रीमती दुवैको जागिर भएको खण्डमा एकैठाउँमा बस्न पाउँ भन्दै कार्यालय प्रमुखदेखि शक्तिकेन्द्रसम्म धाउने गर्दछन् । सरकारी कार्यालयको आवश्यकता एकातिर छ भने कर्मचारीहरुको इच्छा अर्कोतिर हुने गर्दछ । त्यसले गर्दा अधिकांश सरकारी कार्यालयमा सेवाग्राहीको काम समयमा नहुँदा मारमा पर्ने गरेका छन् ।

यसरी नयाँ जोस, जाँगरसहित जागिर प्रवेश गरेका कर्मचारीहरु पनि पुरानै कर्मचारीको नीति नियम अनुसार भ्रष्टाचारतिर उन्मुख हुँदा कर्मचारीतन्त्र दिनप्रतिदिन भ्रष्टिकरण हुँदै गएको छ । कर्मचारीहरुको यस्तो नियतले गर्दा अधिकांश सरकारी कार्यालयदेखि विभिन्न संस्थानहरु कर्मचारीलाई तलब खुवाउने र दैनिक खर्च चलाउने बाहेक सरकारलाई प्रतिफल दिन नसक्ने अवस्थामा पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *