राजनीतिक दलका चुनावी घोषणा–पत्र काजगमै समीति

राजनीति समाचार

प्रतिपक्ष दल नेकपा एमाले भूमिका बिहीन
काठमाडौं । नेपालमा जब निर्वाचन आउँछ, अनि केन्द्रीय तहदेखि प्रदेशहुँदै स्थानीय तहसम्म राजनीतिक दलहरु मिठामिठा शब्दयुक्त घोषणापत्र लिएर पुग्छन् । ती घोषणापत्रमा विकास निर्माणदेखि जनजीविकाका सवालमा राम्रा–राम्रा योजनाको शब्दगुथ्था बुनिएको हुन्छ । राजनीतिक दलहरुले घोषणापत्रमा ल्याएका योजनामा सर्वसाधारण जनता लोभिएर आफ्ना छरछिमेकी र घरपरिवारसम्मलाई समेत फलानो पार्टीलाई र फलानो नेतालाई भोट दिनुपर्छ भनेर उर्दी जारी गर्छन् ।

त्यसको आधारमा विभिन्न राजनीतिक दलका नेताहरुले चुनाव पनि जित्ने गर्दछन् । तर, निर्वाचन जितेपछि ती सांसदहरु अर्को निर्वाचन नआउन्जेलसम्म गाउँ फर्केर जाँदैनन् । खाली केन्द्रमा बस्ने, आफ्ना पार्टीका शीर्ष नेताहरुको घरमा धाउने, मन्त्रालयदेखि प्रदेश हुँदै स्थानीय तहसम्मको बजेटमा खेलवाड गरी आफ्ना आसेपासेलाई ठेक्का मिलाउने त्यसबाट आफू कमिसन लिने काममा मात्रै सीमित हुने गरेका छन् । राजनीतिक दलका शीर्ष नेताहरु पनि आ–आफ्ना पार्टीका सांसदहरुका कुरा सुनेर मख्ख पर्ने गर्दछन् । तर, देश र जनताको काममा भने माखो मार्ने गरेका छैनन् । राजनीतिक दलहरुले निर्वाचन लड्दा गठबन्धनको सरण लिनुपर्ने भएको छ ।

आफ्नो पार्टीको भरले मात्रै निर्वाचन जित्न नसक्ने भएपछि गठबन्धन गरेर चुनाव लड्ने र त्यसबाट जितेर आएपछि पार्टीको भागशन्तिमा सरकार बनाउने गरेका छन् । त्यसैको आधारमा मन्त्रालय बाँडफाड गरेर मन्त्री बन्ने गर्दछन् । दलको भागबाट मन्त्री बनेकाहरुले देश र जनताको काममा कुनै पनि माखो मार्न सकेका छैनन् । उता, प्रतिपक्ष दल नेकपा एमाले भने २०८४ को निर्वाचनलाई लक्षित गरेर ‘संकल्प यात्रा’ भन्दै देश दौडाहामा निस्किएको छ । प्रतिपक्ष दलले गर्नुपर्ने विकास निर्णदेखि जनताको कामहरुप्रति ध्यान दिएको छैन । महंगीले जनताको ढाड सेकेको छ । भूकम्प पीडितहरु चिसोका कारण दिनप्रतिदिन ज्यान गुमाउन वाध्य भएका छन् । कर्मचारीहरु भ्रष्टाचारमा लिप्छन् । माफिया र तस्करहरुले सुन र गाँजा तस्करी गरिराखेका छन् ।

प्रहरी प्रशासन तिनै माफियाहरुसँग मिलेमतो गरेर कमिसनमा लिप्त भइराखेका छन् । व्यापारीहरुले बजारमा सामान सटेज गराउनेदेखि आफूखुसी मूल्य निर्धारण गरेर कालाबजारी गरिराखेका छन् । विचौलियाहरुले गुणस्तरीहिन सामान बजारमा ल्याएर ठगी गरिराखेका छन् । मानव तस्करहरु भिजिट भिसामा युवायुवतीलाई विदेश पठाउन सफल भइराखेका छन् । व्यापारिक घरानाहरुले कर छली गरिराखेका छन् । न्यायालयभित्र विकृति र विसंगती झाँगिएको छ । राज्यका सबै निकायमा अन्याय, अत्याचार, भ्रष्टाचार, विकृति, विसंगति फैलिएको छ ।

प्रतिपक्षी दल नेकपा एमाले भने देशमा भएको विकृति, विसंगतीविरुद्ध आवाज बुलन्द गर्नुपर्नेमा त्यो नगरी ४ वर्षपछि आउने निर्वाचनलाई लक्षित गरेर ‘संकल्प यात्रा’ को बेमौसमी बाजा बजाउँदै देश दौडाहामा हिँडेर रमाइलो गरिरहेको छ । राजनीतिक दलहरुले चुनावका बेला घोषणापत्र जारी गरेजस्तै नेकपा एमालेको ‘संकल्प यात्रा’को देश दौडाहाले कुनै माखो मार्नेवाला छैन । जनताको चाहना र आवश्यकता एकातिर थाती राखेर एमालेको संकल्प यात्राले जनताको मन जित्नेवाला छैन । गठबन्धन सरकारमा सामेल भएका दलहरुको त कुरै नगरौं । उनीहरु त देश र जनताको कामभन्दा पनि आफ्नो दुनो सोझ्याउनमै व्यस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *