आयल निगममा थानीको राजीनामासँगै निमित्त निर्देशकमा शाह

राजनीति समाचार

काठमाडौं । कुनै बेला घाटामा गएको नेपाल आयल निगम नाफामा आएपछि जनताले केही राहत महसुस हुने आशा गरेका छन् । आयाल निगमलाई नाफामा ल्याउन तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राम्रै प्रयास गरेका थिए । खड्काले भारतले नाकाबन्दी लगाउँदा पनि चीनबाट इन्धन ल्याएर नेपाली जनतालाई थोरै भएपनि राहत दिने काम गरेका थिए । विस्तारै भारतले नाकाबन्दी खोलेपछि इन्धनको सहजीकरण गरी अर्बौं रुपैयाँ घाटामा गएको निगमलाई उनले चलायमान बनाएका थिए ।

खड्काले निगमको नाममा विभिन्न ठाउँमा जग्गा पनि जोडेका थिए । निगमको नाममा जग्गा खरिद गरेबापत माफियाहरुको मिलोमतोमा खड्कालाई भ्रष्टाचारको मुद्दा लगाएर हटाइएको थियो । खड्कालाई हटाइए तापनि उनले गरेको कामले अहिलेसम्म आयल निगमभित्र चर्चा पाइरहेको छ । खड्कालाई हटाइएपछि सरकारले विज्ञापनमार्फत प्रतिस्पर्धाको आधारमा सुरेन्द्रकुमार पौडेललाई निगमको कार्यकारी निर्देशक बनाएको थियो । पौडेल कार्यकारी निर्देशक बनेपछि अमलेखगन्जमा पेट्रोलियम पाइपलाइन विस्तार गरी निगमलाई सन्तुलित रुपमा विस्तार गरेका थिए ।

उनको कार्यकाल सकिएपछि तत्कालीन सरकारले आयल निगमको कार्यकारी निर्देशकको लागि विज्ञापन आह्वान गरेको थियो । विज्ञापनको आधारमा प्रतिस्पर्धा गरेर उमेश थानी कार्यकारी निर्देशक बनेका थिए । थानीले निर्देशक बनेपछि घाटामा गएको आयल निगमलाई चलायनमा बनाएका थिए । उनले राम्रो काम गरेर आयल निगमलाई फाइदामा ल्याएपछि सरकारले उनलाई जस दिएन । घाटामा गएको निगमलाई नाफामा ल्याएर राम्रो काम गर्दा पनि सरकारले जस नदिएपछि थानीले डेढ वर्षको अवधि नपुग्दै केही हप्ता अगाडि राजीनामा दिएका छन् । अहिले आयल निगमको कार्यकारी निर्देशकको पद खाली रहेको छ ।

सरकारले निगमको कार्यकारी निर्देशकको लागि विज्ञापन आह्वान पनि गरेको छैन । थानीले राजीनामा दिनुको कारण आयल निगममा हुने टेण्डरको अर्बौैंको ठेक्कामा कुरा नमिल्नु नै हो भनिन्छ । त्यस्तै थानीले निगमभित्र हुने विकृति, विसंगती र भ्रष्टाचारलाई पनि नियन्त्रण गरेको बताइन्छ । अर्कोतिर इन्धन र ग्याँस माफियालाई पनि नियन्त्रणमा राखेका थिए । थानीले गरेको कामले इन्धन माफिया, ग्याँस माफिया र विचौलियालाई असहज भएपछि उनलाई हटाउन विभिन्न शक्तिकेन्द्र लागेको आँकलन गरिन्छ ।

घाटामा गएको निगमलाई नाफामा ल्याएर चलायमान बनाउने थानीले राजीनामा दिएपछि सरकारले कस्तो कार्यकारी निर्देशक बनाउने हो त्यो एकिन छैन । थानीको राजीनामाले कार्यकारी निर्देशक पद खाली भएपछि सरकारले आयल निगमभित्रका अनुभवी कर्मचारी नागेन्द्र शाहलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ । नागेन्द्र शाह आयल निगमभित्र दक्ष र इमानदार कर्मचारीमा गनिन्छन् । निगममा लामो समयसम्म काम गरेको अनुभव शाहसँग छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *