खम्बहादुर र कोइरालाको करामतले खाँड जेलमुक्त

राजनीति समाचार

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजना बनाएको आरोप लागेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापा र इन्द्रजित राइका छोरा निरज राईसहित ११ जना अझैसम्म फरार रहेका छन् । अन्य पक्राउ परेका नेता तथा गिरोहहरुलाई पनि धमाधम छुटाउने क्रम जारी छ । भुटानी शरणार्थी काण्डमा मुछिएका तत्कालीन गृहमन्त्री बालकृष्ण खाँड र एमाले नेता टोपबहादुर रायमाझीलगायत थुप्रैलाई पक्राउ गरेर सरकारी वकिलको कार्यालयले पूर्पक्षको लागि थुनामा पठाएको थियो । तर, उच्च अदालत पाटनका न्यायाधीश द्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले गत मंसिर १५ गते ९ जनालाई थुनामा पठाएको थियो भने ४ जनालाई साधारण तारेखमा छाडेको थियो ।

त्यसमध्ये तत्कालीन गृहमन्त्री बालकृष्ण खाँडको मुद्दा चाहीं बाझिएको भनेर थाती राखिएको थियो । तर, त्यो भने बालकृष्ण खाँडलाई छुटाउनको लागि रचिएको प्रपञ्च थियो । खाँडलाई छुटाउनको लागि विगत लामो समयदेखि भित्री रुपमा कांग्रेस सभापति शेरबहादुर देउवा र तत्कालीन महान्यायाधीवक्ता खम्बबहादुर खातीको जोड बल रहेको थियो । त्यस्तै अर्का न्यायाधीश कृष्णराम कोइरालाकोसमेत खाँडलाई छुटाउन विगत लामो समयदेखि प्रयास भइरहेको थियो । उनीहरुको त्यो प्रयासले बालकृष्ण खाँड छुट्न सफल भएका छन् । यो सफलताले भविष्यमा खम्बबहादुर खाती सकभर कानुनमन्त्री नभएपनि राज्यमन्त्रीसमेत बन्ने सम्भावना बढेर गएको छ ।

नेपालको कानुन ‘सानालाई ऐन, ठूलालाई चैन’ भनेको यही रहेछ । बालकृष्ण खाँड छुटेसँगै ज्यान मुद्दा खेपिरहेका एमालेका निलम्वित सांसद लक्ष्मी कोइरीले पनि सफाइ पाएका छन् । उता, भुटानी शरणार्थी काण्डमा मुछिएका फरार ११ जना व्यक्तिहरुलाई पनि अहिलेसम्म नेपाल प्रहरीले प्रक्राउ नगर्नु ‘तँ रोए जस्तो गर, म कुटे जस्तो गर्छु’ भने जस्तै हो । नेपालमा कहिले सुन काण्ड, कहिले बालुवाटार जग्गा काण्ड, कहिले यति, ओम्नी काण्ड, कहिले निर्मला बलात्कार हत्या काण्ड, कहिले महरा–रोसनी काण्ड, कहिले भुटानी शरणार्थी काण्ड मच्चिँदै आएको छ । माथि उल्लेखित काण्डमा मुछिने व्यक्तिहरुले विस्तारै सफाइ पाउँदै आएका छन् ।

अहिले एनसेल खरिद विक्री नयाँ काण्ड मच्चिएको छ । यो काण्डमा पनि राजनीतिक दलका शीर्ष नेतादेखि उच्च पदस्थ कर्मचारी र सम्बन्धित निकायका व्यक्तिहरु संलग्न रहेको आशंका छ । त्यसमा पनि भोलिका दिनमा नक्कली भुटानी शरणार्थी काण्ड जस्तै गरी छानविन समितिले झिसमिस नगर्ला भन्न सकिँदैन । नेपालमा हुने गरेका अधिकांश भ्रष्टाचार, नियमितता र विकृति, विसंगतीमा संलग्न व्यक्तिलाई छानविन गरेर कारबाहीको दायरामा ल्याउनुपर्नेमा उल्टै राजनीतिक आडमा विभिन्न समिति र आयोग बनाएर ढाकछोप गरी दोषी उम्काउने काम पहिलादेखि हुँदै आएको छ । जिम्मेवार पदमा आसिन व्यक्तिहरु नै भ्रष्टाचार, विकृति, विसंगतीमा संलग्न व्यक्तिलाई ढाकछोप गर्न उद्दत भएपछि देश दिनप्रतिदिन अधोगतितिर धकेलिने निश्चित छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *