बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठन ‘नेपाल बचत तथा ऋण केन्द्रीय सरकारी संघ लिमिटेड (नेफ्स्कून)’ हो । यो छाता संस्थाको ३२ औं साधारण सभा भरखरै सकिएको छ । सातवटै प्रदेशवाट २ हजार भन्दा वढि प्रतिनिधिहरुको जमघट भएको यस सभाबाट आगामी ४ बर्षको लागि नेतृत्व चयन समेत भएको छ । संयोग मान्नु पर्दछ, यस पटक नयाँ सञ्चालक र लेखा सुपरिवेक्षण समिति चयनको सन्दर्भमा २ वटा प्यानल तयार भयो । यस खाल्को घटना सायद नेफ्स्कूनमा पहिलो पटक भएको होला । अहिलेको परिवेशमा पैसा र संगठनमा तागत हुन्छ । सहकारी अभियानमा यी दुवै कुरा भेटिन्छन् । त्यसैले सहकारी अभियान अझै दमदार हुने संभावना देखिन्छ ।
नेफ्स्कूनको स्थापना
मुलुकभर छरिएर रहेका बचत तथा ऋण सहकारी संस्थाको छाता संस्था हो, नेफ्स्कुन । २०४५ साल श्रावण ३२ गतेका दिन बचत समूह राष्ट्रिय संघ तदर्थ समिति भएको रहेछ । सोही दिनलाई आफ्नो स्थापना दिवस मानिरहेको छ । उमेरको हिसाबले यो संस्था परिपक्व देखिन्छ । ३६ बर्षे संस्थागत जीवनमा हालसम्म ३२ वटा साधारण सभा सम्पन्न गरिसकेको छ । सहकारी ऐन २०४८ ले सहकारी अभियान वैधानिकता दियो । अहिले सहकारी ऐन २०७४ तथा नियमावली २०७५ तयार भई कार्यान्वयनमा आइरहेको छ । मुलुक भर ३० हजारको हाराहारीमा सहकारीहरु दर्ता भएका होलान् ती मध्ये धेरै सहकारीहरु बचत तथा ऋण नैं छन् ।
बचत तथा ऋण सहकारी संस्थालाई छोटकरीमा ‘साकोस’ भन्ने चलन छ । यस संघले संस्थापक देखि हालसम्म ७ जना अध्यक्ष पाईसकेको छ । संस्थापक अध्यक्ष भोजराज घिमिरे अनी क्रमसः कैलाशभक्त प्रधाना¬ङ्ग, मिनराज कंडेल, ऋषिराज घिमिरे, डिवी बस्नेत, परितोष पौडेलले अध्यक्षको भूमिका निर्वाह गरिसक्नु भएको छ । यस सभाबाट चन्द्र ढकालले जिम्मेवारी पाउनु भएको छ ।
३२ औं साधारण सभा
यस्ता संघसंस्थाको हरेक वर्ष साधारण सभा हुने गर्दछ । जुन बेला नयाँ समिति चयन गर्ने हुन्छ त्यसबेलामा चुनावी सभा पनि भन्ने गरेको सुनिन्छ । साधारण सभा र निर्वाचन समेत प्रयोजनकालागि मंसीर ३० गते भित्र हरेक बचत तथा ऋण सहकारी संस्था (साकोस)लाई एक जना प्रतिनिधि छनौट गरी फोटो सहितको फारम उपलव्ध गराउनु भन्ने परिपत्र थियो । सोही अनुसार ग्रिन डेभेलप्मेन्ट बचत तथा ऋण सहकारी संस्थाबाट म प्रतिनिधि छनौट भएको थिएँ ।
२०८० पौष ७ र ८ लाई साधारण सभाको मिति निर्धारण भएको थियो । विहान ९ बजे तिर दोलखाका हाम्रो जनकल्याण साकोसका अध्यक्ष एवं प्रतिनिधि राजन श्रेष्ठ र म सभा सञ्चालन हुने स्थानमा पुग्यौं । खाजा खाँदै आपसमा कुरा गर्दै चिनजानका साथीहरुसँग गफ गर्दै अरुका कुरा पनि सुन्दै थियौं । तत्कालिन अध्यक्ष परितोष पौडेलसँग खाजा खाने समयमा भेट भयो । कुुराकानीको क्रममा साढे नौ बजेबाट औपचारिक रुपमा कार्यक्रम सञ्चालन हुने जानकारी दिनु भयो । हामी साथीभाई विच भेटघाट गरी टहलिरहेका थियौं । राष्ट्रिय प्रज्ञा प्रष्ठिानको भवनबाट सहकारीको तालुक सङ्घीय मन्त्रालयका मन्त्री १० वज्न केही मिनेट बाँकी हुँदा बाहिर निस्कनु भयो । सायद कार्यक्रम अलि ढिला हुने जानकारी पाउनु भएछ क्यार अनी फेरी आउने गरी जानु भयो होला भन्ने लागेको थियो । तर उद्घाटन सत्रमा मन्त्रीलाई देख्न पाइएन ।
उद्घाटन सत्रमा धेरै लामो नभए पनि जाँगर लगाउने खाल्को थिएन । हलको क्षमताले छनौट भएका प्रतिनिधि अटाउने कुरा पनि भएन । अन्य साधारण सभामा धेरै आउँदेनथ्ये होलान् । यस पटक चुनाव नैं हुन्छ भन्ने हल्ला व्यापक थियो । त्यसैले वाक्लो उपस्थीति थियो । कोचाकोचमा उद्घाटन सत्र चल्यो । निर्वाचनको रौनक चलिरहेको थियो । टिम वनाउने, टिममा अटाउने हटाउने हल्ला चलिरहन्थ्यो । तथापी उद्घाटन सत्र चल्यो । वन्द सत्र सुरु भए । प्रतिवेदनको वाचनको प्रकृया अनी त्यसलाई पारित गर्ने औपचारिकता हुने नैं भए ।
दोस्रो दिन, चुनावको दिन । हामी प्रतिनिधिहरु विच २ वटा समूहको फोटो सहितको रङ्गिन पर्चा आयो ।
परितोष पोड्याल र चन्द्रप्रसाद ढकालको टिम । ५ जना मूख्य पदाधिकारी सहित १९ जनाको सञ्चालक समिति र संयोजक सहित ३ सदस्य लेखा सुपरिवेक्षण समितिको अलग अलग टिम थियो । पूरै प्यानल थियो । राजनीतिक दलको हिसाव गर्ने हो भने प्रतिपक्ष नेकपा एमालेको एक टिम सत्ता गठनवन्धनवाला दलहरुको अर्को टिम चुनावी मैदानमा उत्रिए । केही स्वतन्त्र उम्मेदवारहरु पनि थिए ।
लाज शरम हराइ सक्यो रे
४ घन्टा जती लाईन बसे पछि विद्युतिय मेसिनबाट मत हाल्ने मौका आयो । लामवद्ध भैं मत दिन कुर्दाको कुराकानी रोचक सुनिन्थ्ये । छाता संस्था त हो तर पानी पर्दा छाता भेटिन्न । छाता भेटेर खोली हाले पनि करङ्ग मात्र हु्न्छ । पानी छेक्दैन भन्ने कुरा चले । त्यस्तै लाइनमा बसी रहँदा पालो मिचेर घुस्ने र घुसाउने असाध्यै चल्यो । तपाइ जस्तो प्रतिष्ठीतले पालो मिच्दा सुहाउला त ? भन्ने प्रश्न गरियो । यसो गर्नु राम्रो हैन नी भन्दा यती थेतर भएर बसे । एक जनाले आफ्नो विश्लेषण सुनाए ‘सहकारीका अगुवा यस्ता भएकी शेयर सदस्यले गाली गरेर सवै कुरा पचाउने भैसके, लाज शरम भन्ने हराइ सक्यो’ ।
भोट हाल्ने तरिका
भोट हाल्नु पर्ने २२ जनालाई हुन्थ्यो । उनीहरु सवैलाई चिन्ने कमै प्रतिनिधि हुँदा रहेछन् । कसरी भोट हाल्ने ? प्यानलै हालौ भने पनि स्थानीय निर्वाचनमा सात छाप झ्याप झ्याप गरे जस्तो हुदैनथ्यो । मिसमास हुन्थ्यो । लाइन बसेकै बेलामा अर्को एकजनाले आफ्नो तरिका बताए ‘मान्छे चिनेका जतीलाई हाल्ने, वाँकी आफ्नो थर मिल्नेलाई नछुटाउने अनी अनुहार र नाम मन परेकोलाई हाल्ने’ । अनौपचारिक गफमा ‘नो भोट’ पनि राख्नु पर्ने आवाज पनि उठेको थियो ।
सायद भोट हाल्नकै लागि ६ घण्टा भन्दा समय खर्च गर्नु परेको थियो । व्यवस्थापकीय ध्यान नपु¥याउँदा कठिनाइ भैरहेको देखिन्थ्यो । नाम भिडाउने क्रममा एकले अर्कोको नाममा सहि गरेर हिडेको समेत भेटियो । राती अबेरसम्म भोट हाल्ने काम चलिरह्यो । मध्यरातमा चुनावी नतिजा सार्वजनिक भयो । प्यानलै जित र हार भएनछ । पौडेल समूहको अधिकांश विजय भए तर अध्यक्ष र कोषाध्यक्ष ढकाल समूहकाले जितेछन् । स्वतन्त्र उठ्नेको जित हुने संभावना यो निर्वाचनले टारिदिएछ । २ हजार २ सय ४९ मत खसेछ । अध्यक्ष चन्द्र प्रसाद ढकाल, बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, उपाध्यक्ष शान्ती अधिकारी, महासचिव घनश्याम अधिकारी र कोषाध्यक्ष दिपक थापा र १४ जना सञ्चालक चयन भए । त्यसै गरी इन्द्रराज ज्योती पौडेलको संयोजक ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित भएको पाइयो । यस पटक नेतृत्व चयनको सन्दर्भमा निर्विरोध वा सहमती भन्ने शव्दावली सुन्न पाइएन । सहकारीका शेयर सदस्य अनुसारको समावेशी अवस्था पनि देखिएन । यसका बारेमा अलग्गै विश्लेषण लेख्नेछु ।
सुधारकालागि सुझाव
यो संघमा प्यानलै बनाएर निर्वाचनमा भिड्ने चलन अब चलिगयो । अवको निर्वाचनमा यती धेरै प्रतिनिधिहरुलाई एकै ठाउँमा भेला गर्ने पद्धती फेर्नु पर्ने देखिन्छ । नीति तथा कार्यक्रममा चासो नहुने चुनावमा मात्र केन्द्रीत हुन थाल्यो । त्यसैले नीति सभा र निर्वाचन पद्धतीलाई अलग अलग वनाउनु सान्दर्भिक हुन्छ । नीति साधारण सभामा जिल्लागत रुपमा प्रतिनिधिहरु चयन गरी प्रतिनिधिमूलक गराउने अनी निर्वाचनमा चाँही हरेक जिल्लामा गराउने प्रकृया थाल्दा राम्रो हुनसक्नेछ । हरेक जिल्लामा नसकिए प्रदेश स्तरमा गर्दा पनि हुने थियो । यती धेरै प्रतिनिधि काठमाडौंमा भेला गराएर गर्ने काम भनेको त्यही भोट हाल्ने जस्तो मात्र देखियो । अहिलेको यो प्रकृया सङ्घीयताको मर्म पनि होइन । मूलुकभरबाट आएका प्रतिनिधिहरुको खर्चको भार सहकारी अभियानमा पर्ने नैं भयो । यसको मतलब शेयर सदस्यहरुको रकमबाट खर्च हुने त हो ।
जालो अझै ठुलो पार्नु आवश्यक छ । १३ हजार भन्दा वढि साकोस होलान् । त्यस मध्ये ४ हजार ६ सय ६० नेफ्स्कुनमा आवद्ध भएका रहेछन् । २ हजार ६ सय ४८ बटा साकोस नविकरण भएछन् । मतदान २ हजार २ सय ४९ ले गरेछन् । किन यस्तो भयो ? गम्भीर समिक्षा गर्न जरुरी छ । यस सभामा आएका कतिपय प्रतिनिधिहरुले यस संघको सदस्यता त्याग्ने निर्णय गर्नु प¥यो भनेको पनि सुनियो । सदस्य हुँदा र नहुँदाको भिन्नता के हुन्छ भन्ने कुरा महशुस हुने काम भएको रहेनछ भनेर वुझ्न सकिन्छ । जालो साँगुरो भएर नैं होला सरकारी निकायले नटेरेको हो की ? सञ्जाल फराकिलो हुन जरुरी छ । छाता खोज्दै ओत लगाउन आउने वनाउनु पर्दछ । साकोसहरु संघ खोज्दै आउने वातावरण तयार गर्न सक्नु पर्दछ । अहिलको युगमा तागत वा शक्ति दुई कुरामा देखिन्छ । एक पैसामा दोस्रो संगठनमा । यी दुवै कुरा सहकारी अभियानमा छ । यसको सदुपयोग गर्न सक्नु पर्दछ नेफ्स्कुनले ।
अरुले गर्न नसक्ने तर नेफ्स्कुनले मात्र गर्न सक्ने काममा वढि ध्यान दिनु पर्दछ । अरुले पनि गर्न सक्ने कामलाई सहायक मात्र वनाउनु पर्दछ । नेफ्स्कुनले पैरवीमुखी काम गर्नु पर्दछ । त्यो अरुले गर्न सक्दैन । पैसाको व्यापार त अरुले पनि गर्दछन् । त्यसैले यसलाई सहायकमा राख्नु पर्दछ । साकोस अभियानलाई उत्पादनमुखी उद्यमशिलतामा लैजानमा क्षमता विकासमा काम गर्नु पर्दछ । धेरै साकोसहरु वैंक जस्ता देखिएका छन् । सहभागीतामूलक हुन सकेका छैनन् । सहकार्यको मर्म भाग्दैछ । सहकारीका साधारण सभाहरु कर्मकाण्डी मात्रै भैरहेका छन् । सहकारीको मर्म अनुसार नचलेका र चल्न नसक्ने साकोसलाई कारवाहीको वातावरण तयार गर्न संघ डराउनु हुँदैन । एक कुहिएको आलुले बोराभर नोक्सानी पू¥याउनु हुन्न । सकेसम्म कुहिएकोलाई उपचार गर्ने तर नसक्ने नैं अवस्था छ भने त्यसलाई फाल्नु पर्ने पनि हुनसक्छ ।
सहकारी ऐनमा लेखिएका साकोस अभियानलाई हित हुने विषयहरु कार्यान्वयनमा आएका छैनन् । खास गरी करको सन्दर्भमा ऐनमा भएको व्यवस्था र व्यवहारमा फरक भैरहेको छ । त्यसमा छाता संस्थाले भूमिका खेल्नु पर्दछ । प्रतिनिधिहरुले भने झै छाता खोल्दा करङ्ग मात्र देखिने पानी नछेक्ने हुनु भएन । अनी छाता सधैं चाहिने पनि हैन । चुनौतीको बेलामा चाहिने हो । छाता साथमा छ भने आत्मबल वढ्छ । काममा जोश जाँगर थपिन्छ । सहकारी अभियानसँग सम्वन्धीत असल कानून छ भने कार्यान्वयन गर्ने गराउने, बनेको छैन भने वनाउन पहल गर्ने, उपयोगी छैनन् भने संशोधन गर्ने भूमिका नेफ्स्कुनले खेल्नु पर्दछ ।
अर्थात ‘कानून राम्रो भए कार्यान्वयन गर, छैन भने वनाउ, राम्रो छैन भनेन सच्याउ‘ भन्नु पर्दछ । यसमा नेतृत्व पनि गर्नु पर्दछ । तब सहकारी अभियान तपाइको साथमा रहनेछ । करङ्ग मात्र भएको छातामा कोही पनि ओत लाग्न आउँदैनन् । ‘सवल र दिगो वित्तिय सहकारीको साझा सञ्जाल’ बन्न सकोस । नेफ्स्कूनको नयाँ टिमलाई शुभकामना ।